ताजा अपडेट »

राप्रपा नेपाल रुपन्देहीको कार्यकर्ता भेला, सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय

सोमबार, ०३ असोज २०७९



भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को अगुवा कार्यकर्ता भेला सोमबार भैरहवामा सम्पन्न भएको छ । जिल्ला कार्यकर्ता भेलाले रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

भेलाले हेटौडामा यहि ७ र ८ गते हुन गई रहेको पार्टीको राष्ट्रिय भेला सफल बनाउन रुपन्देहीबाट सम्मानजनक प्रतिनिधित्व गराउने निर्णय गरेको पार्टीका केन्द्रिय सहायक प्रवक्ता प्रदिप शेरचनले जानकारी दिए । यसै गरि जिल्लाको प्रत्येक क्षेत्रमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको उनले बताए । बैठकले रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा क्षेत्रमा प्रदेश सभाका लागि उम्मेदवारी दिने निर्णय समेत गरेको उनले बताए । “सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका छौं ।” शेरचनले भने “यद्दपी पार्टीको केन्द्रिय निति अनुसार गठबन्धनको सम्भावना पनि रहेको छ । यस्तो अवश्थामा केन्द्रिय निति अनुसार अगाडी बढ्नेछौं ।”

शेरचनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको लागि पार्टीका जिल्ला अध्यक्ष अर्जुन थापा (कालु) को उम्मेदवारी हुने निश्चित रहेको बताए । बाँकी समयअनुसार निर्णय गर्दै जाने उनले बताए । राप्रपा नेपालका जिल्ला अध्यक्ष अर्जुन थापा (कालु) ले अहिले पार्टी बिस्तारलाई तिव्रता दिएको बताए । “हिजो सम्म राप्रपामा रहेर काम ग¥यौं, पार्टीलाई बलियो बनायौं ।” कालुले भने “अब राप्रपा नेपाललाई त्यसै गरि अगाडी बढाउनु छ ।”उनले राप्रपा सामान्ती पार्टी भएको समेत आरोप लगाए । “बर्षौ देखि उही ब्यक्ति मात्र उम्मेदवारी दिने, एउटै ब्यक्ति पार्टीमा हावी हुने ?” उनले भने “केही सिमित ब्यक्तिका कारण युवाहरु अवसर गुमाएका छन्, त्यस्ता युवालाई राप्रपा नेपालमा जोडिन अनुरोध छ ।” उनले जिल्ला भेलामै राप्रपाका १७ जना नेता तथा कार्यकर्ता राप्रपा नेपाल प्रवेश गरेको दावी समेत गरे ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष अर्जुन थापा (कालु) को अध्यक्षता सहायक महामन्त्री दिनेश चन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष गणेश पौडेल, वरिष्ठ केन्द्रिय सदस्य गणेश थापा, केन्द्रिय सदस्य गंगाराम कलवार, जंग बहादुर गौतम लगायतको उपस्थिति रहेको थियो ।