मंसिर २५,,
ग्लोबल आवाज
बुटवल । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सफल भएको बताउँदै अब समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । समृद्ध मुलुकका लागि भू–उपयोगी नीति बनाएर अघि बढ्नु पर्ने,औद्योगिक विकास, उर्जाको विकास, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई फोकस गर्नुपर्नेमा सरकारको योजना केन्द्रित भएको उनले उल्लेख गरे ।
बुधबार बुटवलमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्रीले मन्त्री परिषद परिवर्तन गरेको कुरालाई स्वभाविक रुपमा बुझ्न आग्रह गरे । ‘सरकार सञ्चालन र नेतृत्वका लागि पार्टीले विश्वास गरेर जिम्मा दिइसकेपछि पार्टी भित्र परामर्श र आवश्यकता अनुसार भोली जोपनि फेरबदल हुन सक्छ, त्यो उहाँको अधिकार हो ।’ उनले भने । उनले पार्टी एकताको सबै काम यसै महिना सकिने संकेत गरे ।
आगामी मंसिर २७ गते बस्ने सचिवालय बैठकमा एकता प्रक्रियाका बाँकी काम बारे प्रस्तावमा छलफल गरि २९ गते बस्ने स्थायी कमिटीको बैठकले सबै कुरो टुङ्ग्याउने कार्यकर्ता बीच प्रतिवद्धता गरे । नेकपाका अध्यक्षद्वयले पटक–पटक पार्टी एकिकरण टुङ्गिने बताए पनि समयमा एकताको प्रक्रिया टुंग्याउन नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकारे । ‘विरोधीहरुले भन्लान भन्दा पनि हाम्रो कम्जोरी भएकै हो । मिलाउन र मिल्न कठिन हुँदो रहेछ, त्यो व्यवहारिक जीवनमा प्रकट भयो ।’पोखरेलले भने । पार्टीमा पद बाडफाँडलाई मिलाउनुका साथै नीतिगत सुधारको समेत आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया