बुटवल । लिस्नु युवा क्लबको आयोजनामा रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलका खेल सञ्चालन हुँदै छन् । प्रतियोगिता अन्तर्गत आज आइतबारको पहिलो क्वार्टर फाईनल खेल साविक विजेता फर्साटिकर फुटबल क्लब र गोर्खा ब्वाईज क्लब बुटवल बीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
यसैबीच शनिबार कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न अन्तिम प्री क्वाटर फाईनल खेलमा आयोजक लिस्नुले पाहुना टीमम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । एक नाईजेरीयन खेलाडीसहित मैदान ओर्लिएको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोलरहित खेल खेल्यो । ०–० गोलको अवस्था रहेको उत्तराद्र्धको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २–० बनाए ।
६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डी एरिया भित्र लिस्नुका रक्षकले लडाएपछि पाल्पाले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरिएपछि दबाबमा पर्न पुग्यो टीम । गोल गर्ने अवसर पाए पनि सदुपयोग हुन सकेन् । अन्ततः आयोजक लिस्नु २–१ गोलले जित निकाल्र्दै क्वाटर फाईनल प्रवेश गर्यो ।
लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरेवापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । लिस्नुले क्वाटर फाईनलमा अब अञ्चलपुर युवा क्लव भैरहवासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टीमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
त्यसै गरी सेमिफाईनलमा पराजित हुने २ टीमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए ।
प्रतिक्रिया