ताजा अपडेट »

पर्यटकलाई नेपाल भित्रन सास्ती, एकद्वार प्रणाली आवश्यक

शनिबार, ०८ असोज २०७९

भैरहवा । भारत गोरखपुर घर भएका वाइपी चौहान नेपाल भ्रमणका लागि बेलहिया नाका हुँदै भित्रिए । नेपाल भित्रिएका उनले यो भ्रमण आफ्नो जीवनकै सबै भन्दाबढी कष्टपूर्ण भएको प्रतिक्रिया दिए । सीमामा घण्टौं लाइन, सवारीको भन्सार पास गराउन उस्तै सकस, टैक्सी चालकहरुको उस्तै दादागिरी, ठाउँ ठाउँमा प्रहरी चेकजाँचको हैरानीले उनि अब उपरान्त नेपाल नै नआउने बताए ।

चौहानको मात्रै हैन भारत सिद्धार्थनगरका सिंघेश ठाकुरको पनि उस्तै गुनासो छ । ‘हामी गाडीको भन्सार बनाउन जाँदा घण्टौं समय लाग्ने गरेको छ । दलालमार्फत गए उत्तखेर नै हुन्छ ।’ सिंघेशले भने ‘नेपाल छिरेपछि पनि ठाउँ ठाउमा प्रहरीले दुःख दिने काम गर्दछ ।’

सीमामा देखिएको यो समस्या चौहान र ठाकुरको मात्र नभई नेपालमा यात्राका लागि आउने अधिकांश पर्यटकहरुको भोगाई हो । नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकहरु नेपालबाट नराम्रो अनुभव लिएर फर्किने गरेका छन् । यहाँबाट फर्केकाहरु आफ्ना आफन्त एवम् साथीभाईलाई पनि नेपाल भ्रमण नगर्न सुझाउने गरेका छन । यसको विकल्पमा भारतकै उत्तराखण्ड, सिक्किम लगायतका क्षेत्रमा भ्रमण गर्ने भारतीयहरुको संख्या बढ्दै गइरहेको छ ।

नेपालमा पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको र यहाको आतिथ्यता पनि राम्रो भए पनि सीमामा भोग्ने सास्तीका कारण भारतीयहरु नेपाल आउन चाहदैनन् । भारत गोरखपुरका पत्रकार रशद लारी यो सबै समस्याहरुको निराकरण नगरे सम्म भारतीय पर्यटकलाई सहज नहुने बताउछन् । ‘नेपालमा बलिउड फिल्म ईण्डष्ट्रिजको आकर्षण पनि बढेको छ, भारतीय प्रधानमन्त्री लगायत उच्च राजनैतिक ब्यक्तिहरुको भ्रमणले यहा भारतीय पर्यटकको रुचि बढेको छ । ‘उनले भने “यसलाई नेपालले प्रयोग गर्न जान्नु पर्छ ।’

उनले यो सबै समस्याहरुको निराकरण गर्न सीमामा एकद्वार प्रणाली लागु गर्न पनि सुझाव दिए । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा भैरहवामा नेपाल र भारतका पत्रकारहरुका लागि आयोजना भएको पत्रकार सम्मेलनमा भारतीय पत्रकाहरुले सीमामा एकद्वार प्रणाली लागू गर्न सुझाएका छन् ।

सीमामा भारतीय गाडीहरुको सुविधा, भन्सार, अन्य चेकजाँच लगायतको काम एकै स्थानमा गर्न र त्यसपछि निर्वाध रुपमा नेपाल भ्रमणको ब्यवस्था मिलाउन उनिहरुको माग छ ।

भारतीय पत्रकार आलोक जोशीले नेपाली प्रहरीले कमिशनको लोभमा भारतीयहरुको गाडी र रकम सीज गर्ने गरेको बताए । ‘नेपालमा २५ हजार भन्दा बढी लैजान पाईदैन, अझ ५ सय भन्दा माथिका नोट पनि प्रतिबन्धित छन्’ जोशीले भने ‘यस्तो अवश्थामा कसरी पर्यटनको विकास हुन्छ ? कि नेपाल सरकारले भारतीयलाई २५ हजार भन्दा बढी खर्च गर्नै पाउँदैनौ भन्न खोजेको हो ?’ उनले यी सबैको सुधारको लागि नितिगत तहमै सुधार गरि यसको कार्यान्वयन सीमामा हुनुपर्ने बताए ।

