काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः गठबन्धनको बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको तर, सहमति भने हुन सकेकाे छैन । त्यसकै तयारीका लागि आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जसकारण गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया