ताजा अपडेट »

रमणीय रेसुङ्गा (फोटो फिचर)

आइतबार, ०२ असोज २०७९

बुटवल । गुल्मीको रेसुङ्गा क्षेत्र प्रख्यात क्षेत्र हो । हाल रेसुङ्गा नगरपालिकामा पर्ने यो क्षेत्र ऐतिहासिक,धार्मिक तथा प्राकृतिक छटाको क्षेत्रको रुपमा परिचित क्षेत्र हो ।

अथाह पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विशेषता र महत्व जस्तो प्रचार–प्रसार भने हुन सकेको छैन । अर्कोतर्फ समुन्द्री सतहदेखि सतहदेखि १७०० मिटर उचाइमा रहेको यस क्षेत्रमा पुग्न सहज सडक तथा पहुँच पनि छैन ।

लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले हालै सो क्षेत्रको अवलोकन भ्रमण गरेको छ । अवलोकनका क्रममा रेसुङ्गाको सम्भावना र महत्वअनुसार पर्यटकीय गतिविधिमा भने कमी भएको निष्कर्ष निकालेको परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।

३४ सय हेक्टरमा फैलिएको उक्त क्षेत्र प्राचिन, धार्मिक र प्राकृतिक सुन्दरताले महत्वपूर्ण र आकर्षक भएतापनि सडक सञ्जाल र प्रसार–प्रसारको कमीमा राष्ट्रिय, अन्ताष्ट्रिय रुपमा भने ओझेलमा परेको उनले उल्लेख गरे ।

रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रे लगाएत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मंसिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ।

लुम्बिनी प्रदेशमा रेसुङ्गा जस्तै अन्य विविधताका धेरै पर्यटकीय क्षेत्र भएतापनि उचित संरक्षण र प्रवद्र्धनका अभावमा ओझेलमा परेको पर्यटन विकास परिषद् लुम्बिनीका सदस्य हरिप्रसाद पोख्रेलले बताए । लुम्बिनीका पर्यटकीय क्षेत्रको पहिचानसँगै पवद्र्धनका लागि परिषद्ले अभियान सुरु गरेको उनले जनाए ।