जुनले लुकामारी खेल्र्दै रातमा फिक्का उज्यालो छरेपछि सुरु हुन्छ जुनेली रात ! मौका छोप्नेहरु जुनेली रातलाई सुनौलो रात पनि मान्छन ! जुनेली होस् या सुनौलो रात न्यानो काखको आशामा लुटपुटिने जोडी पंक्षीहरु बिछोडिँदा खुला आकासमा जुन हेर्दै आफूलाईसँगै भएको अनुभव गर्छन् र रमाउँछन् पनि र अनि प्रेमका पारखीहरु यसरी कविता रच्न थाल्छन् l
‘तिमीबिनाको यो जुनेली रात,कति रमाइलो हुन्थ्यो होला तिमि भए साथ ! त्यसो त नवजोडीहरु जुनेली रातमा अँगालोमा बाँधिएर हराउन चाहन्छन् अनि पुग्छन् आफ्नै दुनियाँमा, आफ्नै संसारमा । जहाँ प्रेमको बाधक कोही हुँदैनन् अनि उड्छन पंक्षी बनेर स्वतन्त्र आकासमा ! एकअर्कालाई स्पर्श गर्दागर्दै बढ्दै गरेको धड्कनसँगै आफूलाई हराएको अनुभव गर्दै छामछाम छुमछुम गर्दै खोज्न थाल्छन् । तृष्णा नमेटिँदै पोखिन्छन् छताछुल्ल । हुन त जुनेली रातलाई आशाको प्रतिविम्व पनि मान्न सकिन्छ ।
कृतिम उज्यालोमा हराएका आफ्ना प्रतिविम्वसमेत जुनेली रातमा भेटाउँछन मान्छेहरु अनि आशामा लिप्त हुँदै बिहानीको आसमा बिताइदिन्छन् कयौँ रातहरु । परदेश गएको आफ्नो प्रेमीको यादमा कयौँ जुनेली रातलाई साक्षी राखेर दियोमा तेल थप्दै फिक्का उज्यालोको सहारामा प्रतिक्षारत हुन्छन प्रेमीहरु । जुनेली रातलाई प्रेम गर्नेहरुका निम्ति प्रकृतिको सुनौलो उपहार नै मानिन्छ । फोस्रा आस्वासनमा जुन टिपेर ल्याउने कसम खान्छन् कोही । सपनाको पहाड नै थुपार्छन् सगरमाथा झैँ ।
कहिलेकाहिँ सगरमाथाको फेदीसम्म नपुग्दै टुटछन् सपनाहरु सिसा फुटेसरी । यसरी नै मर्छन् कयौँ प्रेमी आत्मा पनि । आफ्नो मलामी आफैँ जान तत्पर हुन्छन । अनि भुल्ने बहानामा सारा सपना रक्सीको ग्लासमा घुल्न थाल्छन् । एक–एक लोकल ठर्राको प्रत्येक घुड्कोसँगै मिठा लाग्न थाल्छन रक्सीवाली साहुनीको हातहरु । साहुनीहरु पनि कहाँ कम हुन्छन र ? श्रीमान विदेश गएको वा नभएको मौका छोपेर खोला बनिदिन्छन जुनेली रातहरुमा तिर्खा लाग्नेहरुको लागि ! भड्किन्छन आत्माहरु, भड्किन्छन मनहरु ,त्यसपछि जुनेली रात बाघ बनेर मनमाथि आक्रमण गर्न थाल्छ । कहिले मन यो भन्छ त कहिले ऊ कहिले बैरी बन्छ ।
कहिले असल मित्र मनको बहकाईमा घ्यु थपिदिन्छ जुनेली रातमा दियोमा तेल थपेझैँ । मनको बहकाईसँगै जुनेली रात धेरै छोराछोरी, चेलिबेटीको मनमाथि हाबी हुन्छ । अनि नगरकोट, पोखरा, ठमेल रातभरि जाग्राम बस्छ जुनेली रातसँगै । झ्यालका प्वालहरुबाट चर्तिकला टुलुटुलु हेरिरहन्छ । गाउँघरमा रोधीघर जाने चलन हराउँदै गर्दा कहिलेकाहिँ लाग्ने जात्राबाटै पोइल जानेहरु पनि कम छैनन् । जुनेली रातले कसैलाई राम्रो त कसलाई नराम्रो गरेको होला नै ! तर जुनेली रात तेजाब बनेर कसैको जिन्दगीमाथि नखसोस् ।
कसैको मनलाई नबहकाओस र कसैको भविष्य नबिगारोस् । कसैको बिछोड नगराओस् । सबैलाई सकारात्मक उज्यालो छर्दै गराओस् मात्र दुइ मुटुको पवित्र मिलन । जुनेली रातको महिमा यसैमा छ ।
प्रतिक्रिया