ताजा अपडेट »

पाकिस्तानमा एक दशक यताकै ठूलो वर्षा, डुंगा पल्टिदा ७ जनाको मृत्यु

मंगलबार, १४ भदौ २०७९

इस्लामबाद । पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् । विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ । ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन् । जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा १,१३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ । ‘ पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानले भनिन् ।

यसैबीच पाकिस्तानमा डुंगा पल्टिँदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् । उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । उद्धारकर्ताहरुले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।
यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।