ताजा अपडेट »

सीमा पारीको कारोबार रोक्न भैरहवामा ‘दशैँ सस्तो बजार’

सोमबार, ०३ असोज २०७९

भैरहवा । सीमावर्ती बजारमा नेपाली क्रेताको आवागमन रोक्न भैरहवामा दशै सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उध्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा असोज ११ गते देखि १४ गते सम्म बजार सन्चालन हुने भएको हो ।

दशै सस्तो बजार बारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष भीष्म न्यौपानेले नेपालीहरुको चाड पर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यका साथ बजारको आयोजना गरिएको बताए । यसको साथै स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सचेतना गराउने बजारको उद्देश्य रहेको उनले बताए ।

विभिन्न उद्योगी, व्यावसायीहरु संगको सहकार्यमा उपभोक्ताहरुलाई सर्व शुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताए । ४ दिनको बजारबाट केहि हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचार प्रसार हुने र आम उपभोक्ताहरुले सर्व शुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्ने कार्कीको भनाइ छ । विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने दशै बजार २०७९ मा साल्ट ट्रेडिङ सहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङग्रे अटोमोबाईल सहितका १५ देखि १७ वटा स्टलहरु रहने उनले जानकारी दिए ।

दशैं बजारमा स्थानिय भैरहवा बजार क्षेत्रवाट करिव २ हजार ५ सय को संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने आयोजकले अपेक्षा गरेका छन । यस अवधिमा करिव ४० देखि ५० लाख रुपैंया बराबरको कारोवार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताए । दशै र तिहार लक्षित बजार गर्नै भनेर सीमावर्ती बजार सुनौलीमा नेपालीहरुको घुइचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने संघको उद्देस्य रहेको कार्कीले बताए ।

बिक्रम सम्वत २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखिनै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशिल रहदै आएको छ । भैरहवा क्षेत्रमा संघवाट पहिलो पटक २०५८ साल कार्तिक १ देखि ६ गते सम्म भैरहवा उच्च मावि परिसरमा र कार्तिक २४ गते देखि २६ गते सम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेका संघका महासचिव बिजय पाण्डेले भने । दोस्रो पटक २०५९ साल असोज २१ गते देखि २६ गते सम्म संघ परिसरमा दशैं बजार सम्पन गरेका उहाले जानकारी दिए ।