ताजा अपडेट »

भैरहवा बस्ने अञ्जलीको हत्याका लागि श्रीमानद्वारा ५० हजारको सुपारी, नारायणीमा धकेलेर हत्या प्रयास असफल

विहीबार, १६ भदौ २०७९

परासी । नवलपरासी स्थित नारायणी नदीमा धकेलेर एक महिलालाई मार्ने प्रयास असफल भएको छ । प्रतापपुर गाउँपालिका–७ का बडेलाल गुप्ताले आफ्नै कान्छी श्रीमतीलाई गएराति नारायणी नदीमा डुंगाबाट धकेलेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

गुप्ताले सुस्ता गाउँपालिकाको रतनगञ्जस्थित स्थानीय तीन जना युवालाई ५० हजार रकम दिएर श्रीमती अञ्जली जयसवाललाई गएराति करिब ११ बजेको समयमा डुंगाबाट धकेलेर मार्न लगाएका थिए । तर डुंगाबाट धकेलिएर नदीमा खसेकी अञ्जलीलाई स्थानीयले उद्धार गरेका थिए । अञ्जली बाँच्न सफल भएपछि मार्ने प्रयास असफल भएको हो ।

अञ्जलीको राति नै बर्दघाट चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार गरिएको छ । सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार गरिएको छ । उनको अवस्था हाल सामान्य रहेको माइती पक्षले जनाएको छ ।घटनाका योजनाकार बडेलाल गुप्तालाई ईलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको अन्य तीनजना फरार छन् । उनीहरुको पहिचान भइसकेको र खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

अञ्जली बडेलालकी कान्छी श्रीमती हुन् । रामग्राम – ६ पोखरापाली माइति भएकी अञ्जलि र बडेलालको दुई वर्ष अघि भारतको ठुठिबारीमा भेट भएको थियो । ठुटिबारीको एक कपडा पसलमा काम गर्ने अञ्जली र सोही स्थानमा समेत घर भएका बडेलालबीच भागि विवाह भएको थियो ।
उनीहरू हाल भैरहवामा डेरा गरि बस्दै आएका छन् ।

अञ्जलीको गर्भ बसेपछि बडेलालले गर्भपतन गर्न दबाब दिँदै आएको तर नमानेपछि सामान ल्याउने बहाना बनाई अञ्जुलाई नारायणी नदीमा फालेर मार्ने योजनाका साथ बुधबार भैरहवाबाट सुस्ता गाउँपालिकाको रतनगञ्ज पुर्याएको पीडित बयान दिएकी छिन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।