ताजा अपडेट »

‘तोरी जोन’ मा सिँचाईको अभाव

शनिबार, २१ मंसिर २०७६

मंसिर २१,

सुमन के.सी. / ग्लोबल आवाज

दाङ । दाङका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तथा विभिन्न कृषि कार्यक्रमहरु लागु भएका छन् । दाङको देउखुरी क्षेत्रमा मैक जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन इकाई लागु भएको छ । कृषिमा व्यावसायिकता र आधुनीकता भित्र्याउने उद्देश्यले सञ्चालनमा आएका परियोजना लागु भएपछि कृषकहरु खुशी भएका छन् । तर उनीहरुलाई कृषि गर्नको लागि सिंचाई, मल लगाएतका कुराले समस्या भोग्दै आएका छन् ।

आर्थिक बर्ष २०७५/७६ मा पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १ र २ मा तोरी जोन कार्यक्रम लागु भएको हो । तोरी उत्पादनमा बृद्धि गर्नको लागि जोन कार्यक्रम लागु गरेको भएता पनि किसानहरुले समय मै सिंचाई र मल नपाउँदा समस्या भएको बताएका छन् । दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का ईश्वरी न्यौपानेले तोरी जोन कार्यक्रम लागुहुदाँ आफुलाई फाईदा भएको बताए पनि सिंचाईका कारणले समस्या भोग्नु परेको गुनासो गरे । परम्परागत रुपमा रोपिएको तोरीभन्दा उन्नत जातको तोरीमा उत्पादनमा बृद्धि हुने गरेको भए पनि तोरीलाई आवश्यक पर्ने बेला मल र पानी नपाउँदा समस्या भएको हो । शान्तिनगर २ अमुवामा प्रगतिशिल कृषि महिला समहुको गठन गरी करिब २० विगाह बारीमा तोरी खेती गरेको समुहकी अध्यक्ष सरस्वती न्यौपाने बताईन् । उनले तोरी छर्ने बेला बारीमा चिसो नहुदाँ र तोरी छरी सकेपछि पानी समयमै नपाउँदा समस्या हुने गरेको बताईन् । त्यसैगरी पक्कि कुलो नहुदाँ सानो पानी पनि बारीसम्म लैजादाँ बाटो मै हराउने गरेको उनको भनाई छ । तोरी जोन कार्यक्रम भएपछि उन्नत जातको विउ, मल, औजारहरु सहुलियतमा पाउने गरेको भएता पनि सिंचाईका कारण सोचे जस्तो उत्पादन नहुने उनले बताईन् ।

दाङलाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा संचालन गरेका सबै किसानहरु समेटिएका छैनन् । सबै किसानहरुलाई समेट्न नसक्दा तोरी उत्पादनमा कमी हुने तोरी जोन दाङको संचालक समितिका सचिव थम्मन कँडेलले बताए । ‘हामीले उन्नत जातको तोरी रोपेका छौँ,’ उनले भने, ‘तर छिमेकीले अन्य तोरी रोपेका छन् । त्यँहि तोरीले परागसेचनमा समस्या हुने भएकाले तोरी उत्पादनमा ह्रास आउने गरेको छ ।’ उनले भने, ‘कि सबै किसानहरुले एउटै तोरी खेती गर्नु पर्छ, हैन भने अन्य छिमेकीले अर्काे जातको तोरी खेती गर्दा उत्पादनमा समस्या हुन्छ ।’ उनले थपे ‘उन्नत जातको तारी रोपे पछि करिब २ सय मिटरको दुरीमा अर्काे तोरी खेती हुनुपर्छ तर हाम्रो तोरी खेती सटेको हुन्छ’ , त्यसैले तोरी उत्पादनमा बृद्धि गर्न सबै किसानहरुलाई समेट्नु पर्ने उनले बताए ।

गत बर्षमा उन्नती जातको तोरी अन्य तोरी भन्दा २/३ प्रतिशतले उत्पादनमा बृद्धि भएको उनले बताए । त्यस्तै अर्का शान्तिनगरका २ का कृषक बासुदेब न्यौपानेले उन्नत जातको तोरी खेती गर्दा पहिले खेती गर्ने तोरी भन्दा उत्पादनमा बृद्धि हुने भएता पनि तोरीमा लाग्ने रोगका कारण आफुहरुलाई समस्या हुने बताए । ‘तोरीको दाना लाग्ने बेलामा रोग लाग्छ, तर त्यसलाई कसरी नियन्त्रण गर्ने हामीलाई समस्या हुन्छ,’ उनले भने । त्यसैगरी उनले आफ्नो गाउँमा सिंचाई गर्न पानीको स्रोत भए पनि त्यो प्रयोग गर्न नसक्दा त्यतिकै खेर गएको छ । ‘गाउँदेखि तलतिर पानीको श्रोत छ, त्यसलाई गाउँसम्म ल्याउन सके धेरै किसानहरुलाई राहत हुन्छ,’ उनले भने, ।

पश्चिम दाङका ३ गाउँपालिका र तुलसीपुरका १ र २ वडामा गरी २७ समुह र सहकारी मार्फत तोरी जोन कार्यक्रममा सहभागी भएको तोरी जोन ईकाई तुलसीपुरका धनराज गौतमले बताए । स्थानीयतहबाट सिफारिस गरेर पठाएकालाई मात्र समाबेश गरेको बताए । त्यसैगरी सहकारी वा समुहले १५ विगाह भन्दा बढि तोरी खेती गर्नेलाई मात्र समाबेश गर्ने उहाँले बताए । अहिले सम्म उक्त क्षेत्रमा करिब साढे ३ सय हेक्टरमा उन्नती जातको तोरी खेती भएको उनले बताए । त्यसैगरी अहिले नेपालमा २८ अर्बको तेल बाहिरबाट भित्रीने भएकाले त्यसलाई रोक्नको लागी थोरै जमिनमा धेरै तोरी उत्पादन गर्नको लागी यो योजना लागु गरेको बताए । अहिले उक्त कार्यक्रमले उन्नत जातको तोरी, मल,कृषी औजार, भकारो सुधार, साना सिंचाईको लागी लगानी गर्दै आएको उनले बताए ।