सीमा क्षेत्रमा रहेको कारण भैरहवा तथा यस आसपासमा पर्यटनको मूख्य श्रोत भनेकै भारतीय पर्यटक रहेको सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको भनाई छ । उनले सीमामा भारतीय पर्यटकलाई गरिने ब्यवहारका कारण यस क्षेत्रको ब्यवसाय प्रभावित हुन थालेको गुनासो गरे । कोभिडपछि बल्ल उकासिन थालेको यहाको पर्यटन ब्यवसायलाई प्रभावित पार्ने गरि कुनै काम नगरिदिन उनले सरोकारवालामा अपिल समेत गरे ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जकि अहमद अंसारीले अहिले मन्त्रालय बिभिन्न पर्यटन सम्बन्धि गतिविधि बढाउने गरि काम गरि रहेको दावी गरे । भारतीय पर्यटकहरुलाई लक्षित गरि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेको पर्यटकिय स्थलहरुको प्रवद्र्धन गरिएको उनको भनाई छ ।

भारतीय पर्यटकहरुले सीमामा पाएको सास्ती बारे आफुले माथिल्लो निकायमा जानकारी गराई यसको पहलको प्रयास गर्ने उनले प्रतिवद्धता जनाए । ‘कतिपय समस्याहरु अन्र्तदेशिय सीमाको कारण आउने गरेको छ ।’ उनले भने ‘सीमामा पर्यटकको सहजताको लागि मन्त्रालयले चाडै नै ब्यवस्था मिलाउदै छ ।’

भारतीय पर्यटकलाई आकर्षित गर्न छुटैछुट
भैरहवा तथा यस आसपासका होटल ब्यवसायीहरुले पर्यटक लक्षित बिभिन्न छुटहरुको घोषणा गरेका छन् । बिशेष गरि भारतीय पर्यटकलाई रिझाउन र आन्तरिक पर्यटकहरुलाई भ्रमणका लागि उत्प्रेरित गर्न यहाका तारे होटलहरुका बिभिन्न छुटहरुको घोषणा गरिएको छ ।

विश्व पर्यटन दिवस, दशैं एवम तिहार लक्षित बिभिन्न योजनाहरु सार्वजनिक गरिएका छन् । सिद्धार्थनगर होटल संघले विश्व पर्यटन दिवसका दिन बिहान ६ बजे भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा आउने पहिलो २ जना पाहुनालाई र भारतबाट बेलहिया नाका हुदै आउने २ जना भारतीय तथा २ जना अन्य पर्यटक गरि ६ जनालाई सम्मान गर्ने भएको छ ।

संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले यी ६ जना पर्यटकलाई स्वागत गरि उहाहरु जाने गन्तब्य सम्मको टिकट, खाना एवम होटलको सम्पूर्ण खर्च विश्व पर्यटन दिवस आयोजक समितिले ब्यहोर्ने जानकारी दिए ।

यस संगै विश्व पर्यटन दिवसकै दिन देखी संघले भैरहवा तथा यस आसपासका सम्पूर्ण होटलहरुमा नेपाली तथा भारतीय पर्यटकलाई २० प्रतिशत छुटको घोषणा गरेको छ । होटलमा उपलब्ध कोठा, खानामा यो छुट प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । भारतीय पर्यटकको हकमा यो योजना आगामी ६ महिना सम्म यथावत रहने र यो छुटले भारतीय पर्यटकहरुलाई केही हद सम्म राहत पुग्ने उनको धारणा थियो ।

संघले दिएको छुट अतिरिक्त अन्य होटलहरुले पनि थप छुटको घोषणा गरेका छन् । भैरहवाकै बोधी रेड्सन होटलले दशैं तिहार लक्षित बिशेष प्याकेजको घोषणा गरेको छ । ९ हजार ९ सय ९९ रुपैयामा डिलक्स कोठा सहित डिनर र बिहानको नास्ता , गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबाट ल्याउने र पु¥याउने सुविधा र लुम्बिनी भ्रमणको ब्यवस्था पनि होटलले प्रदान गरिरहेको छ ।

भैरहवाकै गौतमबुद्ध एयरपोर्ट होटलले ८ हजार ९ सय ९९ रुपैयामा लक्जरी कोठा सहित मनपरेको बे्रकफास्ट, लुम्बिनी मायादेवी भ्रमणको ब्यवस्था, एयरपोर्ट पिकअप र ड्रपको ब्यवस्था, स्विमिङ पुलको प्रयोग, जिम, सोना लगायतको सुविधा पनि दिने घोषणा गरेको छ ।

भैरहवा, लुम्बिनी, बुटवल र बेलहियामा गरि होटल कसाई, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायत ८९ वटा स्तरिय होटल, ६ वटा मिनि क्यासिनोहरु र १ सय ५० भन्दा बढी अन्य होटलहरु रहेका छन् ।- रासस