ताजा अपडेट »

'उहिले भात खान दशैं कुर्नु पर्दथ्यो'

आइतबार, १६ असोज २०७९

गुल्मी । ‘हामी सानै छँदा त धान चामलको निकै अभाव हुन्थ्यो । दशैं आयो भनेपछि मासु भात खान पाईने भइयो भनेर हामी केटा केटी खुबै रमाउँथ्यौं’ गुल्मीदरबार गाउँपालिका-४ बिरवासका ७२ वर्षीय बृद्ध टोपबहादुर सिंजाली मगर भन्छन्-‘त्यो ताकासम्म हामी अधिकांस गरिब मान्छेहरुले भात खान दशैं कुर्नु पर्ने अवस्था थियो ।’

उनी भारतीय सेनाका पेन्सनर हुन । उनि लाहुरे छँदा दशैंमा घर आउँदा तत्कालिन बटौली र खसौली बजारबाट नुन, तेल चामल लगायतको दशैका सर-समान बोकेर तीन दिनमा घर आएको र त्यसपछि परिवारमा दशैंको रौनक छाउने गरेको स्मरण सुनाउँछन् । ‘आजकल बरु हामी अलि धनी मान्छेले आटो, ढिडो खान्छौं, गरिवले त सधै भात नै खाएको देखिन्छ’-उनले भने, ‘उति बेलाको दशैंको महत्व भात र मासुको थियो ।’ दशैं आउन थालेपछि बाबु-आमाहरुले कसरी खर्च जुटाउने होला भनेर चिन्ता ब्यक्त गर्ने गरेको स्मरण गर्दै सिंजालीले भने-‘यी अहिले म घरका १२ जना छोरा–छोरी नाती-नातिनाहरुको दशैं खर्च लिन तम्घास आएको छु ।’

उनी सहित थुप्रै भारतीय भुपु सैनिकहरु तम्घासको बैंकमा पेन्सन रकम बुझ्न आएका थिए । लाईनमा बसेकाहरु मध्ये चार/पाँच जना एकल महिलाहरु पनि देखिन्थे । हामीले दशैंका बारे प्रतिकृया माग्दा उनिहरु भन्दै थिए भैगो के भोगियो, के भोगिएन, किन सुनाउनु ? भन्दै बोल्न रुचाएनन । कोही बालाबैशमै लडाईमा श्रीमान गुमाएका त कोही पेन्सन निक्लेपछि एकल बनेका ती महिलाहरुको अनुहारमा दशैंको खुशीभन्दा चिन्ता प्रकट हुन्थ्यो । उनिहरु गालामा हात लगाएर सोचमग्न देखिन्थे । फरासिला ‘सिंजाली मगर’ले बोल्नुस-बोल्नुस भनेर कर लगाउँदै भने हाम्रा पालामा त गाउँका थुप्रै बाटाहरु खन्थ्यौं, कोट मन्दिर लिप्न जान्थ्यौं । आजकल त खासै देखिदैन ।

मदाने गाउँपालिका-७ भनभने टिमुरखर्कका ६२ वर्षीय पेन्सनर फर्शबहादुर ओली दशैं खर्च जुटाउन घरमा फलेका सुन्तलाहरु बेच्न हिड्ने गरेको बिगत सुनाउछन् । ‘ए बाबै उति बेला त धान, चामल र पैसाको साह्रै अभाव हुन्थ्यो । हामीहरु सुन्तला डोकोमा बोकेर हाडहाडे, अर्घाखाँची हुँदै कृष्णनगरसम्म पुगेर सुन्तला बेचेको पैसाले दशै खर्च किनेर फर्किन्थ्यौं, ठ्याक्कै १३ दिन लाग्थ्यो घर फर्किदा ।’-गाला सुमसुम्याउँदै उनले विगत सुनाए । ‘बाटैमा खान पकाएर खान्थ्यौं । घर आउँदा केटा-केटीहरु साह्रै खुशी हुन्थे । घरमा धान नफलाउनेहरुले कोदो र मकै ल्याएर साट्न आउँथे । अहिले पो मासु र भातको मतलव छैन, उति बेला त दशैं भनेकै मासु भात ठानिन्थ्यो ।’

सउदी अरबबाट दुई वर्षपछि हालै दशैं मान्न घर आएका इस्मा गाउँपालिका-४ दोहलीका ३७ वर्षीय यमबहादुर घर्तिको बाल्यकालसम्म त्यस अघिका बुढापाकाहरुकै पालाको जस्तो धान चामलको अभाव हुने गरेको स्मरण गरे । ‘पहिला पहिला दशैंमा पैसा र धान चामल जुटाउन निकै मुस्कील हुन्थ्यो, घर्तिले भने-‘हामी केटा केटी छँदा दशैं आयो कि मासु भात सम्झीन्थ्यौं ।’ मालिका गाउँपालिका-८ भरभुङ्ग दवाँघास पुर्ख्यौली घर भएका ६२ वर्षीय धनबहादुर सुनार आजकल सिमलटारी बजारमा प्रेसर कुकुर लगायतका भाँडाकुटा मर्मत गर्ने पसल थापेर बस्ने गरेका छन् । उनले आफू सहितका दलित समुदायमा उति बेलाको दशैं खर्च अभाव र रक्सीले दिने रौनक स्मरण गर्दै भन्छन्-‘धान चामलको अभाव भए पनि जाँड रक्सी फालाफाल हुन्थ्यो । रातभरी पँधेरामै बसेर रक्सी पारिन्थ्यो । टिल परेर दशैंको मजा लिईन्थ्यो ।’

उनले पाहुना आउँदा पकाउने चामल नहुने र अगेनोमा भाँडो बसाल्दै पाहुनाको आँखा छलेर छिमेकमा एैचोपैचो गर्न जाने गरेको विगत सुनाए । ‘दशैंमा त झन चामलको साहै्र अभाव हुन्थ्यो’-उनले भने, ‘अहिले त खाए पनि भात नखाए पनि भातले मिछ्याउन थालेको छ ।’