ताजा अपडेट »

नेपालको वैदेशिक व्यापार र बढ्दो घाटा

मंगलबार, २१ भदौ २०७९

दुई वा भन्दा बढी देशहरु बीच हुने व्यापारलाई विदेशी व्यापार वा अन्तराष्ट्रिय व्यापार पनि भनिन्छ । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशहरुसँग व्यापार गरिरहेको छ । हाम्रो जस्तो देशको अर्थव्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरीक बजार सिमित भएकाले देश भित्र खपत हुन नसकी बाँकी रहन गएको बस्तुहरु निकासी गर्नु पर्ने हुन्छ र उपलब्ध गर्नुपर्ने हुन्छ ।

वैदेशिक व्यापार भन्नाले देशको बाह्य जगतसँग आफ्नो व्यापार सम्पर्क बढाउनु हो । अर्थात् एउटा देशले अर्को देशसँग सेवा वा सीपको किनवेच गर्ने व्यवहार नै वैदेशिक व्यापार हो । यसमा वस्तु तथा सेवाको विनियम क्रियाले राजनैतिक या राष्ट्रिय व्यापारले राजनैतिक सिमाना भन्दा बाहिरका देशहरुसँग गरिने व्यापार भन्ने बुझिन्छ । मानिसको सभ्यताको प्रारम्भ देखि नै कुनै न कुनै रुपमा वैदेसिक व्यापार अस्तित्वमा रहेको पाइन्छ ।

पुरातात्विक अनुसन्धानबाट पनि विश्वमा हजारौ वर्ष पहिलेदेखि नै वैदेशिक व्यापारको परम्परा रहेको भेटिएको छ । इजिप्ट, रोम, ग्रीक, आदि प्राचिन सभ्यतामा पनि वैदेशिक व्यापार चलेको तथ्य फेला परेको छ । त्यसपछि सभ्यताको विकास सँगसँगै वैदेशिक वयापारको पनि विकास हुदै गयो । युरोप, अमेरीका, एसियामा समेत यसको विस्तार भयो । नयाँ नयाँ प्रविधि र वस्तुको उत्पादनको वृदिले गर्दा वैदेशिक व्यापारले फस्टाउने मौका पाएको देखिन्छ।

कौटिल्य अर्थशास्त्रमा उल्लेख गरिएअनुसार नेपालको बैदेशिक व्यापारले पन्ध्रौं र सोह्रौ शताब्दीमा भारत र तिब्बतमा स्थान प्राप्त गरेको थियो । विश्व इतिहासमा सत्रांै शताब्दीमा व्यापारले महाजनी समयमा प्रवेश गरेर ठूला देशहरुले उपनिवेशहरुलाई व्यापारद्वारा नै नियन्त्रण गर्न प्रयास गरेको पाईन्छ । प्रथम विश्व युद्घ पहिले (सन् १८२०–१९१३), भन्दा र सुधार व्यवस्था (सन् १९२९–१९३८), द्घितिय विश्व युद्घ र त्यसपछिको समय (सन् १९३९ –१९५२) र सन् १९५६ पछिको आधुनिक र्वतमान अवस्थामा विदेश व्यापार वृदि भएको देखिन्छ । दोश्रो विश्व युद्घमा वैदेशिक व्यापार राम्ररी फस्टाउन पाएन । द्घितीय विश्व युद्घपछि संयुक्त राष्ट्र संघ र यसका विभिन्न आर्थिक संस्थाहरु स्थापना भए पछि यिनहरुले विश्वव्यापी व्यापारलाई बढाउन मद्दत गरे ।

नेपालले पनि परापूर्व कालदेखि नै बैदेशिक व्यापार गर्दै आएको छ । नेपाल एक अल्पविकसित कृषी मुलुक भएकोले कृषि उत्पादनका अतिरिक्त अन्य औद्मोगिक वस्तुहरु बिभिन्न मुलुकबाट आयात गरिएको छ भने देशमा बढी उत्पादन हुने कृषि एवं वनजन्य वस्तुहरु विश्व बजारमा कारोवार गर्दछ । नेपालबाट बिशेषगरी कच्चा पदार्थ निर्यात गरिन्छ भने तयारी वस्तु एवं पुजीगत सामग्रीहरु आयात गरिने किसिमको बैदेशिक व्यापारको अभ्यास गरिएको छ जसले गर्दा हाम्रो व्यापार सधै प्रतिकुल अवस्थाबाट सञ्चालित हुन बाध्य छ ।

