ताजा अपडेट »

रुपन्देहीमा गाई तस्करको पिकअप भ्यान पक्राउ, घटनामा संलग्न २ जना फरार

आइतबार, १९ भदौ २०७९

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट गाई तस्करको पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार मध्यराती गाई तस्करहरुले गाई लोड गर्न लागेको अवस्थामा प्रहरीको गस्ती टोलीले भेटेपछि भ्यानलाई नियन्त्रणमा लिएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुग्लाहबाट गाडीमा गाई लोड गर्नैै लागेको अवस्थामा प्रहरीले भेटेपछि तस्करीमा संलग्न २ जना फरार रहेका छन् । एटा गाई लोड गरिएको अवस्थामा लु १ च ६०६१ नम्बरको पिकअप भ्यानलाई भने प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक युवराज कार्कीले ग्लोबल आवाजलाई बताए । घटना बारे थप अनुसन्धानका लागि सवारी धनीको बारे जानकारी प्राप्त गर्न यातायात व्यवस्था कार्यालयमा पत्रातार गरिएको तथा फरार २ जनाको खोजीका लागि शंकास्पद व्यक्तिहरुसँग सोधपुछको काम भइरहेको उनले बताए । घटना संलग्नहरुलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।

केहीसमयअघि यस क्षेत्रमा व्यापक रुपमा गाई तस्करी हुने गरेका गुनासाहरु आउने गरेका छन् । पछिल्लो समय भने तस्करी नियन्त्रणका लागि नियमित अनुगमन तथा रात्रीकालिन गस्ती बढाइएको कार्कीले दाबी गरे । गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रबाटै यसरी गौतस्कर हुनु दुःखद भएको स्थानीयले बताउँछन् । तस्करी नियन्त्रणका लागि प्रहरी प्रशासनबाट समेत प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ ।