मंसिर २२,
दाङ । देउखुरीको राप्ती गाउँपालिका-१, पाखापानीकी मनिषा गुरुङलाई व्यावसायिक केराखेती गर्न मन थियो। केराखेतीका लागि आवश्यक ज्ञान र सीप सिकेकी उनले आर्थिक अभावले व्यवसाय सुरु गर्न सकेकी थिइनन्। केराखेतीका लागि रकमको खोजीमा भौंतारिएकी उनलाई ग्रामीण महिला उत्थान केन्द्रले बिनाधितो ४ लाख ऋण दिएपछि उनले तीन वर्षदेखि केराखेती गर्दै आएकी छन्।
केराखेतीले उनको फलिफाप भएको छ। उनले लाखौं रुपियाँको केरा उत्पादन गर्दै आएकी छन्, जसले गर्दा उनको दैनिकीसमेत बदलिएको छ। केराखेती गरेको पहिलो वर्ष केही समस्या भए पनि अहिले राम्रो आम्दानी भइरहेको उनी बताउँछिन। ‘सुरुमा केही समस्या थियो,’ उनले भनिन्, ‘खेती सुरु गरेपछि धेरै कुरा सिकियो, अहिले समस्या छैन।’ सुरुमा उनले ६ सय केराका बोट लगाएकी थिइन्। अहिले पाखापानीमा १५ कट्ठा जग्गामा ३ हजार केराका बोट लगाएकी छन्।
गत वर्ष केराखेतीबाट वार्षिक खर्च कटाएर उनले २ लाखभन्दा बढी आम्दानी गरेकी थिइन्। ‘गत वर्ष केरा बेचेर २ लाख रुपियाँ आम्दानी भएको थियो,’ उनले भनिन्, ‘यस वर्ष केराका बोट धेरै छन्, आम्दानी बढ्ने आस छ।’ उनकाअनुसार मनिषाले ६ लाखभन्दा बढी केरा उत्पादन गर्ने लक्ष्य लिएकी छन्। यसपालि विगतभन्दा धेरै बोट तथा राम्रो फल लागेकाले राम्रो आम्दानी हुने उनको अपेक्षा छ। दाङमा व्यावसायिक केराखेती कम भएकाले धेरै केरा बाहिरबाट आउने गरेको छ। उत्पादित केरा जिल्लामै बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ।
मनिषाले हरिछाल वर्गभित्र पर्ने जिनाइन जातको केरा लगाएकी छन। उनले उत्पादन गरेका केरा देउखुरीको भालुवाङ, लमही, घोराहीसँगै बुटवलसम्म लैजाने गरिएको छ। दाङमा वर्षेनी १० हजार ५ सय ८४ मेट्रिकटन केरा खपत हुने गरेको छ। तर, त्यसको झन्डै ७५ प्रतिशत केरा जिल्ला बाहिरबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।
कृषि ज्ञान केन्द्र, दाङका प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार जिल्लामा पछिल्लो समय व्यवसायिक केरा खेती गर्नेको संख्या बढ्दै गएको छ। गत वर्षको तथ्यांकअनुसार जिल्लामा वार्षिक २ हजार ६ सय मेट्रिक टन केरा उत्पादन हुनेगरेको उनले बताए। अहिले जिल्लामा अधिकांश केरा भारतबाट आउने गरेको उनको भनाइ छ।- नेपालन्युज
प्रतिक्रिया