ताजा अपडेट »

आर्थिक समृद्धिका सर्तहरु

बुधबार, ०८ भदौ २०७९

वर्तमान समयमा नेपाली सञ्चार माध्यम, शहरका सुविधा सम्पन्न तारे होटल देखी देशका दूरदराजमा रहेका हरेक होटल तथा चिया पसल, चोक, गल्लि वा भनौ दुई चार जना व्यक्तिहरु भेला भएको स्थलमा ‘नेपालले अब आर्थिक विकासको गति समातेर आर्थिक समृद्धिको बाटो तय गर्नु गर्दछ’ भन्ने विषयमा बहसहरु केन्द्रित भएका छन् ।

‘यसको अभ्यासमा विलम्ब गर्नु हुन्न’ भनेकोपनि सुनेका छौँ । बिलम्ब भएमा हाम्रो अर्थतन्त्रले सहि कार्यदिशा लिन सक्दैन । यसकारण समयमै यसलाई आत्मसाथ गरी अगाडि बढ्नु पर्दछ भनिन्छ तर, यसको अवधारणका बारेमा कमै मात्र चर्चा गरिएको छ । जबसम्म अवधारणमा हामी प्रष्ट हुदैनौं वा पार्दैनौ त्यो कुरा व्यवहारमा उतार्न सफल हुन सक्दैनौ अतः यस लेखमा आर्थिक समृद्धिका लागि पूर्वसर्तहरुका बारेमा चर्चा गरिनेछ:

के हो ? आर्थिक समृद्धि
देशमा उपलब्ध स्रोत र साधनको उपयोगमार्फत आर्थिक सामाजिक परिसूचकमा सकारात्मक परिर्वतन ल्याई समग्र जीवनस्तरमा सुधार ल्याउनु आर्थिक विकास हो । यसमा गुणस्तरीयता र वैज्ञानिक व्यवस्थापनको मिश्रण हुनु आर्थिक समृद्धि हो । आर्थिक वृद्धिका लागी अर्थतन्त्रमा उपलब्ध प्राकृतिक स्रोत साधन ,मानव साधन, पूँजी र प्रविधिको आर्दश अभ्यासको स्थिति नै आर्थिक विकास हो । यसैको न्यायोचित वितरण, योग्दानमा आधारित सेवा सुविधा, सामाजिक आर्थिक सुरक्षाको पूर्ण सुनिश्चिता आर्थिक समृद्धि हो । आर्थिक विकास एक निरन्तर प्रक्रिया हो, आर्थिक विकासका लागि सरकारी एवंम गैरसरकारी क्षेत्रले रणनीतिक साझेदारी गर्नु आवश्यक छ ।

जसले देशका हरेक पूर्वाधारहरुमा सकारात्मक, गुणात्मक तथा परिणात्मक प्रभाव पार्न सफलता हात लाग्दछ । आर्थिक विकासको अवधारणा सन् १९७० को दशक अगाडिसम्म विकासलाई आर्थिक विषयवस्तुको रुपमा लिइएको पाइन्छ । त्यतिबेला प्रतिव्यक्ति आयमा वृद्धि हासिल गरी यस्तो वृद्दिबाट आर्थिक तथा सामाजिक उपायदेयता हासिल गर्नेतर्फ जोड दिइन्थ्यो।

विगतका विकास रणनीतिहरुले द्रुत दरको औद्योगिकरणमा बढी जोड दिई कृषि तथा दुर्गम क्षेत्रको विकासलाई वेवास्ता गरेको पाइन्छ जसको कारणले सन् १९७० को दशकमा आर्थिक विकासको अवधारणमा व्यापक परिवर्तन आयो जसानुसार विकासोन्मुख अर्थतन्त्रको परिपेक्षमा गरिबी, असमानता र बेरोजगारी घटाउने वा हटाउने प्रयासलाई विकासको संज्ञा दिइएको छ ।

