काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज बिहीबार खेल्दै छ । यी दुई देशबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो ।
टी-२० क्रिकेटमा नेपाल र केन्या करिव दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको यो पहिलो पटक हो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि नेपाली टिमबाट यो पहिलो शृंखला हुनेछ ।
नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । भिसा समस्या कारण नेपाली टिमका ११ खेलाडी मात्र हाल केन्या पुगेका छन् । ११ खेलाडीसहित १४ जनाको टोली मंगलबार केन्या पुगेको हो । बाँकी खेलाडी नेपालको खेलअघि नै नैरोबी पुग्ने छन् ।
नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल हुन लागेको हो । एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी-२० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो ।
त्यसअघि सन् २०१२ मा भएको टी-२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । एकदिवशीयतर्फ भने सन् २०१८ फेब्रुअरीमा नामिबियामा भएको विश्वक क्रिकेट लिग डिभिजन टुमा नेपाल र केन्याबीच खेल भएको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो ।
प्रतिक्रिया