प्रतियोगिता जुनसुकै होस् । उक्त प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार वा पदक निकै महत्वपूर्ण हुुन्छ । झनै राष्ट्रिय–अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुनु र पदक प्राप्त गर्नु निकै गौरवको अनुभूति हुन्छ । अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउनुनै एक राष्ट्रिय खेलाडीको लागि निकै महत्वपूर्ण हुन्छ । उक्त प्रतियोगितामा उत्कृष्ट भई स्वर्ण वा अन्य पदक पाउँदा जो कोही खेलाडीको खुशीको सिमा रहँदैन । उसँगै राष्ट्रबासी सम्पूर्णमा उत्साह र उत्तेजना नै जाग्छ । तर,केही दिन यता नेपाली राष्ट्रिय खेलाडीहरुले विभिन्न प्रतियोगितामा पदक प्राप्त गर्दा अधिकांशले आँसु वर्षाएका छन् । कारण,अत्यधिक खुशी/हर्षका आँसु होलान् वा मानिएला तर,प्रतक्ष्य उनीहरुको प्रतिक्रिया र सञ्चार माध्यममा आएका कथा अनुसार उनीहरु अत्यधिक खुशी,हर्ष र उत्तेजनाले भन्दा कारण फरक छन् । नेपाली समाचार माध्यममा पदकका भन्दा खेलाडीका आँशुका कथा छाएका छन् ।
काठमाण्डौंमा जारी १३औं संस्करणको दक्षिण एसियाली राष्ट्रहरुको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका पदक विजेता नेपाली खेलाडीहरुको व्यथा यतिबेला निकै चर्चामा रहेको छ । आफ्नै गृहमैदानमा आयोजित प्रतियोगितामा निकै उत्साहका साथ सहभागि भई हालसम्मै उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरुको मैदान पछाडिको कथाले जानकारहरु स्तब्ध भएका छन् । यतिबेला १३ औं संस्करणको प्रतियोगिता पनि अन्तिम चरणमा रहेको छ । निकै रोचक र भव्यताका साथ सुरु भएको १३औं सागमा नेपालको आयोजना र प्रदर्शन दुबै तवरले सन्तुष्टिजनक छ । मंसिर १५ गतेदेखि सुरु भएको साग मंसिर २४ गते सकिँदैछ । ३५ वर्षे सागको यात्रामा नेपालले आयोजना गरेको यो तेस्रो साग खेलकुद प्रतियोगिता हो । यसअघि नेपालले सन् १९८४ मा पहिलो र सन् १९९९ मा दोस्रो पटक आयोजना गरेको थियो ।
दक्षिण एशियाली राष्ट्रहरुको खेदकूदमा विकास गर्ने उद्देश्यले ३५ वर्ष अघि नेपालकै पहलको उपज हो साग । नेपालका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिब शरदचन्द्र शाहले साग सम्बन्धी अवधारणा बनाएका थिए । साग खेलकूदको लागि सन् १९८२ को नोभेम्बरमा दक्षिण एसियाली खेलकुद महासंघको स्थापना गरिएको थियो । जारी १३औं संस्करणको प्रतियोगितामा स्वर्ण पदकको आधारमा दोस्रो र संख्याको आधारमा नेपाल तेस्रो स्थानमा छ । तर,नेपालले प्राप्त गरेको स्वर्ण पदक र जम्मा पदक संख्या अहिलेसम्मकै धेरै हो । पहिलो संस्करणमा नेपालले ४ स्वर्ण, १२ रजत तथा ८ काँस्य जितेको थियो । उक्त संस्करणमा पौडीबाट नेपाली महिला खेलाडीले काँस्य पदक जितेका थिए । पहिलो र पाचौं संस्करणमा नेपाली महिला खेलाडीहरुले निकै शसक्त प्रदर्शन र धेरै पदक जितेका थिए । जारी १३औं संस्करणमा पनि महिला खेलाडीको प्रदर्शन र सफलताले निकै चर्चा पाएको छ ।
२७ वटा खेलमा प्रतिष्पर्धा हुँदै सम्पन्न हुन लागेको साग नेपालका लागी निकै महत्वपूर्ण अवसर र चूनौतीपूर्ण हो । एकातर्फ आयोजकको भूमिकाले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नु अर्कोतर्फ आफ्नै मैदानमा पदक जित्नु । प्रतियोगिताको अन्तिमतर्फ आउँदा यि दुबैमा सफल देखिएको छ । तर,प्रतियोगिताको दौरान नेपाली खेलाडीले उचित साइकल नपाएको,जर्सी फेरेर लगाएको,प्रतियोगिताको अवधीमा गोली अभाव, पेस्तोल जाम भएर पराजित हुनु परेको,बन्दुक सापटी मागेर प्रष्पिर्धा गर्नु परेको जस्ता समस्या सार्वजनिक हुँदा समग्र राष्ट्र र खेलकूदसँग सरोकार राख्नेहरुप्रति नै आक्रोश र शंकासँगै विरोधका आवाज उठेका छन् । उचित व्यवस्थापन,सेवा–सुविधा,सामग्री अभाव हुँदाहुँदै पनि नेपाली खेलाडीले हासिल गरेको सफलता निकै अतुुल्य छ । नेपाली खेलाडीहरु आर्थिक,पूर्वाधार र उचित प्रशिक्षणको अभावबाट गुज्रिँदै आएका छन् । यस्तै कारणले कैंयौ खेलाडी पलायन भएका छन् भने कतिले दक्षता अनुसार सफलता हासिल गर्न सकेका छैनन् ।
प्रतियोगिताकै अवधीमा खेलकूदको बजेटले पदाधिकारी ,नेताले सुट सिलाए भन्ने समाचारले राज्यले खेलकूदर खेलाडीलाई उपेक्षा गर्छ भन्ने तर्क सहिनै देखियो । अर्कोतर्फ खेलकूदको शिर्षकमा बजेट छुुट्टाएर गैर खेलकूदकर्मी विदेश सयर गर्नुका सार्थ आफ्नालाई पोसेका घटना पनि सार्वजनिक हुँदै आएका छन् । यद्यपि १३औं साग प्रतियोगिताको भव्य आयोजना र सफलताका लागि नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय लगाएत खेलकूदप्रेमीहरुको भूमिका सराहनिय नै मान्नुपर्दछ । र,यसमा भएका कमी कमजोरी औल्याउँदै आगामी दिनमा खेलाडीहरुका लागि विशेष व्यवस्थापन गर्न जरुरी रहेको छ । ताकि कुनैपनि नेपाली खेलाडी पदक जित्दा अभाव सम्झेर रुन नपरोस् ।
प्रतिक्रिया