विश्व बैंकको परिभाषमा ‘राष्ट्रको आर्थिक तथा सामाजिक अवस्थाहरुमा भएको सुधारलाई विकास भनिन्छ ।

अझ प्रष्ट रुपमा भन्दा सम्पत्ति सिर्जन गर्न तथा मानिसहरुको जीवनस्तरमा सुधार ल्याउन कुनै क्षेत्रको प्राकृतिक तथा मानव संसाधनको व्यवस्थापन तरिकाहरुमा गरिने सुधारहरु नै विकास हो १९९१)। त्यसैगरी अर्थशास्त्रि एम. पि. टोडारोको भनाइमा ‘विकासलाई एउटा बहुआयामिक प्रक्रियाको रुपमा लिइनु पर्दछ जसमा सामाजिक संरचना, लोकप्रिय एवम् प्रचलित आचरण र राष्ट्रिय संस्थाहरुमा व्यापक परिवर्तनहरुको साथै आर्थिक वृद्धिको तिव्रता, असमानता न्यूनीकरण र गरिबी निवारण समेतलाई समेटिने छ ।’

आर्थिक समृद्धि बहुआयामिक विषयवस्तु हो जसले देशमा भएमा हरेक स्रोत र साधनहरुको वैज्ञानिक तवरले उपयोग गर्दै दिगो विकासको मूल आशयलाई व्यवहारमा उतारिकन देशमा रहेका हरेक नागरीकहरुको जीवनस्तरमा सकारात्मक तथा गुणात्मक परिवर्तन आएको अवस्था नै आर्थिक समृद्धि हो । नेपालको सन्र्दभमा अबका केही वर्षमै उक्त अवस्था उत्पन्न हुने संकेतहरु वर्तमान दिनमा देखिएका छन् यसकारण अब नेपाल साचिकै आर्थिक समृद्दिको बाटोमा हिडेको छ भन्न सकिन्छ।

आर्थिक समृद्धिलाई मापन गर्ने सूचकहरु
१.समानता, २. गरिबी न्यूनिकरण, ३. शिक्षा र शैक्षिक स्तर, ४. आयू , ५. आर्थिक स्तर ६. स्वतन्त्रता र स्वाभिमान, ७. सामाजिक मूल्य, ८ दिगोपना आदि ।

आर्थिक समृद्धिका लागि आवश्यक शर्तहरु
शान्ति सुरक्षा र द्वन्द्वको समाधान
आर्थिक विकास एक बहुआयामिक विषयवस्तु भएकाले यसलाई समुचित तवरबाट अगाडी बढाउनको लागी प्रमुख शर्त शान्ति सुरक्षा र द्दन्द्दको समाधान पर्दछ। जब सम्म देशमा शान्तिपूर्ण, सुरक्षीत एवम भयरहित वाताबरणमा निर्बाध रुपमा हरेक किसिमका आर्थिक गतिबिधीहरु चलायन मान हुदैन तब सम्म देशको विकास चुनावी सभाहरुमा मात्र हुन्छ वास्तविक रुपमा नागरिकले अनुभूती गर्ने गरी हुदैन ।

आज नेपाल सुरक्षित भन्ने अवस्था छैन किनकी यहाँ दिनदिनै बम पड्किएको, भेटिएको समाचार सुन्न तथा पढ्न पाईएको यसकारण जब सम्म यस कार्यको अन्त्य हुदैन देशको आर्थिक विकासको यात्रा अगाडी बढ्न सक्दैन । आज विश्वमा आर्थिक रुपले सम्पन मुलुकले पनि सुरुमा द्दन्द्द समाधान तर्फ आफ्नो ध्यान केन्द्रित गरेको ईतिहासले बताएको छ । यसर्थ आर्थिक विकासका लागी नभै नहुने तत्व भनेको शान्ति, सुरक्षा तथा द्धन्द्दको समुचित समाधान हो ।

उच्च दिगो र फराकिलो आर्थिक वृद्धि
नेपालले वि.स. २०१३ देखि आवद्यिक योजना प्रणालीको अभ्यास गरेको भएता पनि आज सम्म पनि विकसित मुलुकको रुपमा आफूलाई उभ्याउन नसक्नुको एउटै कारण हो योजनाहरु दिगो रुपमा क्रियाशिल नहुनु । नेपालका थुप्रै योजनाहरु निर्वाचन केन्द्रीत गरी बनाउने उपलबधी प्राप्ती भयो वा भएन भनेर मापन नगर्ने परिपाटी छ जसको कारणले देशले दीगो र फराकिलो स्तरको आर्थिक उपलब्धी प्राप्त गर्न सकेन ।

देशले दिगो विकासको अवधारणलाई आत्मसाथ गर्न सकेन परिणामस्वरुप देश अविकसित मुलुकमा गनिन पुग्यो । देशको सिमाना भित्र रहेका स्रोत र साधनको उचित प्रयोग गर्दै भावि पुस्ताका लागी समेत संरक्षण गरी राखिदिनु नै दिगो विकास हो तर व्यवहारमा यो लागु भएको छैन भन्ने कुराको गतिलो उदाहरण चुरे क्षेत्र हो, जसको दोहन तिव्र गतिमा भएको छ तर समुचित प्रयोग भएकै छैन ।

अर्कोतिर देशको आर्थिक वृद्दिदरले सम्रग मुलुककै अर्थतन्त्रको प्रतिनिधित्व गर्ने भएता पनि नेपालको आर्थिक वृद्धिदर मन्द गतिको छ । देशको आर्थिक विकासका लागी उच्चदरको आर्थिक वृदिर हुनुपर्दछ अनि मात्र आसातित आर्थिक परिवर्तन गरी देशमा आर्थिक विकासको गतिलाई चलायमान बनाउन सकिन्छ अन्यथा चुनावी बहस मात्र हुनेछ । कागजमा र भाषण जतिसुकै आर्थिक विकासका कुरा गरेता पनि वास्तविक रुपमा देशले विकास प्राप्ति गर्नका लागि उच्च फराकिलो एवम दिगो आर्थिक वृद्धिदर प्राप्त गर्नै पर्दछ ।

राजनीतिक स्थायित्व र स्थायी सरकार
आर्थिक विकास एक बहुआयामिक तथा निरन्तर चलिरहने प्रक्रिया भएकाले यसले सफलता प्राप्त गर्नको लागि आवश्यक पर्ने शर्त राजनीतिक स्थायित्व र स्थायी सरकारपनि एक मुख्य तत्व हो । जुन नेपालमा कहिल्यै भएन जसका कारण देशले आसातित प्रगति गर्न सकेन । आर्थिक विकासका लागि आर्थिक विकासका पूर्वाधारहरुको सहज आपूर्ति हुनु पर्दछ जसको व्यवस्थापन राजनीतिक स्थायीत्व र स्थायी सरकारले पुरा गर्न सक्ने भएकाले यो एक अनिवार्य शर्त हो।

नेपालको आर्थिक विकासको इतिहासलाई हेर्दा वि.स. २०४८ पछि देशमा कुनै सरकारी उद्योग सञ्चालनमा आएनन् भने पूँजी निर्माणका लागि नयाँ प्रयास भएनन् । वि.स.२०५२ पछि देशले शशस्त्र द्दन्द्दको सामना गर्नु पर्याे जसका कारण धेरै रकम गैर उत्पादन क्षेत्रमा खर्च भयो । नेपालमा २००७ पछि नै राजनीतिक स्थायित्व र स्थायी सरकार गठन भएन जसको सिधा प्रभाव अर्थतन्त्रमा परेको छ ।

