हिजो र आजका कतिपय चाल–चलन, संस्कार फरक छन् । हिजोका दिनमा जिजू बाको बोली झर्न नभ्याउँदै हजुरआमा,बा, आमाहरु सतर्क हुन्थे । उहाँहरुनै सतर्क भएपछि घरका अन्यको चुइँक्क बोल्ने आँट हुन्थेन । स्वत सचेत बन्थे । बा–आमाको बोली झर्न नपाउँदै छोरा–छोरीले पालना गर्थे । ठूला दाई–भाउजू, दिदी वा अन्य मान्यजनको आदेश सानाले शिरोधार्य गर्थे । सासूससुराको दम्को त झनै बुहारीहरुलाई उत्तिकै हुन्थ्यो।
उतिबेल जेसुकै काम सम्पन्न गर्नुपूर्व घरमूलीको अनुमति चाहिन्थ्यो । मूलीको आदेशबिना सिन्को भाँच्ने सम्म अनुमति हुने थिएन । आदेशको कार्यान्वयन स्वाभावले नै माथिबाट क्रमशः तल हुँदै जान्थ्यो । सिमित अधिकार मात्र घरमूली वाहेक परिवारका अन्य सदस्यहरुले पाउथे । कोही माइत ससुराली वा कही जानुपरेमा घरमूलीको अनुमति अनिवार्य चाहिन्थ्यो । अहिलेका सिमित मौलिक तीज गीतहरुमा अभिव्यक्त हुने भावहरुले त्यस्ता पुराना केही कथनहरु झल्काउन खोजेको पाइन्छ । तथापि त्यो अहिले व्यवहारमा छैन ।
विगतमा परिवार, नातागोता, इष्टमित्रबीच गहिरो माया, ममता र सम्मान हुन्थ्यो । पाहुना घरमा आउँदा हृदयदेखि नै स्वागत गरिन्थ्यो । घरमा रहदासम्म यथोचित सम्मान, आदर हुन्थ्यो । फर्कदा हार्दिकता साथ विदाई गर्ने परम्परा थियो । यस्तो चलन परिवारको संस्कारका रुपमा रहेको थियो । पाहुनालाई भगवान सरह ठान्ने परम्परा नै थियो । जति काममा व्यस्त भएपनि आगन्तुकहरुलाई समय दिइन्थ्यो । खल्लो लाग्ने वातवरण नबनोस भनेर घरका सबै सचेत हुन्थे । यस्ता व्यवहारिक कुराहरु सबैले भोगेर नै सिक्थे । कतिपय कुराहरु विद्यालयमार्फत पनि ज्ञान लिइन्थ्यो । हिजोको शिक्षा व्यवहारिक थियो । गुरुलाई उच्च सम्मान थियो । सिक्ने क्रियाकलाप पुरातन भए पनि सिक्ने कुराहरु व्यवहारिक, जीवनोपयोगी हुन्थे । विद्यालय, घर र जहाँतहीँ सबैले शिष्ट भाषा प्रयोग गर्थे । अभद्र भाषालाई कसैले स्वीकार गर्ने थिएनन् ।
त्यसताकाको समाज एकतावद्ध थियो । एउटा परिवार र अर्कोबीच अन्यौन्याश्रीत सम्बन्ध थियो । अर्म–पर्म, पालोपँैचो, अैचोपैँचो चल्थ्यो । एउटा परिवारको दुःखमा अर्को सारथी बनेर सहयोग गर्थे । सुखदुखमा सबै सँगै हुन्थे । एउटा रमाउने अर्को पीडामा हुने वातवरण थिएन । यतिसम्म कि घर छाउने, दाइँ हाल्ने जस्ता कैयन् काममा एकअर्काले निःशुल्क सेवा दिन्थे । छरछिमेकमा सल्लाहबिना कुनै पनि काम सम्पन्न हुने थिएन । त्यसैले सामाजिक क्रियाकलापहरु समाजको अनुमति बिना सम्भव नै थिएन ।
बिभिन्न धर्म अनुसार समाजमा बाराम्बार दोहोरिने सस्कारहरु जस्तो जातकर्म, छैठी, नामकरण, अन्न प्राशन, चूडाकर्म, कर्णवेध, यज्ञोपवीत, केशान्त, समावर्तन, विवाह, अन्त्येष्टि, लगाएत विभिन्न पुजाआजा आदि वा अन्य क्रियाकलाप सम्पन्न गर्न परिवारको अनुमति भएर मात्र पुग्दैनथ्यो । समाजका अगुवाको सहमति अनिवार्य थियो । समाजको अनुमति बिना त्यस्ता क्रियाकलाप सम्पन्न गर्न खोजे त्यो असम्भव थियो । कसैले सम्पन्न गरिहालेमा त्यस्ता व्यक्ति समाजबाट बहिष्कृत हुन्थे । अतः सामाजिक एकता, सदभाव समाजको अभिन्न अंग थियो।
