ताजा अपडेट »

छातीमा कलम काँधमा रुख बोकेर हिड्नेलाई जनताले विश्वास गर्दैनन्ः ठाकुर गैरे

सोमबार, ०६ भदौ २०७९

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले छातीमा कलम काँधमा रुख बोकेर हिड्ने र मस्तिष्कमा विदेशीको सेवक बन्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । पाल्पा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेतर्फ इङ्गित गर्दै उनले नातावादको आडमा पाँच पटकसम्म एमालेको चुनाव चिन्ह लिएर जनताको सेवक बन्छुका व्यक्तिले जनतालाई धोका दिएको बताए ।

नेकपा एमाले तिनाउ कागउँ कमिटीले अयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ठाकुरले एमालेले नागरिकता विधेयक, चुच्चे नक्सा प्रकाशन लगायतका राष्ट्रिय सरोकारको विषयमा राष्ट्रियताको पक्षमा गरेको योगदान सम्झिएर प्रदेश र संघीय चुनावमा सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न सबै नेता, कार्यकर्ता खट्नुपर्ने बेला आएको बताए ।

नेकपा एमाले केन्द्रीय सदस्य सिर्जना काफ्लेले महिला आन्दोलन र एमाले विषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तीले पार्टी संगठन र चुनाव विषयमा बोलेका थिए । पार्टी जिल्ला कमिटी सचिव राजमी पोखरेल, जिल्ला पार्टी स्कुल विभाग प्रमुख दल बहादुर गुरुङ, सचिवालय सदस्य गोमा भण्डारी, तिनाउ गाउँपालीका अध्यक्ष प्रेम श्रेष्ठ, तिनाउ गाउँ कमिटी अध्यक्ष रोम बहादुर लम्तरी, यादव प्रसाद अर्याल लगायतले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।