नेपाल दक्षिण एशियाका अवस्थित एउटा सानो विकासोन्मुख भूपरिवेष्ठित राष्ट्र हो । कुनै समय विकासको कारणले नेपाल भन्दा धेरै पछि रहेका राष्ट्रहरु पनि अहिले नेपाललाई उछिनेर धेरै अगाडि बढिसके, तथापि हाम्रो देशमा भने जनताले सोँचेअनुसार विकास र प्रविधिले फड्को मार्न सकेको अवस्था अहिलेसम्मलाई छैन ।
हुन त बेला–बेलामा हुने आवधिक निर्वाचनको बेलामा नेपाललाई स्विटजरल्याण्ड नै बनाउने अनि विकासको उचाईमा पुर्याउने भाषण नसुनिएका पनि होइनन्, तर विकास भन्ने कुरा योजना, कार्यान्यवन, सुपरिवेक्षणले सम्पन्न हुने कुरा हो, नकि फगत भाषणले । प्रयास नै केही नभएका पनि होइनन् तथापि नेपालको भौगोलिक अवस्था, पर–निर्भरता, राजनैतिक अस्थिरता, भ्रष्टाचारी मानसिकताले गर्दा सोँचेअनुसार विकास र समृद्धिले लक्ष्य हासिल गर्न सकेको छैन ।
अहिलेको २१ औँ शताव्दीमा कुनै पनि राष्ट्रको विकासको रोल मोडेल भनेकै त्यो देशको विज्ञान तथा प्राविधिक शिक्षा नै हो । तर नेपालमा विज्ञान तथा प्राविधिक शिक्षाको औपचारिक अध्ययन शुरु भएको आधा शताब्दी समय पार गरिसक्दा पनि यसको राम्रो सदुपयोग हुन नसक्दा हाम्रो लागि समृद्धिको राम्रो अनुभुति हुन सकि राखेको अवस्था छैन ।
विज्ञान तथा प्राविधिक शिक्षा भनेको कुनै पनि सिपमूलक प्रविधिसँग सबन्धित भएर हासिल गरिने व्यवसायिक शिक्षा हो । कक्षा ११ र १२ विज्ञान विषय लिएर उत्तिर्ण गरेपछि एउटा विद्यार्थी स्नातकमा कुनैपनि उच्च स्तरिय प्राविधिक एंव व्यवसायिक विषय पढ्न सक्षम हुन्छ र ४/५ वर्षमा एउटा दक्ष विषयगत प्राविधिक जनशक्ति भएर निस्कन्छ । प्राविधिक शिक्षाको माध्यमबाट मान्छे आफू मात्रै व्यवसायिक रुपमा सक्षम हुँदैन उसले सयांै जनशक्तिलाई अवसर प्रदान गरी छोटो समयमै राष्ट्रलाई आर्थिक रुपमा समुन्नत बनाउन सक्छ ।
कुनै पनि देशमा भौतिक तथा प्राकृतिक स्रोत साधन मात्र भएर देश विकास हुने होइन, जबसम्म यसलाई परिचालन गर्न सक्ने दक्ष प्राविधिक जनशक्तिको निर्माण हुँदैन, देश आर्थिक रुपमा समुन्नत हुन सक्दैन । हामीले सजिलै भन्ने गर्छौं ‘हाम्रो देशमा रोजगारीको अवसर नै छैन, बेरोजगार व्याप्त छ, तर सजिलै रोजगारी सिर्जना हुन सक्ने प्राविधिक एवम् व्यवसायिक धारतर्फ न त राष्ट्रको साँेचाइले प्रयाप्त काम गरेको छ न त हाम्रो मनास्थिति नै पूर्ण रुपमा तयार छ ।