२०४७ र २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनपछि पनि देशमा स्थायी सरकार गठन हुन सकेनन् अतः देशमा बेरोजगारी, असमानता, गरिबी मौलाउदै आजको दिनमा आएको छ । वर्तमानमा स्थायी सरकार र राजनैतिक स्थायीत्वका कुरा बढी उठेका छन जुन व्यवहारिक रुपमा नआउँदासम्म नेपालीले आर्थिक विकास र समृद्धिको श्वास र्फेन नपाउने निश्चित प्रायः छ ।

औद्योगिक वातावरण
आर्थिक विकास हुनको लागि महत्वपूर्ण सर्तका रुपमा देशमा ओद्योगिक वातावरण हुनु वाञ्छित छ । यसको अर्थ देशमा औद्योगिक विकासका पूर्वाधार विकसित अवस्थामा रहनु हो। देशमा विशिष्ट औद्योगिक वातावरणको विकास बिना देशको उद्योग क्षेत्र अगाडि बढ्न सक्दैन । हाल नेपालमा औद्योगिक वातावरण शिशु अवस्थामा रहेको छ ।

यसकारण नेपालको आर्थिक विकासको अवस्था कम्जोर रहेको छ भन्न सकिन्छ । त्यसैले नेपालले आर्थिक विकासका लागि आवश्यक शर्त मध्येको यो शर्त पूरा गरेको छैन । देशमा वि.स. २०४९ पछि सरकारी तवरबाट एक वटा पनि अ‍ौद्योगिक क्षेत्रको विकास तथा उद्योग स्थापना भएका छैनन् एवम् भएका पनि उदारीकरणका नाममा निजीकरण गरिएका छन् । नेपालको औद्योगक वातावरण नगन्य गतिमा अगाडि बढ्नुको मुख्य जिम्मेवार तत्व भनेको देशको राजनैतिक पद्धति तथा शैक्षिक बेरोजगारी पनि हो ।

स्थिर पूँजी बजार
हाम्रो देश विकासोन्मुख मुलुक हो । त्यसैले आर्थिक विकासका लागि आवश्यक पर्ने यो शर्त पुरा गर्न सकेको छैन । आर्थिक विकासका लागि दिर्घकालिन पूँजीको आवश्यकता पर्दछ, जसलाई स्थिर पूँजी बजारका विभिन्न औजारहरुले मात्र आपूर्ति गर्न सक्दछन । पूँजी बजारले अर्थतन्त्रका दुवै क्षेत्र निजी तथा सार्वजनिक क्षेत्रको बचत परिचालन गर्ने तथा त्यस्ता दुवै क्षेत्रमा कार्यरत रहने व्यक्ति तथा संघसंस्थाहरुलाई आवश्यक पर्ने दीर्घकालीन ऋण सापटी उपलब्ध गराउँदछ ।

त्यसकारणले गर्दा देशको पूँजी बजार स्थिर रहनु पर्दछ भनि विश्व विकासको प्रतिवेदन सन् १८९ ले पनि जोड दिएको छ । पूँजी बजारले स्टक विनमयको सुविधा प्रदान गर्दछ, यस बजारमा सेयर, बोन्ड, सेक्यूरिटीहरु तथा ऋणपत्र खरिद बिक्रि भईरहेका हुन्छन जसमा पुरना कारोवार मात्र नभई नयाँ पनि हुने गर्दछ जसको माध्यबाट पूँजी निर्माण भई देशको विकासका लागि आवश्यक पूँजी प्राप्त हुन्छ अनि आर्थिक विकासको यात्रा सकारात्मक गतिमा अगाडि बढ्दछ ।

उल्लेखित पक्षहरुलाई आत्मसाथ राखी देशको आर्थिक विकासका लागि योजना बनाएको खण्डमा नेपालले दीगो विकासको यात्रालाई समूचित तवरले अगाडी बढाउदै आर्थिक समृद्धि प्राप्त गर्न सक्दछ ।