ताजा अपडेट »

३२ सिट मागेका छौं : जसपा अध्यक्ष यादव

विहीबार, २३ भदौ २०७९

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् ।

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताए ।

उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए। सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यलायका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यलायका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यलायका उपकुलपति प्रा. डा: दीपक शाक्य, विभिन्न विश्वविद्यलायका उपकुलपति, समाजसेवी तथा राजनतीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।