बुटवल । नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलस्थित जितगढी किल्लाको अवलोकन गरिन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् ।
बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग शुक्रबार भएको भेटमा नगर प्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरेकी थिइन ।नगरप्रमुख पाण्डेयले नेपाल-अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा निर्देशक वर्डलाई जानकारी गराए।
उनले बुटवलको पूरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको बताए । पाण्डेयले नेपाल-अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गरे।
नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि प्रस्ताव गरे । जितगढी र पूरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल-अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन ।
उनले जितगढी किल्ला र आसपासको पूरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने बताए । उनले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने बताए। सो क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बुटवलको औद्योगिक अवस्थाका बारेमा निर्देशक वर्डलाई जानकारी गराए ।
प्रतिक्रिया