भैरहवा । रुपन्देही सदरमुकार भैरहवा तथा यस आसपासमा बिहिबार बिहानैदेखि बच्चा चोरको हल्ला फैलिए पछि स्थानियहरु सशंकित भएका छन् । रुपन्देहीका भैरहवा, धकधई, मर्चवार, लुम्बिनी क्षेत्रका बिभिन्न व्यक्तित्वहरुले बिहानैदेखि भारतबाट बच्चा चोरी गर्ने गिरोह नेपाल छिरेको र यसबाट सावधानी अपनाउन बताउँदै सामाजिक सञ्जालमा लेखी रहेका छन् । सामाजिक सञ्जालमा तिव्र रुपमा फैलिरहेको यो सन्देशको कारण स्थानिय त्रसित भएकै छन अनाहकमा जोगी, माग्नेहरु जोखिममा परेको छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ बैरिहवा बस्ने १५ बर्षिय सन्दिप हरिजनले जोगीको भेषमा आएका केहीले आफुलाई चक्कु प्रहार गरि घाइते बनाएको दावी गरेका छन् । बिहान करिब ८ बजे धकधईबाट घर फर्किने क्रममा खरविन्दटोलको कब्रस्तान नजिकै जोगीका भेषमा आएका २ जनाले आफूलाई चाकु प्रहार गरि किड्नी निकाल्ने प्रयास गरेको हरिजनको भनाई छ । रोहिणी २ का पूर्व वडा सदस्य अनरुध प्रसाद खरविन्दले बालक जेनतेन गरेर भागेर घर पुगेको बताए ।
अर्को घटना पनि रोहिणी गाउँपालिकाकै रहेको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा पानी परिरहेको समयमा ओत लागेका एक जोगीलाई स्थानियहरुले केरकार गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । स्थानीय युवाहरुले निज जोगीलाई केरकार गरेको र पछि स्थानिय प्रहरीको जिम्मा लगाएका थिए ।
यो दुबै घटना प्रहरीको जानकारीमा आएको छ । रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार यस्तो घटनामा कुनै सत्यता छैन । उनले यो हल्ला मात्र भएकोले यसको पछि नलाग्न सर्वसाधारणमा अपिल गरेका छन् । “हामीले रोहिणीको दुवै घटना बुझेका छौं ।” अर्यालले भने “चक्कु प्रहार गरिएको भनिएका बालकलाई सामान्य कोतरिएको मात्र छ, त्यो चक्कुको प्रहार जस्तो देखिँदैन ।” बिहानै हल्ला फैलिएको कारण बालकमा मनोबैज्ञानिक असर परेको हुन सक्ने उनको भनाई छ ।
यस्तै पानी परेर छिपागढको प्रतिक्षालयमा आश्रय लिएका जोगी पनि काठमाण्डौं हिडेको उनको भनाई छ । मानसिक रुपमा समेत केही अस्वस्थ्य देखिएका जोगी भारतीय व्यक्ति रहेको र अहिले जिल्ला प्रहरी कार्यालयमै रहेको उनले जानकारी दिए ।
मृगौला बेच्ने उद्देश्य सहित बच्चा चोर्ने गिरोह सक्रिय रहेको खबर बजारमा चले पनि यसमा कुनै सत्यता नरहेको प्रवक्ता अर्यालको भनाई छ । उनले यस्तो अफवाहको पछि नलाग्न समेत जिल्लावासीमा अनुरोध गरेका छन् ।
प्रतिक्रिया