ताजा अपडेट »

परिवार गुमाएँ,समाजमा स्थापित भएँ : तेस्रोलिङ्गी आनिक

आइतबार, २२ मंसिर २०७६


बिन्दु भट्टराई /ग्लोबल आवाज
तिलोत्तमा । ‘पुरुषलाई जन्माउँदा,छोरीलाई जन्म दिँदा र हामीलाई जन्म दिँदा हुने पिडा फरक–फरक होर ? ‘ यो ४२ वर्षिय तेस्रोलिङ्गी आनिकको मनमा पटक–पटक उठ्ने प्रश्न हो । १६ वर्षअघिदेखि तेस्रोलिङ्गीका रुपमा खुलेर समाजमा लैङ्गिक अधिकारका लागि आवाज उठाउँदै आएकी आनिक २६ वर्षसम्म आफ््नो यथार्थताका कारण कुण्ठित भएको उनको गुनासो छ । हाल समाजमा आफ्नो छुट्टै पहिचान बनाएकी उनी लैङ्गिक हिंसा विरुद्ध अभियानमा निरन्तर खटिरहने गरेकीछन् ।

रुपन्देहीको तिलोत्तमा–८ ज्योतिनगरमा जन्मिएकी आनिक राना मगर वर्षले ४२ पुगेको भएपनि जब त्यो (लिङ्ग पहिचान) समयबाट निस्किन सकिन् बल्ल आफ्नो जिन्दगी शुरु भएको महशुस गर्छिन् । यस्ता किसिमका ब्यक्ति पनि छन् र हाम्रो समाजमा,के गर्न सक्छन् र यिनीहरुले समाजका लागि ? समाजका बुद्धिजिबीहरुले यस्ता प्रश्न तेर्साउँदा रिस उठ्थ्यो,मन खिन्न हुन्थ्यो र अवसर दिए के गर्न सकिन्न होला र भन्ने लाग्थ्यो । समाजका ति ब्यक्तिहरुको सोंच कसरी परिवर्तन होला म सधैं यहि सोच्थें । ’ उनले भनिन् ।

‘जन्मिँदा बालक भएर जन्मिए पनि १३ वर्षको उमेरपछि मात्र थाहा भयो जतिवबेला म कक्षा ८ मा पढ्थे, धेरै समय त म आफै अलमलमा परें । म भित्रै एक किसिमको अन्यौलता छायो । म जस्ता धेरैले घरमा,बिद्यालयमा समाजमा भोग्न बाध्य भएका पिडा सम्झिदा पनि मैले हार मान्नुहुन्न भनेर अगाडि बढेकि हुँ ।’ उनले विगत सम्झिन् ।

‘मेरो स्वभाव अनुसारको लिङ्ग पहिचान पश्चात् नौ महिना कोखमा राखेर, प्रसव पिडा सहेर जन्म दिएकी मेरी आमा,ताते–ताते हिडाउँन सिकाएका मेरा बुवा र विद्यालय जाँदा झोला बोकिदिने मेरा दाई सबै टाढिए ।’ भावुक हुँदै उनले भनिन् । कहिँलेकाँही त्यो समय –लिङ्ग पहिचान)बाट किन बाहिर निस्किए भन्ने जस्तो लाग्दैन भन्ने प्रश्नमा उनले भनिन् ‘पहिले केहि समय त्यस्तोपनि लाग्यो तर, जब म पछाडि हजारौं म जस्ता पीडित बाहिर आउन थाले अनि आफूूलाई गर्व गर्न थालें र समाज परिवर्तन गर्ने हो भने आफैबाट शुरु गर्नुपर्छ भन्ने कुरा संझिए त्यो संगसंगै आज सम्म निरन्तर मेरो र म जस्ता ब्यक्तिहरुको समाजमा परिचय संगै अधिकार खोज्दै हिंडेकि छु — उनी भन्छिन् ।

आफू जस्ता सयौंको अधिकार र खुशीका लागि लागिरहने आनिकका आफ्नै पीडा र गुनासा छन् । जुन उनी जो कोहीलाई बताउँदिनन् । सामाजिक अभियन्ता आनिक नेतृत्वमा रहेर अधिकारका चर्को अवाज उठाई लडेपनि समाज भन्दा पहिला परिवार हो भन्ने उनलाई बेलाबेलामा अनुुभूति हुन्छ । उनी भनिछन् ‘समाज परिवर्तनका लागि दौंडिदा-दौडिदा अरु समय त आफुलाई बिर्सेको परिवारलाई सम्झिने फुर्सद त्यत्ति हुँदैन । ,तर दशैंका टिका थापेर आशिर्वाद लिन जाने ठाउँ नहुुँदा तीजमा बोलाउने कोहि नहुदा र तिहारमा टिका लगाइदिने र लगाउने ठाउँ हराउँदा हरेक पर्वमा कुनामा बसेर भक्कानो छोडेर रुन मन लाग्छ ।’


सन् २००१ मा निलहिरा संस्थाबाट आफ्नो संघर्षपूर्ण यात्रा गरेकी आनिक रानाका प्रत्येक पाइलामा चूनौती छन् । चूनौती बिनाको संघर्ष र संघर्ष बिनाको सफलता स्वादिलो नहुने उनको भनाई छ ।
सन् २००९ मा यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने अर्को एउटा संस्था जन्मियो र उनी अहिले सोही संस्थाको अध्यक्ष पनि हुन् । उनको शसक्तिकरण नेपाल नामक संस्थाले उनीजस्तै तेस्रो मात्र नभई सबै किसिमका लैंगिक अधिकारका विषयमा आवाज उठाउँदै आएको छ ।

‘धेरै ठूला सपना पनि देखेकी छैन। महिला पुरुष भनेजस्तै अल्पसंख्यक समुदायका ब्यक्तिलाई पनि समाजमा परिचित भएर सहज रुपमा काम गर्ने वातारण मिलोस्, फरक लिङ्गी भएकै कारण आमाको न्यानो काख बाबाको मायाबाट कारणले बञ्चित बन्नु नपरोस् हामी त्यहि चाहन्छौं ।’ –उनको आग्रहसँगै माग पनि रहेको छ । विं.सं.२०६८ सालको जनगणनामा जति समेट्नु पर्ने थियो त्यति नसमेटिएकोले २०७८ सालमा हुने जनगणनामा यौनिक तथा अल्पसंख्यक समुदायलाई समेटेर लैजानुपर्ने उनको माग छ । ‘जनगणनामा हामीलाई समेट्नु पर्छ र राज्यले सम्बोधन गरेर मात्र पुग्दैन कार्यन्वयन गर्नुपर्छ ।’ उनको राज्यप्रति अनुरोध छ ।

छोरा र छोरीमा पनि भेद्भाव गर्ने समाजमा छोरा–छोरी भन्दा पनि फरक तेस्रोलिङ्गीको वास्तविकता र पहिचानबाट एक्लै संघर्षको यात्रा तय गरेकी आनिक हाल समाजमा परिचित नाम हो । उनी पर्खर वक्ता,सामाजिक अभियान्ता, अधिकारकर्मीका रुपमा समाजमा स्थापित छन् । उनको अधिकांश समय अधिकार , विभिन्न संघसंस्थामा आतिथ्यता ग्रहण गरेर अल्पसंयख्यक लिङ्गीहरुको प्रतिनिधित्व र प्रोत्साहन गर्दै बित्छ । उनको संघर्ष र चूनौतीपूर्ण यात्रा तथा योग्दानको उच्च मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले उनलाई सम्मान गर्दै आएका छन् ।