बुटवल । रुपन्देहीमा उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली काँग्रेसभित्र असन्तुष्टीहरु बाहिरिएका छन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभाका लागि आकांक्षी उम्मेदवारहरुको सिफारिसको विषयलाई लिएर नेताहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । यसै बीच रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेशसभा अन्तरग निर्वाचन क्षेत्र क मा आफ्नो नाम सिफारिस नभएपछि काँग्रेस नेता हरी पोखरेलले असन्तुष्टी जनाएका छन् ।
नेपाली काँग्रेस पूर्व क्षेत्रीय कोषाध्यक्ष समेत रहेका पोखरेलले आफूलाई उम्मेदवार सिफारिस गर्ने क्रममा सड्यन्त्रपूर्वक नाम हटाइको भन्दै बिरोध जनाएका हुन् । ‘अघिल्लो निर्वाचनमा पनि मेरो नाम सिफारिस गर्ने क्रममा हटाइएको थियो । यसपालीको निर्वाचनमा पनि उम्मेदवारी सिफारिसमा क्षेत्रीय समितीबाटै मेरो नाम हटाउने काम भएको छ ।’–ग्लोबल आवाजसँग कुरा गर्दै पोखरेलले भने, ‘उम्मेदवार नै नबन्ने व्यक्तिहरुको नाम सिफारिसमा राखेर षड्यन्त्रपूर्ण निर्णय गरिएको छ । अन्तरघात गरिएको छ ।’ प्रदेशसभाका लागि उक्त क्षेत्रबाट उम्मेदवार आकांक्षी विष्णु पोखरेलको नाम सिफारिस गरिएको तथा अन्य दुई जनाको नाम डमीका लागि मात्रै प्रस्तुत गरिएको उनको दाबी छ । सिफारिस गरिएका अन्य व्यक्तिहरु लक्ष्मी चौधरी र देवी कंडेललाई प्रक्रिया पूरा गर्नका लागि मात्रै सिफारिस गरिएको र आफ्नो नाम हटाइएको उनको आरोप छ ।
प्रदेशसभाका लागि प्रत्येक्षतर्फ नाम सिफारिस भएका पोखरेलले भने पार्टीको विधान तथा नियमानुसार नै भएको दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा समेत काँग्रेसबाट उम्मेदवार भई पराजित भएका उनी यस पटक पनि सिफारिसमा परेका हुन् । ‘अघिल्लो चुनावमा पनि म उम्मेदवार भएका कारण सिफारिसको विषयमा मैले कुनै पनि दबाब वा बोल्ने काम गरेन । कार्यदलको निर्णयलाई नै स्वीकार गर्ने गरी म आफै पनि बसेको थिए । यसमा कसैले आरोप प्रत्यारोप लगाउनु पर्ने विषय छैन ।’–नेता पोखरेलले भने, ‘क्षेत्रीय सभापति राम बहादुर थापाको नेतृत्वमा बनेको कार्यदल थियो उहाहरुले जे निर्णय गर्नुभयो विधि पूर्वक नै गर्नुभएको छ ।’ भार्टी भित्र विवाद तथा असन्तुष्टी आउने कुराहरु सामान्य भएको बताउँदै उनले विधान र प्रक्रिया अनुसार नै भएको हुँदा कोहीले पनि गुनासो र आरोप प्रत्यारोप लगाउनु पर्ने कारण नभएको उल्लेख गरे ।प्रतिनिधिसभाका लागि भने एकल रुपमा भरतकुमार शाहको नाम सिफारिस गरिएको छ ।
यसैबीच रुपन्देही क्षेत्र नम्बर ४ को उम्मेदवार छनोटको विषयमा समेत यसअघि नै विवाद सार्वजनिक भएको छ । उम्मेदवार छनोट गर्दा गुटगत राजनीतिक भएको भन्दै काँग्रेसभित्र असन्तुष्टिहरु सार्वजनिक भइरहेका छन् ।
समानुपातिकमा नेता शाहकी श्रीमतीलाई सिफारिस
सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ सिफारिस भएको रुपन्देही क्षेत्र नम्बर ५ मा उनकी श्रीमती अनितालाई समेत समानुपातिकतर्फ महिलाबाट सिफारिस गरिएको छ । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।
प्रतिक्रिया