वि .स . २००७ को राजनैतिक परिवर्तन पछि नेपाल र विश्वका अन्य राष्ट्रहरु बिच सम्बन्ध स्थापित हुनथाल्यो । त्यसबेला भारत र चीनको स्वसासित प्रदेश तिब्बतसंग मात्र व्यापारिक सम्बन्ध रहिआएको नेपालमा बढ्दो वैदेशिक व्यापारको मात्रामा पनि विस्तार हुन थाल्यो । वि.स. २०२१ साल देखी नेपालको वैदेशिक व्यापारमा वृद्धि भई भारत र चीन बाहेक समुन्द्र पारका अन्य देशहरुसंग पनि व्यापार सम्बन्ध सुरुआत भएको थियो ।

वैदेशिक व्यापारको अवस्था , क्षेत्र ,बिस्तार विकास आदिमा समानुकुल सकारात्मक प्रभाव पार्नका लागी नेपाल तथा अन्य वैदेशिक व्यपारमा सहभागिता जनएका मुलुकहरुबीच दुई पक्षिय व्यपार बिस्तारका लागी थुप्रै प्रकारका सम्झौता भएका छन् । जसले नेपालको वैदेशिक व्यापारको अवस्थामा आयतनमा वृद्दि गरेता पनि गुणस्तरियता तथा व्यापार घाटामा सकारात्मक योगदान दिन सकेका छैनन् । नेपालको अधिकांश वैदेशिक व्यापार मित्र राष्ट्र भारतसँग हुने गरेको छ अर्थात कुल व्यापारको ७० प्रतिशत व्यापार भारत सगं हुने गरेको पाइन्छ ।

नेपालको वैदेशिक व्यापार भारतसँग अधिकांश रुपमा हुने तथा तेस्रो राष्ट सगं व्यापार गर्दा भारतीय बन्दरगाहा प्रयोग गर्नु पर्ने बाध्यताले गर्दा पनि हाम्रो व्यापार आफ्नो पक्षमा पर्न नसकि घाटा सहनु पर्ने अवस्था सिर्जना भएको छ । जसलाई समाधान गर्नका लागि पछिल्लो समयमा नेपाल – चीनबीच भएको पारवहन सम्झौताले प्रत्यक्ष रुपमा सकरात्मक प्रभाव पार्ने सैद्धान्तिक सम्भावना बोकेको छ । जसको प्रभावकारी प्रयोग गरिएमा मात्र उक्त सन्धि नेपालको वैदेशिक व्यापार बढाउने वैदेशिक घाटा कम गर्ने तथा नेपालको रोजगारी बढाउनेमा सावित हुने छ ।

सन् २००४ जनवरी ६ मा दक्षिण एसियाली मुलुकहरुबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । भारत , पाकिस्तान , बंगलादेश लगाएत १८ मुलुकसँग द्धिपक्षिय व्यापार सम्झौता भई सकेको छ जसले गर्दा पनि नेपालको वैदेशिक व्यापार भविष्यमा सफलताका साथ अगाडि बढ्ने प्रशस्त सम्भावना रहेको छ । नेपालको दुई तिहाई वैदेशिक व्यापार मुलत भारत केन्द्रित छ आ.व. ०६१/६२ मा भारतबाट ३०.७७ करोड निर्यात भएकोमा आ.व. २०७१/७२ मा ५९.६१ अर्ब मात्र पुगेको छ जबकी सोही अवधिमा आयात ७८ अर्ब ७४ करोड बाट ४ खर्ब ७७ करोड अर्ब पुगेको छ ।

यस हिसाबले आ. व. ०६१/६२ मा ४६ अर्ब ९६ करोडमा सिमित व्यापार घाटा आ.व.०७१/७२ मा ४ खर्ब १८ अर्बमा चुलिएको छ यसरी व्यापार घाटा बढ्नुमा नेपाल भारत खुला सिमाना उपर्युक्त कर प्रणाली भन्सार सुरक्ष गतिविधि , पिचौलीयाको प्रभाव उपर्युक्त सरकारी संयन्त्र जस्ता तत्वहरु पनि केही हद सम्म जिम्मेवारी रहेको छन भने आयात नियार्त गरिने वस्तुको प्रकृति , गुणस्तर आदिले पनि नेपाल–भारत व्यापार घाटा बढाएको हुनु पर्दछ यसै गरि नेपालको व्यापार पूर्ण तथा भारतिय गतिविधिमा आधारित भएकाले तेस्रो पक्ष सँग गरिने व्यापारलाई पनि उसले ठाडो हस्तक्षेप गर्ने भएकाले वर्तमान समयमा पनि नेपाली वैदेशिक व्यापार घाटामा रहेको हो ।

