ताजा अपडेट »

बुटवलमा नेताहरुको स्मृति पार्क शिलान्यास : स्थानीय तथा एमालेको असन्तुष्टि

शुक्रबार, १७ भदौ २०७९

बुटवल । बुटवल उपमहानगरमा स्वर्गीय नेताहरुको स्मृतिमा निर्वाण गर्न लागिएको पार्क शिलान्यास कार्यक्रमप्रति स्थानीय तथा नेकपा एमालेले असन्तुष्टि जनाएका छन्। बुटवल–११ प्रगतिनगरमा शुक्रबार बुटवलका मेयर खेलराज पाण्डेले पार्क शिलान्यास गर्ने कार्यक्रमप्रति स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

वीपी र पुष्पलालसँगै बुटवलका पूर्वमेयर स्व. सूर्यप्रसाद प्रधानको स्मृति पार्क बनाउन शुक्रबार शिलन्यास गरिएको छ । स्थानीय निर्वाचन २०७९बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गरेका छन् । स्थानीयले बेहाल रहेको रङ्गशाला मार्गमा नेताहरुको आँखा नजाने तर, जनताले संरक्षण गरेको जग्गामा नेताहरुको पार्क बनाउन हतार गर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नव निर्मित वडा नम्बर ११ को कार्यालय नजिकै रहेको पार्क निर्माण स्थलसम्म पुग्ने सडक बेहाल अवस्थामा हुँदापनि त्यसका लागि लगानी गर्नुपर्नेमा अन्यत्र ध्यान गएको भन्दै असन्तुष्ट स्थानीयले गुनासो गरेका छन् ।

यसैबीच एमाले बुटवल–११ का अध्यक्ष दिननाथ भट्टराईले लामो समयदेखि स्थानीयले संरक्षण गरेको जग्गामा कुनै जानकारीबिना नेताहरुको शालिक बनाएर जग्गा कब्जा गर्न खोजेको आरोप लगाए । शिलान्यास कार्यक्रममा एमालेको तर्फबाट निर्वाचित उपप्रमुख सावित्रा अर्याल तथा वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री समेत उपस्थित भएनन् । उपप्रमुख अर्यालले आफू पारिवारिक कारणले उपस्थित हुन नसकेको बताइन् भने वडा अध्यक्ष क्षेत्रीले पनि पारिवारिक कारण देखाउँदै उपस्थित हुन नसकेको उल्लेख गरे ।

यसैगरी नगर प्रमुखले एक्कासी कार्यक्रम हुनुभन्दा एक दिनअघि मात्रै जानकारी गराएको वडा अध्यक्ष क्षेत्रीले बताए । ‘सबैले मिलेर साझा रुपमा नै कार्यक्रम गर्न पाएको भएमा राम्रो हुन्थ्यो ।’–ग्लोबल आवाजसँग कुरा गर्दै क्षेत्रीले भने, ‘यदी उहाहरुले भनेको भए वडाले नै आयोजक रहनेगरी उपमहानगरको समन्वयमा शिलान्यासको कार्यक्रम हुनेथियो, त्यसो नगरी हतारमा गरियो ।’

नगरप्रमुखले गरेको यो निर्णयको स्थानीयले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने सो वडाका वडा सदस्य नकुल शाहीले बताए । ‘हामी यहीँका जनप्रतिनिधिलाई केही जानकारी छैन, पहिले वीपी र पुष्पलालको शालिक बनाउने कुरा थियो रे, आज त सूर्यप्रधानको नि थपिएछ, यहाँका जनताले नेताको शालिक बनाउन जग्गा संरक्षण गरेका होइनन्, पहिले स्थानीयलाई मनाउनुपर्छ, उनीहरुको मन जित्नुपर्दछ’, उनले भनेका छन् ।

बुटवल ११ प्रगतिनगर रंगशाला टोलभित्र आइ सेक्टरमा रहेको उक्त सार्वजनिक जग्गामा स्थानीयले सरकारी कार्यालय वा बहुउपयोगी संरचना बनाउन भनेर संरक्षण गरिराखेकाले नेताहरुको शालिक बनाउने विषयमा सहमति नहुने र काम अगाडि बढ्न नदिइने स्थानीय कमल बस्नेतले बताए । उनले यसरी टोलमा जबरजस्ती राजनीति नगर्न र स्थानीयलाई विवादमा नल्याउन आग्रह गरे ।

सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्छौं : नगर प्रमुख पाण्डे

नगर प्रमुख खेलराज पाण्डेले १७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने बताए । उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने दाबी गरे ।

‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ’, उनले भने, ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मद्दत गर्नेछ ।’ नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘यहाँका बासिन्दाले आफूलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ’, उनले भने, ‘यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ ।’ प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपदका समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए ।

गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।