ताजा अपडेट »

मनको अदालतबाट दोषी करार गर्नेछु..

बुधबार, १५ भदौ २०७९

म तपाईं बिना बाच्नै सक्दिन । अहँ हुन्न । मेरो पहिलो प्रेम तपाईं हो । र अन्तिम पनि । मेरो लागि हजुरको विकल्प यस संसारमा छैन । कदापि बन्ने छैन । मेरो वास्तविक राजकुमार तपाईं नै हो । तपाईं मेरो प्राण हो । मरो स्वासप्रश्वास हो । मेरो धड्कन हो । मेरो जीवन पर्यन्त र मृत्यु पश्चात पनि सँगै रहने एक साथि हो । उनले जिद्धी गर्दै भन्न थालिन् ।

मुनाको मदन, क्लीयोपाट्राको एन्टोनी, हेलन अफ ट्रोयको पेरिस र जुलिएटको रोमीयोभन्दा धेरै प्यारो मानिस हो तपाईं मेरो लागि । तपाईं जे जस्तो हुनुहुन्छ त्यो सब मेरो लागि अमूल्य छ । अरुलाई तपाईं कस्तो लाग्छ त्यससँग मेरो सरोकार छैन । अरुको नजर मेरो लागि प्रधान हैन । विशेषगरी हामी अरुका लागि एक हुन लागेका हैनौ । हाम्रा लागि एकाकार हुन लागेका हौ । त्यसैले यसमा तपाईंको र मेरो सरोकार प्रधान हो । अन्य कुराहरु गौण हुन् । सबैलाई हामी मन पर्नुपर्छ भन्ने केही छैन । अरुले हामीलाई आहा भनिदिनु पर्ने छैन ।

त्यसैले अब यो वा त्यो बहानामा टाढा हुने प्रयास नगर्नुहोस् । तपाईंसँग कुरा समेत गर्न अनिच्छुक थिए म केही समय अगाडि । मलाई तपाईंको मतलव थिएन । तपाईं को हो ? कस्तो हो ? किन हो ? सरोकार थिएन । खै केही समय पश्चात त्यही केटी तपाईंसँग गम्भिर सरोकार राख्ने भई । हुँदाहुँदा वैवाहिक जीवन जीउन समेत तयार भई । सारमा भन्नुपर्दा तपाईंको अनुरोधमा तत्पर भई । केही महिनाको डिजिटल माध्यामबाट भएको हाम्रो प्रेमलाई उनले विवाहमा ढाल्न चाहेकी थिइन् । मैले उनलाई रोक्ने अनेकन प्रयास गरे । तर सकिन ।

उनी थप्दै गइन् । हिजो म हजुरप्रति आकर्षीत हुनुको कारण तपाईंको असल मानवीय गुण थियो । त्यो आज पनि छ । सदा रहनेछ । हिजो म मा के थियो ? हिजोको डिजिटल भेटघाट किन सुखद थियो ? पहिले डिजिटल र पछि छिटपुट हुने भौतिक भेटघाटमा किन तपाईं मरिहत्ते गर्नुहुन्थ्यो ? किन मेरो मन पगाल्ने काम भयो ? अनि त्यसो गर्नेले आज किन कुरा घुमाउदै हुनुहुन्छ ? हिजो र आजमा के कुरा फरक आयो र अकमकाउनु पर्ने भयो ? मलाई कन्भिन्स गर्नु पर्ने भयो ? यसको उत्तर हजुरबाट अपेक्षा राखेको छु ।

उनमा उत्पन्न भएका भावहरुले मलाई खिन्न बनायो । उनको भावुक चेहरा देखेर ठूलै गल्ति पो गरे कि भन्ने आभाष भयो । मैले उनलाई अस्वीकार गर्नुपर्ने कारण थिएन । उनलाई मैले नै प्रस्ताव गरेको हो । फेसबुक म्यासेन्जर मार्फत । शुरुका कैयन् प्रश्नहरु उनले बेवास्ता गरिन् । उत्तर दिइनन् । प्रश्नका चाङहरु बढ्दै जाँदा समेत वास्ता गरिनन् । मलाई लाग्थ्यो उनको उत्तर दिने बानी नै थिएन । केही समयपछि मात्र क्रमशः मेरा केही प्रश्नहरुका उत्तर आउन थाले ।

यसरी क्रमशः हामी निकट हुँदै गएका थियौँ । म त तम्सिएरै उनलाई झकझकाउन खोजेको । भावनामा डुबेर कौतुहलता, प्रश्नहरु तेर्साउथे । क्रमशः उनी पनि बोल्न थालेपछि नरोकिने हुन थालिन् । उनले पनि उत्तरको साथमा मलाई धेरै प्रश्नहरु गर्न थालिन् । त्यपछि हाम्रो डिजिटल माध्याममा च्याट र बोल्न बानि नै पर्यौ । धेरै समय कुर्न परेन । समय अन्तरालसँगै उनले मेरो औधी बयान गर्न थालिन् । उनले हाम्रो नामसँग विश्व प्रख्यात शेक्सपियरका पात्रहरु रोमियो र जुलिएट लगायत जोडन् थालिन् । मलाई मदनभन्दा उच्च दर्जामा राखेर प्रस्तुत भइन् । त्यो भावले मलाई अति नै प्रसन्न बनायो । असल मित्र पाएकोमा निकै खुसी लाग्यो ।

