काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् । पार्टी एकता गर्ने चर्चा चलिरहँदा सोमबार बिहान हात्तिवनस्थित एक अपार्टमेन्टमा उनीहरूबीच छलफल भएको हो। छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
स्राेतका अनुसार बैठकमा एकता संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको छ । साथै माओवादी केन्द्रकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट मंसिर ४ गतेका लागि तय भएको संघ र प्रदेशकाे निर्वाचनमा लड्ने सहमति भएका डा. बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको छ । ‘सत्तारुढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ । यसैलाई मध्यनजर गरेर आजको बैठकमा छलफल भएको थियो’ स्रोतको भनाई छ, ‘सत्ता गठबन्धन दलभित्रकै वाम पार्टीहरुले चुनाव अगाडी नै पार्टी एकता संयोजन समिति बनाउने पनि तयारी छ । बाबुराम र वामदेवलाई पनि समेट्ने कुरा छ ।’
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको छ । निर्वाचन लगत्तै माओवादीसँग पार्टी एकता गर्न समाजवादीले वार्ता टोली बनाउने निर्णयसमेत गरिसकेकाे छ ।
प्रतिक्रिया