अहिले समाज आधुनिक भएको छ। आधुनिकताका धेरै राम्रा पक्षहरु हुँदा–हुँदै पनि केही कमजोरीहरु छन् । यसो हुनुमा केवल पछिल्लो पुस्ता मात्र जिम्मेवार छैनन्। अहिलेका सबै पुस्ताका कमजोरीका कारण जेनेरेशन ग्याप छ । जसका कारण धेरै कुरामा बिमती पनि छ । अहिले घरभित्रैका कुरा घरका पाको मानिसलाई जानकारी नहुन सक्छ । आजकल अधिक परिवारमा किशोरावस्थामा पुगेका छोराछोरीले के भन्छन् भनेर बाआमाहरु सचेत रहनुपर्ने वाद्यता देखिन्छ ।
घरभित्रैका सदस्यहरु पनि भेट्न हप्तौं लाग्न सक्छ । परिवारका सदस्यहरु भेटने उचित समय भनेको खाना खाने बेलामा हो । आफ्ना प्लेट च्यापेर बिस्तारामै खाने चलनले खाना पनिसँगै लिन सम्भव छैन । परिवारका सबै सदस्यहरुले खाना पनि खादैनन् । कसैको नास्ताले पेट टन्न हुन्छ । कसैको डाइटिङ हुन्छ । त्यसैगरी सबैजना आफ्नो ध्याउन्नमा हुन्छन् । अझ गम्भिर विषय त अहिलेको पुस्ता सकेसम्म, सम्भव भएसम्म बाआमा वा सिनियरलाई भेट्न कम चाहन्छ । भेटेपनि पहिला जस्तो अग्रजको भनाइ पालना हँुदैन । उहीले हजुरबा, बाआमा वा ठूलाबडाले के भन्छन् भनेर मानिस चनाखो हुन्थे । अहिले त्यसमा खास ध्यान गएको पाइँदैन ।
परिवारका सदस्यहरुबिच भेट हँुदा पनि पहिले जस्तो सरसल्लाह हँुदैन । केवल सामान्य भलाकुसारीमै समय जान्छ । भोलीको योजना के छ ? को कहाँ जादैछन् ? घरको काम के छ ? बाहिरी काम के छ ? कसले के काममा सहयोग गर्न पर्ने हो ? यस्ता विषयहरु अधिक परिवारको हकमा योजनाबद्ध हुँदैन । त्यसैले भोली के गर्ने भन्ने विस्तृत जानकारी घरमूलीलाई हुदैन । घरमूलीले चाहेर पनि लागू गर्न सक्दैनन् । लाद्ने त सम्भावना नै रहेन ।
घरबाट हिड्ने बेलामा एकाएक म यतात्यता जान्छु भनेर आवश्यक साधन मागिन्छ । खर्च मागिन्छ । हिड्नै लागेकोलाई कसैले रोक्न सक्दैन । जसरी भएपनि जाने आउने, नास्ता खाने व्यावस्थापन गर्नै पर्छ । त्यसैगरी आफ्नै घरमा सामान खरिद गर्नलागेका पत्तो पैशा भुक्तानी गर्नेलाई शुरुमा हँुदैन । छलफलको त कुरै भएन । विभिन्न वनलाइन सपिङ मार्पmत एक्कासी फोन कल आएपछि मात्र थाहा लाग्छ फलानो सामान आउदैछ भनेर । अनि त्यसको भुक्तानी गर्नुको विकल्प रहदैन ।
त्यसैगरी सामाजिक सस्कारका क्रियाकलाप समेत परिवार भित्रै जानकारी भएको पाइँदैन । घरका जेष्ठ सदस्यलाई समेत जानकारी हुदैन । छरछिमेक, गाउँघरमा त झन् थाहा हुने सवाल भएन । अहिलेको समाजमा यतिसम्म देखिन्छ कि छिमेकमा विवाहमा नाचगान भइरहँदा अर्को छिमेकी अनविज्ञ हुन्छ । सामाजिक क्रियाकलापका यस्ता अनेकन उदाहरणहरु छन् । यस्तो अवस्थामा आफू भन्दा सानालाई सम्झाइ बुझाई उचित केहो सिकाउनु साथै छिमेकमा समेत एक अर्कालाई दुखसुखमा हातेमालो गर्नु सबैको दायित्व हो ।
अहिले भाषिक संस्कार पनि सारै बिगँ्रदो अवस्थामा छ । भाषिक सीप र शब्द चयनमा कसैको ध्यान छैन । अहिलेको कुनै पनि पुस्ता चाहे बाजे होस वा छोरानाति सबैजना सम्मानजनक भाषामा पछाडी छा् । त्यसैगरी भाषाको उपयुक्त प्रयोगमा पनि सचेत छैनन् । कहाँ कसरी बोल्ने ? के बोल्ने ? कति बोल्ने ? आदर सत्कारको भाषा कस्तो हुन्छ? आदि कुराहरुमा धेरै जनाको ध्यान छैन । हामी राम्रो बोल्यौँ भने परिवार राम्रो बोल्छ । परिवार हुँदै छिमेक, समाज राम्रो बोल्छ । यसरी नै सभ्य समाजको निर्माण हुन्छ ।