त्यसपछि क्रमिक रुपमा सामान्य भौतिक भेटघाट हुन थाल्यो । माया प्रेममा पर्न लागेकालाई कस्ले रोक्न सक्थ्यो र ? जतिनै अप्ठ्याराहरु भए पनि हामीले भेटघाट गर्न थाल्यौ । यसो साझपख कहि एकान्तमा बसेर गफ गर्न थाल्यौ । समय गएको पत्तै हुने थिएन । सकेसम्म लामो समय बसौँ झैँ लाग्थ्यो । गफगाफका किस्साहरु सामान्य नै हुन्थे । शुरुका केही दिन केवल औपचारिकतामै बिते । सामान्य घरायसी खबर आदन प्रदान हुन्थे । क्याम्पसका बारेमा भलाकुसारी हुन्थे । साथिभाइका बारे कुरा हुन्थे । केही चुटकिला भनेर समय व्यतित गरिन्थ्यो । हामी बीचको भौतिक दुरी पनि एकफिटभन्दा बढी नै हुन्थ्यो । जति समय बित्दै जान्छ उति भेटघाटलाई तिब्रता दिदै गयौँ । मनभित्र माया पलाएको थियो । एक अर्काको मन मिलेको थियो । भावनात्मक रुपमा एक हुने संकेत मिलिसकेको थियो ।

क्रमशः हामीले एक अर्कालाई डिजिटल माध्यामबाट मात्रै नभइ भौतिक रुपमा पनि चिन्न थाल्यौ । हिजो सामान्य कुराकानी मात्रै हुने हामी अब साच्चै एक प्रेमजोडी बन्न पुग्यौ । भेटघाट भइरहदा हामीले हाम्रो सम्बन्धको माध्यम सामाजिक संजाललाई धन्यवाद समेत दिन्थ्यौ । किनकि जोडिने सेतु नै त्यही संजाल थियो । भेटमा मैले उनलाई सम्झाउने प्रयत्न गर्थे । कुरा हुँदैमा विवाह नै गर्नुपर्छ भन्ने छैन प्रिया । भेट्दैमा संसार खसेको हुदैन । भावना साट्दैमा जोडी बाँधिइहाल्नु पर्छ भन्ने छैन । तथापि मेरो यस्तो भावना उनले अस्वीकार गर्थिन् । मेरो भनाई उनी सुन्न तयार हुन्थिनन् ।

मैले सम्झाउने हर कोसिस जारी राख्थे । रोमीयो–जुलियटका कहानी अब पुरानो भइसके । मुना–मदनका कहावत अहिलेको संसारमा लागु हुदैनन् । यो डिजिटल जमाना हो । रोमीयोले जुलियट नपाएर मर्नुपर्ने अवस्था छैन । सबैका धेरै साथिहरु हुन्छन् । साथिहरु बिच पनि निकट साथिहरु हुन्छन् । यसको मतलव नजिक हुने बित्तिकै बिहे नै गर्नु पर्छ भन्ने छैन । समाजको सोच पनि परिवर्तन भइसकेको छ । हिजो सँगै हिडेको देख्दा केटाकेटी बिग्रे भन्थे । आज गफ गर्दा, सँगै रहँदा, बस्दा पनि त्यसलाई सामान्य रुपमा लिइन्छ । कुरा यत्ति हो हामी कसरी हिड्छौ । एक अर्का बीच कति दुरी कायम गर्न सक्छौ ? हामी भावनामा मात्रै डुबेका छौ कि व्यावहारमा पनि ?

मेरा सिलसिलेवार कुरालाई बिचमै रोकेर उनले पूनः आफ्नो हठ दोहोर्याउथिन् । हो म स्वीकार्छु समाज परिवर्तित छ । सोचहरु बदलिएका छन् । तथापि मनहरु उस्तै छन् । स्वच्छ भावनाहरुलाई आधुनिकताले कहिल्यै बदल्न सक्दैन । माया, ममता र सम्बन्धलाई समयले फरक बनाउन सक्दैन । ढुङ्गे युग र आज पनि एउटा कुरा समान छ । त्यो हो माया । धनी वा गरीव जोसुकै होस माया भनेको सर्वामान्य सत्य हो । आधुनिकता, समय, विकास वा सामाजिक संजाल आदिले रुप बदल्न सक्ला । सोच बदल्न सक्ला । सामथ्र्य बदल्न सक्ला । तर अनुराग, प्रेम बदल्न सक्दैन । आत्माको चित्कार बदल्न सक्दैन । त्यसैले मेरो भावना बुझ्नुस तपाईंले ।