जनतन वैदेशिक रोजगारीले धानिएको हाम्रो देशको अर्थतन्त्रमा त्यति बेला संकट आउन सक्छ जुनबेला रोजगारी प्रदान गर्ने राष्ट्रहरुले पनि कुनैदिन प्राविधिक ज्ञान हासिल गरेका श्रम शक्तिलाई मात्र रोजगारीको लागि अवसर प्रदान गर्छन् । तर, विडम्बना, आफ्नो देशमा चाहि सामान्य व्यवसायिक ज्ञान हासिल गरेर उत्पादन गर्ने बस्तुहरु पनि उत्पादन गर्न नसकेर विदेशबाट आयात गर्नु परेको छ । यसले वैदेशिक व्यापार घाटा उच्च हुदै गएको छ । यसको प्रत्यक्ष असर के छ त भन्दा राष्ट्रले शिक्षा विज्ञान एंव प्राविधिक क्षेत्रमा प्रयाप्त लगानी गर्न सकेको छैन अनि हाम्रो लागि यो सधै समृद्धिको बाधक बनेर रहेको छ ।
साच्चै देशलाई समृद्धितर्फ लानेगरी प्रयाप्त मात्रामा प्राविधिक जनशक्ति निर्माण गर्ने हो भने हाम्रो मौजुदा शिक्षा निति मै परिवर्तन गर्नुपर्ने आवश्यक छ । प्राविधिक शिक्षाकै अभावमा देशपछि परेको कुरालाई महशुस गरी अबको केही वर्षको बजेट पनि प्राविधिक एवम् व्यवसायिक शिक्षा सञ्चालन तथा सो पश्चात्को रोजगारी अवसरको लागि व्यवसायिक क्षेत्र पनि तयार गरिदिने ग्यारेन्टी गर्नुपर्छ । गाउँघरमा धेरै पहिलेदेखि गरी आएका सामान्य सिपमुलक व्यवसायलाई मात्र पनि अगाडि बढाउन सकेपनि धेरै रोजगार हुन सक्ने एवम् दैनिक घर सञ्चालनको आर्थिक भारलाई कम गर्न सकिन्छ । तर, यस्ता गाउँघरमा हुने गरेका सिपमूलक व्यवसायहरु पनि अहिले लोप भैसकेको अवस्था छ । यसमा सरोकारवाला कसैको पनि राम्ररी ध्यान जान सकेको छैन ।
विज्ञान र प्रविधिको सहयोगमा विकास र समृद्धिको फड्को मारेका देशहरुको बारेमा राम्रो जानकार भएको सरकारले आफ्नो देशमा भने यहि कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको देखिँदैन। चट्टान फोड्न सक्ने करिब ५० लाख भन्दा पनि बढी यूवा शक्ति विदेश पलायन भएको यो अवस्थासम्म पनि श्रमशक्ति पलायनलाई कसरी रोक्न सकिन्छ भनेर साँेच्न नसक्नु हाम्रो लागि आजको दिनमा सबैभन्दा दु:ख को कुरा हो ।
प्राविधिक एवम् व्यवसायिक माध्यमबाट देशलाई साच्चै आर्थिक तथा सामाजिक समृद्धितर्फ लैजाने हो भने सबैभन्दा पहिले त सरकारले यसको लागि दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालयहरुको संख्या बढाउनु पर्ने देखिन्छ । अनि विज्ञान तथा प्राविधिक शिक्षालाई नेपालको ७७ ओटै जिल्लाको सरल पहुँचमा पुर्याउनु पर्छ । नेपाल प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम क्षेत्रको समग्र विकास र विस्तारको लागि सहजिकरण गर्ने उद्देश्यले २०४५ सालमा प्राविधिक शिक्षा एवम् व्यवसायिक तालिम परिषद ९ऋत्भ्ख्त्० को स्थापना भएको हो । अहिले यो परिषद अन्तर्गत आंगिक, साझेदारी तथा सामुदायिक गरी ११ सय भन्दा बढी शिक्षालयहरु सञ्चालनमा छन् ।
केही निजी विद्यालयहरुले पनि प्राविधिकको धारको शिक्षा प्रदान गरेका छन् । यसबाट उत्पादन अधिकतम जनशक्ति स्वरोजगार पनि भैसकेको अवस्था छ । तर, यसको लागि अहिले संचालनमा भएको यति मात्र प्राविधिक शिक्षालयहरु प्रयाप्त छैनन् । हरेक वर्ष ५ लाख भन्दाबढी विद्यार्थीले क्भ्भ् परिक्षा दिन्छन् र धेरैको चाहना छोटो वा लामो अवधिको प्राविधिक ज्ञान हासिल गरी छिटो स्वरोजगार बन्ने नै हुन्छ । तर, यसको लागि सबैले सो अवसर पाइरहेको छैनन्।
अर्को तर्फ हाम्रो देशमा आर्थिक लाभको राम्रो सम्भावना भएको कृषि तथा पर्यटन व्यवसायलाई पार्न प्रविधिसँग जोड्न आवश्यकता छ । अझ कृषिलाई प्रविधिसँग जोड्ने प्रयास अपर्याप्त हुदाँ एकातिर ठूलो क्षेत्रफलमा जग्गा जमिन बाँझो छ भने जनशक्ति काम नपाएर थोरै मूल्यमा श्रम बेच्नको लागि विदेशका गल्ली–गल्ली चहार्नु परेको छ । यो तीतो यथार्थ रोक्नको लागि अबको शिक्षा भनेको माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको हुनुपर्छ । अब पनि हामी परम्परागत शिक्षाकै पछाडि लाग्यौं भने देशको अवस्थामा अझै पनि ठूलो फड्को मार्ने गरी प्रगति होला भन्ने लाग्दैन ।
समग्रमा भन्नु पर्दा अहिलेको समय भनेको हातमा डिग्रीको सर्टिफिकेट मात्र भन्दा पनि स्वरोजगार मुलुक सीप र प्राविधिक ज्ञानको कारणले जीवनयापन सहज गराउन सकिने व्यवसायिक शिक्षाको समय हो । समयानुकुल रोजगारीको अवस्था सिर्जना गराउन नसक्दा विद्यालय र विश्वविद्यालयहरु अहिले शैक्षिक बेरोजगार उत्पादन गर्ने केन्द्रको रुपमा विकसित हुँदै गएका छन् ।
एउटा विद्यार्थीले विश्वविद्यालय तहमा ८/१० वर्षसम्म पढ्दा पनि आफ्नो दैनिकोपार्जनको लागि आवश्यक जागिर र व्यवसायको जोहो गर्न नसक्ने शैक्षिक नितिमा पूर्ण विचार गर्न आवश्यक छ । दुध खान जान्ने तर गाई भैसीको बारेमा जानकारी नहुने, मासु दिनहुँ चाहिने तर, कुखुरा, खसी बोका एवम् रागाँको बारेमा जानकारी नहुने एवम् आलु खान जान्ने आलु कहाँ कसरी फल्छ भन्ने जानकारी नहुने शिक्षा अबको आवश्यकता होइन ।
त्यसैले मान्छेलाई सिर्जनशील, उर्जाशिल र सफल नागरिक बनाउने कि नबनाउने भन्ने कुराको निर्धारण देशको शिक्षा नीतिले निर्धारण गर्छ । यसको लागि सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्ने देखिन्छ । शुरुका केही वर्ष लगानी केही बढ्ने छ । तर, यसले उत्पादन गर्ने दक्ष जनशक्तिले जब देशको हरेक क्षेत्रलाई प्राविधिक रुपमा ढाल्न सक्षम हुनेछन् तब देशको पनि लगानी विस्तारै उठ्दै जाने छन अनि देश बल्ल खास समृद्धिको बाटोमा अगाडि बढेको अनुभूति हुने छ ।
प्रतिक्रिया