विगतदेखि वर्तमान वैज्ञानिक युगको सन्र्दभमा आउँदासम्म नेपालले गन्र्ने निर्यात व्यापारमा कुनै परिवर्तन आएको छैन अर्थात परम्परागत कृषि प्रणालीबाट उत्पादित बस्तुहरु हामीले वैदेशिक बजारमा निर्यात गरेका छौ भने विदेशबाट युग सापेक्ष वस्तुहरु आयात गरिरहेका छौ । जुन कुराले हामीहरुलाई बढ्दो परनिर्भरता तर्फ घकेलि रहेको छ । जुन कुरालाई यहाँका उत्पादक, व्यापारी, उपभोगकर्ता तथा राज्य व्यवस्था सन्चालन गर्ने संयन्त्र बुझेको छैन भन्ने कुरालाई पछिल्लो समयमा बुझ्नु आवश्यक छ ।नेपालको वैदेशिक वयापारको अवस्था घाटामा सन्चालित हुनुमा यहाँको राजनैतिक अस्थिरता पनि जिम्मेवार छ।

वि.स.२०६२/६३ पछिको शान्ति प्रक्रिया ,संविधान सभा चुनाव ,संविधान सभाबाट बनाउन लागिएको संविधान निर्माण प्रक्रियामा राज्यको ध्यान केन्द्रित हुनु देशमा रहेको खुला सिमानाको प्रयोग गरि अनियन्त्रित व्यापार मौलाउनु पनि नेपाली वैदेशिक व्यापार घाटा पछिल्लो समयमा बढ्नुमा जिम्मेवार छ ।२०७२ सालमा गएको महा विनाशकारी भुकम्पको कारण देशमा नव निर्माण र पुनः निर्माणका लागि थुप्रै मेशिनरी सामग्रीहरmको आयात गर्नु पर्नेछ ।जसले पछि नेपालको वैदेशिक व्यापारमा प्रत्यक्ष असर पु्याउने छ । वर्तमान समयमा विदेशबाट आधारभुत खाद्यान्न समेत आयात गर्नु परिरहेको छ जसकै आधारमा नेपालको वैदेशिक व्यापार घाटा भविष्यका केही वर्षसम्म बढ्ने अनुमान गरिएको हो ।

नेपालको वर्तमान वैदेशिक व्यापारमा विदेशबाट जीवनमा प्रयोग हुने नुन देखि विलासीतका वस्तु सुन, हिरा, चादी तथा प्याकिङ्क खाना देखि लिएर ७ सय ५० मिलि लिटरको १ लाख रुपिया पर्ने जनावरको व्हीस्की समेत आयात भएको छ । निर्यातको दायरा भने कहिल्यै फराकिलो हुन सकेको छैन् । विगतमा निर्यात गरिने वस्तुहरु वर्तमानमा आयात गरि रहेका छौ । नेपाली उद्यमशीलतामा आएको नाफा कमाउन जुनसुकै हतकण्डा पनि अपनाउने प्रवृतीले गर्दा स्वदेशी कच्चाँ पर्दाथको प्रयोग गरि सञ्चालित हुने उद्योगहरु आयात तथा निर्यात एजेन्टमा रुपान्तरण भएका छन् । जसले गर्दा स्वदेशी उत्पादनको माग क्रमशः घट्दै गई आयातमा वृद्धि भएको छ ।

पछिल्लो एक दशकको वैदेशिक व्यापारको आकडा विश्लेषण गर्ने हो भने हाम्रो वैदेशिक व्यापारको अवस्था कहाली लाग्दो तथा कोवामा राखिएको बिरामीको जस्तो छ । आयात आ.व.२०३१/३२ मा रु. ८१ अर्ब रहेकोमा ०७८/७९ मा रु.१९ खर्ब २० अर्ब पुगेको छ जबकी निर्यात सोही समयमा रु.८८ करोड ९६ लाख बाट रु.२ खर्ब पुगेको छ । यसले नेपालको बैदेशिक व्यापार निरन्तर ओरालो यात्रामा रहेको बताउँछ । नेपालले आर्थिक वर्ष ०५३/५४ मा आफ्नो जिडिपिको ३३.४ प्रतिशतको आयात गरेकोमा आर्थिक वर्ष ०७७/७८ मा ४५ प्रतिशत बराबरको आयात गरेको छ । सोही समयमा निर्यात व्यापार नेपाली जिडिपिको १३.१ प्रतिशतबाट घटेर ३.३ प्रतिशतमा पुगेको छ । यसले नेपाली अर्थतन्त्र आयातमुखी अर्थतन्त्रमा रुपमान्तरण भएको प्रमाणित गरेको छ । आर्थिक वर्ष ०६०/६१ म नेपालको कुल आयात रु. १ खर्ब ३६ अर्ब रहेकोमा ०७८/७९ मा रु.१९ खर्ब २० अर्ब पुगेको छ । यसैगरि निर्यात रु ५३ अर्ब ९१ करोडबाट रु २ खर्ब पुगेको छ । यसले नेपाली अर्थतन्त्रमा बाह्य मुलुकले माग गर्ने वस्तुको उत्पादन न्यून भएको बुझिन्छ ।