म पनि उनलाई सहज बनाउन फेरी थप्थे । हैन तिमी कति सारो ढिपी गरेको । हिजोको सति प्रथामा झै गछौँ किन ? हामी साथित्व नै त्याग्न गर्न लागेका त हैनौँ । हामी सधैका लािग टाढिन त लागेका हैनौ नि । केवल तिम्रो चाहना अनुसार वैवाहिक रुपमा एक हुन मात्र नसकेका हौँ ।
तिमी औधी राम्री छौ । मायालु छौ । हृदयबाट माया गर्ने एक नारी हौ । यस्तो मिजासिलो केटीलाई म भन्दा अब्बल केटाहरुले विवाह गर्नेछन् । राम्रो पुरुषहरु तिमीसँग वैवाहिक जीवन जीउन तयार हुनेछन् । बरु भोली मैले तिमी जस्तो असल नारी पाउन्न कि भन्ने चिन्ताको विषय हो । तर तिम्रो सन्दर्भमा त्यो सब सामान्य कुरा हो । अनि केको चिन्ता ? मात्रै भावनाबाट अलिक व्यावहारीकतामा उत्रन पर्यो तिमी ।

मैले जोड दिएर भन्छु । संसार ठूलो छ । तिमी डिजिटल जमानामा पनि पुरातन कुरामा मात्रै विश्वास गर्ने । एकोहोरो जिद्धी । अरे नेपालमा लाखौँ युवाहरु छन् । विश्वमा करोडौ युवाहरु छन् । म बिना बाच्नै नसक्ने के पर्यो त्यस्तो ? मैले तिमीलाई सम्झाउनुको मतलब म स्वार्थी भएको हैन । हिजो इमोसनमा आएर केही बढीबढाउ कुरा गरे । तिम्रो माया पाउन केही मित्थ्या पनि बोले हुँला । तर वास्तविकता फरक छ । म अझै जीवनको करिअर बनाउने क्षणमा छु । म आफै राम्रोसँग खुट्टामा उभिन सकेको छैन । म आफै अरुसँग आश्रित हुनुपरेको छ । अनि विहे गरेर कसरी खुसी दिन सक्छु ? सोच त, संसार पैशामुखी छ । जोसँग पैसा छ, उ सबैको प्यारो हुन्छ । त्यसकारण मलाई कर नगर, कृपया ।

उनले मेरो कुरा पटक्कै नमान्ने भएकी थिइन । उनी फेरी उही आफ्ना वह पोख्थिन । मलाई सुख सयल चाहिएको छैन । भौतिक खुसी आवश्यक हैन । तपाईंका माया पाउन बरु पर्छ भने कष्टपूर्ण जीवन जीउन पनि मलाई स्वीकार्य छ । मन दोधार नबनाउनुहोस प्रिय । म बरु गाउँमा गएर काम गर्न तयार छु । सिकेरै भए पनि मेला पर्म गरौला । उनले पूनः व्यग्र हुँदै भनिन् । मलाई तपाईंको डिजिटल प्रेम किमार्थ स्वीकार्य थिएन । त्यसैले त तपाईंले पठाएका शुरुका प्रश्नहरु महिनौ पेन्डिङ थिए । अझै अनुत्तरित छन् । हामी डिजिटल माध्यामबाट जोडियौँ । हामी सामाजिक संजालबाट परिचित भयौ । अहिले धेरै प्रकारका सामाजिक संजालहरु छन् । मान्छे सँग चिनाजानी गर्न । उनीहरुका व्यावहारहरु बुझ्न । उनीहरुका क्षमताहरु थाहा पाउन । गुण दोषहरु पत्ता लगाउन सजिलो छ । हामी पनि परिचित हुने बेलासम्म डिजिटल मायामा रमाएकै हो । त्यसको मतलव हामी जीवनपर्यन्त डिजिटल जीवन जीउनु पर्छ भन्ने किमार्थ हैन । माध्यम जेसुकै भए पनि हामी एकाकार भयौँ । हामी निकट भयौँ । अब आएर टाढा हुने कुरा पाच्य हुदैन ।

उनले थपिन् । मलाई अब डिजिटल माया किमार्थ स्वीकार्य हुदैन प्रियतम । मेरो भावना कुल्चेमा तपाईंलाई दोषारोपण वाहेक म केही गर्दिन । अपराधी करार गर्ने कानुनी आधार छैन । आधार भएपनि गर्न सक्दिन । गर्दिन । किनकि म समेत सामेल भएर हामी यहाँसम्म आएका हौ । तपाईंलाई कहि कतै मुद्दा मामिला गर्न नसके पनि तपाईं डिजिटल पे्रमी, कपटी, धोकेबाज भनेर मेरो मनको अदालतबाट दोषी करार चाहिँ गर्नेछु । त्यसपछि चैनको सास फेर्ने छु । तथापि बल अझै तपाईंको कोर्टमा छ ।