बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गरेका दलहरु एक सिट बाँडफाँटका लागि एक आपसमा लडालड् गरेको बताए । बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तरक्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए । ‘गठबन्धनका दलहरु सिट भागबण्डामा एक आपसमा बार्गेनिङ गर्दै , घुर्की लाउँदै लडिरहेका छन्।’ उनले भने ।
आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससंग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’–पौडेलले भने ।
प्रधानमन्त्री एव् कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसंग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टी भएको बताए ।
वैवाहिक अंगिकृत नागरिकताको हकमा सात वर्षको अवधि राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकृत गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताए । समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने खरता रहेको उनले औंल्याए ।
‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ,राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’–पौडेलले भने–‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्ध बिच्छेद गर्दै ७ जना विदेशीसंग विहे गर्नसक्छन्,यहां विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।’
नेता पौडेलले आगामी निर्वाचनमा एमालेले वहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया