भैरहवा । यस क्षेत्रको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कपको २० औं संस्करण भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुँदैछ । प्रथम पुरस्कार ३ लाख रहेको लिस्नु कप कोभिडको कारण २ बर्ष हुन पाएको थिएन ।
२० औं संस्करणबारे जानकारी उद्देश्यले कोटिहवामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका तर्फबाट खेल संयोजक समेत रहेका नेम बहादुर गुरुङ्गले स्थानियहरुले पर्वको रुपमा मनाउने लिस्नु कप फेरी सुरु हुनु सुखद रहेको बताए । उनले प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र वालिङ्गबाट गरि १६ वटा टिमको सहभागीता रहने जानकारी दिए ।
स्थानीय कोटिहवा माध्यमिक बिद्यालयमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल असोज ३ गते खेलाईने गुरुङ्गले बताए । खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्काु प्रदान गरिनेछ ।
यस्तै प्रतियोगिताका मोष्ट भ्यालूएबल खेलाडीलाई २५ हजार, प्रत्येक मैचका मेन अफ द म्याचलाई ३ हजार, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाइस्कोररलाई जनही ७ हजार रुपैयाका दरले पुरस्कृत गरिने उनले जनाए ।
प्रतियोगितालाई स्थानीय श्रीमाया गुरुङ्गले आफ्नो बुवा स्वर्गिय डिम बहादुर गुरुङ्गको स्मृतिमा मूख्य प्रायोजन गरेकी छिन । करिब १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरुमार्फत गरिने आयोजकको भनाई छ ।
क्लबका अध्यक्ष तिर्थराज मल्लले प्रतियोगितको क्वार्टर फाईनल खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए । यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार ५ सय रुपैयाँ तोकिएको बताए ।
प्रतियोगिता ९ जना खेलाडी लिएर मात्र खेलाइने उनले बताए । खेल मैदानको अभाव तथा वर्तमान खेल मैदानलाई हेरेर यो नियम बनाइएको हो । एक टिममा ९ जना खेलाडी, अतिरिक्त खेलाडी, कोच, टिम म्यानेजर गरि १६ जना मात्र सहभागी हुन पाउने मल्लले बताए ।
२०५७ सालमा स्थापित लिस्नु क्लबले सुरु देखी नै प्रतियोगिताको आयोजना गर्दै आईरहेको क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए । उनले क्लब फुटबल प्रतियोगितामा मात्र सक्रिय नभई बिभिन्न सामाजिक क्रियाकलापमा पनि लागेका बताए ।
उनले निरन्तर रक्तदान कार्यक्रम, नेपाल अविनाश अनाथ आश्रमको सह–संरक्षकका रूपमा रहि अनाथ आश्रमलाई निरन्तर आर्थिक तथा जिन्सी सामग्री सहयोग प्रदान गर्ने गरेको, निरन्तर सरसफाई कार्यक्रम गरेको, निरन्तर विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, ट्राफिक नियम सचेतना अभिवृद्धि कार्यक्रममा क्लब सक्रिय रहेको क्षेत्रीले बताए ।
क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षता, क्लबका निर्वतमा अध्यक्ष एवम् तिलोत्तमा वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही फुटबल संघका अध्यक्ष, लोक पुन, रुपन्देही रेफ्रि संघका अध्यक्ष ज्ञान बहादुर थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना लगायतले बोलेका थिए । क्लबका सचिव मनोज कुमार क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष कृष्ण गुरुङ्गले गरेका थिए ।
प्रतिक्रिया