त्यसैले त भन्ने गरिन्छ मीठो बचन बोल्न सके शत्रु पनि मित्र बन्छ । आफ्नो मनलाई बुझ्न सके घृणा पनि मायामा परिणत हुन्छ । जिन्दगीलाई बुझ्न सके हार पनि जित बन्छ । यसरी नै सिकाउन सक्यौ भने असल संस्कारको बिजारोपण हुन्छ । बोलिले बताउछ संस्कार कस्तो छ भन्ने कुरा बताउछ । त्यसैले मानिसले अन्य कुरा सँगसँगै राम्रो भाषीक संस्कार पनि सिक्नु आवश्यक छ । घर, परिवार र समाजमा जस्तो प्रकारको भाषिक संस्कार छ बाल बच्चा पनि त्यस्तै बन्ने हुनाले सबैले भाषा प्रयोगमा ध्यान पुर्याउनु पर्ने अत्यावश्यक छ ।
आजको दिनमा हामी धेरै जसो अभिभावकहरु समेत अधिक समय सामाजिक संजाल, मोबाइल र टेलिभिजनमै व्यस्त हुने हुनाले पारिवारिक सम्बन्ध, आफ्नो जिम्मेवारीपनको अभाव, सामाजिक भावनाको कमि, बोलिमा मिठासपनको अभाव, झर्कने स्वभाव, भावी योजनाको कमी देखिन्छ । हामीबाट बालबालिकाहरुले धेरै कुराहरु सिकेका हुन्छन् ।
संस्कारको जग नै अभिभावक हो । सबै अभिभावकले आफू सही सस्कारमा हिड्ने र बालबालिकाहरुलाई पनि सुधार्ने वातवरण घरघरमा तयार गर्नु जरुरी छ । अभिभावक सचेत भइसकेपछि मात्र बालबच्चाहरुलाई ठीक ठाउँमा ल्याउन सम्भव छ । असल संस्कार र व्यवहारिक ज्ञान बिनाको मानिस गन्ध बिनाको फूल, सन्तोष बिनाको प्राप्ति, उद्देश्य बिनाको कार्य जस्तै हुन जान्छ ।
अतः अहिलेको पुस्ताका सबै उमेर समुहका मानिसहरु आफ्ना गल्ति सुधार गर्दै पुरानो र नयाँ बिचको परिस्कृत संस्कार बसाल्नु पर्छ । त्यसैगरी सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति पद र प्रतिष्ठा मात्र हैनन् । असल सस्कार, काम र व्यबहारबाट सो पुष्टी हुन्छ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु पर्छ । केवल बालबालिकाहरुलाई मात्र दोष थोपरेर सही संस्कार बस्दैन । उहीले जस्तो उनीहरुलाई तर्सायर त सही संस्कार बस्नै सक्दैन । त्यस्तो सोचले उनीहरुमा प्रतिशोधको भावना विकास हुन्छ । जो झन् घातक, प्रतिउत्पादक र हिंस्रक बन्न जाने खतरा हुन्छ ।
मान्यजनलाई आदर गर्नु, सानालाई माया गर्नु, सबैको उचित कुराको सुनुवाई हुनु, समाजमा मेलमिलाप कायम हुनु हिजो र आज पनि जरुरी छ । यो नै असल संस्कार हो । संस्कार रातारात विकास हुने अवयव हैन । यसको विकास क्रमवद्ध हुँदै जान्छ । हिजोको संस्कार अलि अन्धविश्वासमा डुबेको थियो । त्यसबेलाका कतिपय चलनहरु अहिले पाच्य हुन सक्दैनन् ।
त्यसैले अपाच्य, अव्यवहारिक, पक्षपातपूर्ण कुराहरुलाई समयानुकुल परिवर्तन गर्नु आवश्यक छ । संस्कारलाई कुन रुपमा चलायमान गराउने भन्ने हामीहरुको हातमा छ । ठूलाको आदेश मात्र मान्नु असल संस्कार होइन । सही, व्यावहारिक, न्यायोचित के हो त्यसको पालना हुन असल संस्कार हो । कतिपय हिजोका त कतिपय आजका संस्कारहरु व्यवहारिक छन् । त्यसैले गुण र दोषका आधारमा संस्कारहरु क्रमशः पालना वा तिरस्कार गर्दै जानुपर्छ ।
प्रतिक्रिया