भैरहवा । वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तिमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली धमाधम काट्न थालेका हुन् ।
यसअघि समयमै वर्षा नहुँदा महङ्गो मूल्यमा ईन्धन खरिद गरि किसानहरुले जेनतेन रोपाई गरेका थिए । मलखाद तथा पानीको अभावमा खेतै गरेका किसानहरुका लागि अहिले अनावृष्टिले थप संकट थपेको छ । जिल्लामा करिब १ महिना यता पानी परेको छैन । जसले गर्दा रोपाई गरिएको धानबाली खेतमै सुक्न थालेका छन् । अहिले पानी हुनु पर्ने खेतमा धाँजा फाटेका छन् । खेत मात्रै हैन किसानहरुले सिंञ्चाईको लागि प्रयोग गर्ने पोखरी, ताल तलैया पनि अहिले सुकेका छन् । जमिनमूनिबाट पानी तान्न खोज्दा समेत बोरिङ्गमा पानी आउन सकेको छैन । कतैबाट पानीको आश नभएपछि अन्ततः हार मानेर किसानहरु अब भगवान भरोसा बसेका छन् ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ६ की राधा कोहारले अहिले तराईमा सुखा (खडेरी) परेको बताइन । उनले सुखाका कारण अब धान हुने आश मरेको र त्यसैले भैसीलाई काम लाग्ने भन्दै धान काटेको बताइन । ‘पानी नपरेर खेतमा झार उम्रेको छ, अझै पनि पानी पर्ने छाँटकाट छैन ।’ राधाले भनिन, लगाएको बाली हामीलाई काम लागेन कम्तिमा भैसीलाई त खुवाउन हुन्छ । राधा जस्तै भनाई छ राम नरेश कोहारको पनि । उनले पनि अहिले ईन्धन महङ्गो भएको कारण खेतमा पानी पट्याउन नसकेको बताए । भएको रकम पनि रोपाइमा सकिएको र अब बालबच्चालाई खुवाउने तथा पढाईको खर्चको जोहो गर्न मुश्किल परेको उनको भनाई छ । ‘यस्तै भए कसरी खाने र बाँच्ने ? बालबच्चा कसरी पाल्ने, विद्यालयको खर्च कसरी गर्नु ?’ दुखी हुदै कोहारले पिडा सुनाए ।
खडेरीको मारमा प्राय सिञ्चित क्षेत्रमा पहुँच नपुगेका किसानहरु प्रभावित भएका हुन । मर्चवार, धकधई, लुम्बिनी क्षेत्रमा सिञ्चाईको पहुच न्युन छ । जसका कारण यहाका किसानहरु आकाशे पानीको भर पर्ने गरेका छन् । गत वर्ष अतिवृष्टिको मारमा परेका किसानहरु यस वर्ष वर्षा नै नभएपछि थप कष्ट भोग्न बाध्य भएका छन् । किसान दुनियापति यादवले अब वर्षा र धान सप्रने आश नभएको हुँदा जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि राहत प्याकेज ल्याउनु पर्ने धारणा राखे । ‘केन्द्रिय, प्रदेश र स्थानिय सरकारलाई अपिल छ सुखाग्रस्त क्षेत्र घोषणा गरि राहत बितरण गर्नुप¥यो ।’–यादवले भने, पहिला मानिसलाई जोगाउ अन्य काम त पछि हुदै गर्छ ।
स्थानीय सरकारले यसमा पहल गर्नु पर्ने यादवको धारणा छ । स्थानीय सरकार भनेको हाम्रो समस्यालाई नजिकबाट बुझ्ने निकाय हो त्यसकारण अहिले तत्कालको यो समस्याबाट आफ्नो जनतालाई जोगाउन तर्फ लाग्नु पर्ने उनको भनाई छ । समयमै वर्षा नहुँदा रुपन्देहीमा यस वर्ष किसानहरुले जेनतेन ९० प्रतिशत मात्र रोपाई गरे । १० प्रतिशत रोपाई नहुँदा यसै पनि जिल्लामा धान उत्पादनमा कमि आउने भएको छ । गत वर्ष ४ दशमलव २ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्वको दरले रुपन्देहीमा २ लाख ७० हजार ७ सय ८२ मेट्रिक उत्पादन भएको कृषि ज्ञान केन्द्र रुपन्देहीको तथ्यांकले देखाउँछ । तर यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशतले कमि आउने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अनिल बनियाले जानकारी दिए ।
रुपन्देही जिल्लामा ८२ हजार ६ सय २२ हेक्टर कुल खेती योग्य जग्गा मध्ये ५८ हजार ३ सय ३७ हेक्टरमा मात्र अहिले धान खेती गरिएको छ । यसमा पनि ५७ हजार ९ सय ८९ हेक्टरमा मात्र सिञ्चाई सुविधा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया