ताजा अपडेट »

बुटवलको क्युएफएक्समा आजबाट चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रर्दशनमा

शुक्रबार, ३१ भदौ २०७९

बुटवल। अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो बुटवलस्थित क्युएफएक्समा प्रदर्शन आएको छ ।
‘ऐना झ्यालको पुतली’ को शुक्रबारको शोले दर्शकको राम्रो साथ पाएको क्यूएफएक्स बुटवलका म्यानेजर महेश्वर गिरीले बताए ।

फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको थिएन् । अब भने दर्शकको चाहाना अनुसार ऐना झ्यालको पुतलीलाई आवश्यक शो दिइने म्यानेजर गिरीले बताए । ‘आजको शोमा दर्शकको राम्रो साथ रहेको छ । शनिबार ३ः१५ बजेको लागि स्पेसल शो रहेको छ । भोलिको शोमा पनि दर्शकको राम्रै सहयोग पाउने अपेक्षा छ ।

ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

लेखक÷ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् । आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।