नेपालले आफ्नो वैदेशिक व्यापारमा सुधार ल्याउनका लागि विश्व व्यापार संगठनको सदस्यता लिईएता पनि यसको उचित सदुपयोग गर्न सकेको छैन अर्थात् अभ्यास तथा प्रयास गरिएको छैन प्रयास गरिएको छैन। प्रयास गरिएका अवस्थामा पनि शक्ति सम्पन्न राष्ट्रले विकासोन्मुख राष्ट्रलाई गर्ने हेपाह व्यवहारका कारण नेपाल ग्रहसित भएको छ । नेपाल सरकारले सन् २००४ मा विश्व व्यापार संगठनको सदस्यता लिएको थियो । त्यो समयमा रु. ८२ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष ०७८/७९ मा रु १७ अर्ब २० अर्ब पुगेको छ । यसले नेपालको बैदेशिक व्यापार घाटा जिडिपिको ४५ प्रतिशत भन्दा धेरैले बढेको कहाली लाग्दो परिस्थितीको संकेत गरिरहेको छ ।

वर्तमान समयमा पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तु, मानविय तथा वन्यजन्तुको स्वास्थ्यमा प्रतिकुल असर पार्ने वस्तु, लागुपदार्थ जस्ता वस्तुहरु गैरकानुनी तवरबाट आयात गरिएका छन् । भारतबाट नेपाली बजारमा अनियन्त्रित तवरले आउने वस्तुका कारणले नेपाली अर्थतन्त्र थप विकराल बनेको छ । अहिले भारतबाट मात्र विभिन्न ६५ प्रकारका वस्तुहरु र तेस्रो मुलुकबाट करिब २ हजार भन्दा बढि प्रकारका वस्तुहरु आयात भईरहको छ । पेट्रोलियम पदार्थ, सवारी साधान, स्पेयर्स पार्टस् फलाम तथा स्टिल र तिनबाट बनेका वस्तु मेसिनरी पार्टपुर्जा दुर सञ्चार उकरण रासायनिक मल लत्ता कपडा सुन औषधि जस्ता नेपालमा उत्पादन हुन नसक्ने वस्तु मात्र आयात भइरहेका छैन। नेपालमै लगानीमैत्री वातावरण सिर्जना गरी उत्पादन गर्न सकिने दलहन, चिनि, मिठाई जस्ता कुराहरु पनि विदेश बाट आयात गरिएको छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार आफ्नो पक्षमा भएको छैन।

अन्त्यमा, नेपालको वैदेशिक व्यापारको लामो इतिहास भएता पनि व्यापार घाटामा सञ्चालित भएको र अधिकांश व्यापार भारतमा केन्द्रित रहेको जसले नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा प्रभावित पारेको छ । जसको असर नेपाली पूँजी निर्माण प्रक्रिया, औद्योगिकरण,कृषिको आधुनीकीकरण तथा समग्र आर्थिक विकासका समष्टिगत सूचकमा परेको छ । यसलाई समाधान गर्नका लागी आयातमा नियन्त्रण गर्नका लागि आधारभूत वस्तुको आयातमा कोटा प्रणाली, विलासी वस्तुको आयातमा न्यूनतम ५ वर्षको लागी प्रतिबन्ध, नेपाली उत्पादनको गुणस्तरमा वृद्धिका उपाय अपनाउनु पर्दछ । यी सबै कार्यका लागि सरकारले नीजि क्षेत्रको साथ र क्षमता विकासका रणनैतिक योजनाहरु अभ्यासमा लैजानु आवश्यक छ ।

सन्दर्भ साम्रगी
भन्सार विभाग २०७८/७९
आर्थिक सर्वेक्षण २०७८/७९
नेपाल राष्ट्र बैंक
विभिन्न समाचार एजेन्सीहरु