चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनीतिसभाबाट पारित नागरिकता विधेयक राष्ट्रघाति छ भन्नु पाखण्ड बाहेक केही नभएको दाबी गरेका छन् । बुधबार विहान चितवन आइपुगेका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक सम्बन्धि नेकपा एमालेले गलत उद्देश्य राखी भ्रमपूर्ण प्रचार गरेको दाबी गरे ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे । ‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’
एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ । उनले भने, ‘नेपालका जनता बुद्धि नभएका छन् । भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्नठान्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भएका छन् । यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन् ।’
प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका हुन् । गठबन्धन दल नेपाली कांग्रेस चितवनका नेताहरुले भने यस पटक चितवन छाड्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।
चुनावको मुखमा जनतालाई आश्वासन दिने हिसाबले प्रचण्डले वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मत इस्तियाक राईलाई लिएर आएका हुन् । उनी चितवन आएलगत्तै आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको माडी जाँदै छन् । माडीको विकास निर्माणमा निकुञ्जले अवरोध गर्दै आएको छ । प्रचण्डले निकुञ्ज ऐन संशोधन गर्न नसकेको भन्दै माडीवासी प्रचण्डप्रति असन्तुष्ट छन् ।
माडीमा उनले पुलको उद्घाटनदेखि लिएर कार्यकर्तालाई प्रशिक्षण समेत दिँदै छन् । माडी नगरपालिकाको मेयर यस पटक नेकपा एमालेले जितेको छ । मेयर विपक्षी पार्टीको भएका कारण माडीलाई सुरक्षित बनाउन प्रचण्ड माडीमा केन्द्रित भएका हुन् । मन्त्रीसहित आएका प्रचण्डले माडीबासीलाई पुनः नयाँ आश्वासन दिने देखिन्छ ।
प्रतिक्रिया