भैरहवा । रुपन्देहीमा रहेको खुल्ला सीमाका कारण बढ्दो चोरी निकासीले भैरहवा तथा यस आसपासका ब्यवासायी आजित भएका छन् । बढ्दो चोरी निकासीका कारण भैरहवाको ब्यवसाय ठप्प प्राय रहेको कारण चिन्तामा रहेका ब्यवसायीहरुले चोरी निकासीमा नियन्त्रणको माग गरेका छन् ।
चोरी निकासीको सबैभन्दा ठूलो श्रोत भैरहवा नजिकै सीमामै भारत तर्फ लाग्ने गरेको ‘फरेनी बजार’ कारक रहेको ब्यवसायीहरुको ठम्याई रहेको छ । उद्योगी ब्यवसायीहरुको साझा संगठन सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यपार संगठन रुपन्देहीले संयुक्त रुपमा आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि स्थानीय प्रशासनले फरेनी बजारमा नेपाली उपभोक्ताको पहुँचलाई निरुत्साहित गर्न आग्रह गरेका छन् । केही हदसम्म प्रशासनले यसमा सहयोग गरेको उनिहरुको भनाई छ । तर रुपन्देहीकै भगवानपुर, मर्चवार, ककरहवा लगायतका नाकाबाट अवैध रुपमा भारतीय उत्पादन नेपाल भित्रिने गरेको बताउँदै यसमा अंकुश लगाउन उनिहरुको प्रशासनसँग आग्रह रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले अहिले भैरहवा तथा यस आसपासबाट चोरी निकासी बढेको गुनासो गरे । ‘यस क्षेत्रबाट सिमेन्ट र छड बाहेक हरेक बस्तुको तस्करी हुने गरेको छ ।’– श्रेष्ठले भने, यसमा यहाँका ब्यवसायी नभई बुटवल, पाल्पा, स्याङ्गजा लगायतको ब्यवासयीहरुको संलग्नता रहेका पाएका छौं ।
बिभिन्न खाद्यन्न बस्तुका साथै कपडा, मोटर पार्टस, मोबाईल, ईलेक्ट्रोनिक पार्टहरु तस्करी हुने गरेको ब्यवासायीहरुको भनाई छ । भारतबाट अवैध बाटो हुदै नेपाल भित्रिएका यस्ता बस्तुहरुको कारण नेपाली ब्यवसायी मारमा परेको संघका अध्यक्ष भिष्म नयौपाने (सर्वज्ञ) ले बताए । लामो समयदेखि भैरहवाका ब्यवासायीहरुलाई भारतबाट अवैध रुपमा आएको सामग्री खरिद गरेको आरोप लाग्ने गरेको छ । विशेष गरि गल्लामण्डी क्षेत्र, बैंकरोड र भैरहवामा रहेका ट्रान्सपोर्ट ब्यवसायमा लागेकाहरु यस्तो अवैध कारोबारमा संलग्न रहेको देखिएको छ । तर संघका अध्यक्ष न्यौपाने यसमा भैरहवाभन्दा पनि यहाँबाट बाहिरका ब्यवसायीहरुले यस्तो समान लैजाने गरेको दावी गरे । उनले भैरहवा तथा यस आसपासका ब्यवसायी यस्तो कार्यमा संलग्न भए अब दुबै संस्थाले त्यस्तो ब्यपारीको संरक्षण नगर्ने प्रतिवद्धता समेत जनाए ।
कोभिडको समयमा बन्द गरिएको फरेनी बजार कोभिड मत्थर भएसँगै फेरी सञ्चालनमा आएको थियो । विशेष गरि नेपालमा पनि बस्ने विपन्न वर्गको हाट बजारको रुपमा परिचित रहेको छ । फरेनीमा नेपाली उपभोक्ताको चाप बढेपछि भैरहवाका ब्यवसायीहरुले प्रशासनको सहयोगमा त्यहाँ नेपालीलाई जान रोकेका छन् ।
उद्योग ब्यपार संगठन, रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले फरेनी बजारमा सामान्य उपभोक्ता मात्र नभई यहाँबाट करोडौंको अवैध सामग्री नेपाल भित्रिने गरेको दावी गरे । ‘चिनि, दाल त सामान्य भयो यहीबाट फ्रिज, मोटरपार्टस, कपडा लगायतका सामग्री नेपाल आउने गरेको छ ।’–ज्ञवालीले दावी गरे, फरेनी बजार गर्नलाई नै बुटवल, पाल्पा, गुल्मी लगायतका स्थानबाट ब्यवसायीहरु आउने गरेका छन् ।
ब्यवसायीहरुले खुल्ला सीमाबाट हुने अवैध कारोबार रोक्नुपर्ने र सोको लागि सीमा नाकामै कडाई गरि रुपन्देहीका ब्यवसायीहरुको संरक्षण गर्नु पर्ने माग राखेका छन् । भारतबाट आएको सामग्री मूख्य भन्सार बिन्दुबाट नै लागेको राजस्व तिरेर नेपाल भित्रिने ब्यवस्था मिलाउन सम्वद्ध दुवै संस्थाले प्रशासनसँग आग्रह गरेका छन् ।
तीन वर्षदेखि कोरोनाबाट प्रभावित तथा विद्यमान प्रतिकुल आर्थिक अवस्थाका कारण स्वदेशी उद्याग ब्यवसायीहरुको ब्यपार ब्यवसायमा कमि आएको र यस्तै अवस्था रहे स्थानीय ब्यवसायीहरु पलायन हुने अवस्था आउने ब्यवसायीहरुको चिन्ता रहेको छ । स्वदेशी ब्यवसायको संरक्षण र प्रवद्र्धन गर्नको लागि खुला सीमानाका कारण अवैधानिक रुपमा हुने चोरी पैठारी नियन्त्रण गर्न राज्य गम्भिर हुनु पर्ने दुवै संस्थाहरुले साझा धारण ब्यक्त गरेका छन् ।
प्रतिक्रिया