ताजा अपडेट »

ज्वाइँलाई संचार रजिस्ट्रार बनाउने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी

आइतबार, ०५ भदौ २०७९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ज्वाइँलाई लुम्बिनी प्रदेश मिडिया काउन्सीलको संचार रजिस्ट्रार बनाउने तयारी गरेका छन् । अहिले मुख्यमन्त्री कार्यालयमा कार्यरत ज्वाइँ रोहित केसीलाई उनले संचार रजिस्ट्रार बनाउने तयारी गरेका हुन् । नाताले उनी मुख्यमन्त्री कार्यालयमा कार्यरत मुख्यमन्त्रीको छोरी दिया केसीका श्रीमान हुन् ।

संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ बैशाख १६ गते लुम्बिनी प्रदेश संसदले पास गरेको केही महिना ढिलाईपछि मुख्यमन्त्री केसीले संचार समन्वय परिषद् अर्थात प्रदेश मिडिया काउन्सील गठनको तयारी गरेका हुन् । प्रदेश मिडिया काउन्सीलमा १ जना अध्यक्ष, १ जना संचार रजिस्ट्रार र २ जना महिलासहित ४ जना सदस्य रहने व्यवस्था छ । ती पदमा कस्लाई नियुक्ति गर्ने भन्ने विषयमा प्रदेश सरकारका दल र दलभित्रका नेतृत्वमा कसरत भइरहेको छ ।

मुख्यमन्त्री केसीले नियुक्तिको बिषयमा आफ्नै दलभित्रबाट आएको प्रस्तावलाई समेत स्वीकार गरिरहेका छैनन् भने कांग्रेसबाट आएको कुराकानीलाई पनि गंभिरतापूर्वक नलिएको बताइन्छ । यसो हुनुलाई ज्वाइँ रोहित केसीलाई नियुक्त गर्ने अडानमा मुख्यमन्त्री रहेको माओवादी केन्द्रभित्रै चर्चा छ । यसबाट मुख्यमन्त्रीकै दल माओवादी केन्द्र र गठबन्धन दल नेपाली कांग्रेस खुसी देखिँदैन ।

उनले जसरी हुन्छ नाताले ज्वाइँ पर्ने रोहित केसीलाई संचार रजिस्ट्रारमा नियुक्ति गर्न कस्सिएका छन् । रोहित केसी मुख्यमन्त्री कुलप्रसाद केसीका काईला दाई मानबहादुर केसीका ज्वाइँ हुन् । मानबहादुरकी छोरी दिया केसी र ज्वाइँ रोहित केसी अहिले पनि मुख्यमन्त्री कार्यालयमै कार्यरत छन् । मुख्यमन्त्री कार्यालयका कर्मचारीको अबधि मुख्यमन्त्रीको कार्यकालसँगै सकिने हुँदा उनले रोहित केसीलाई प्रदेश मिडिया काउन्सीलको संचार रजिष्ट्रारतर्फ नियुक्ती गर्न खोजेका हुन् ।

त्यसका लागि मुख्यमन्त्री केसीले मिडिया बिधेयकमा महान्यायाधिवक्ता र कानून सचिवलाई दबाब दिई संचार रजिस्ट्रारको योग्यतामा समेत हेरफेर गराएका छन् । उक्त योग्यताको बिषयमा प्रदेश सभामुख पूर्णबहादुर घर्तीले समेत असहमती जनाएको माओवादी बृत्तमा चर्चाको बिषय बनिरहेको छ । प्रदेश मिडिया काउन्सीलमा कानून वा मिडिया सम्बन्धी योग्यता र अनुभव भएको व्यक्तिलाई नियुक्ती गरिनुपर्ने सत्ता गठबन्धनमा माग छ । तर मुख्यमन्त्री केसीले बिधेयकमै कानूनी चर राखेर ज्वाइँलाई नियुक्ती दिन खोजिरहेका छन्, मुख्यमन्त्री निकट स्रोतले भन्यो । अब मुख्यमन्त्री बनिने होइन, भएको बेला केही व्यक्तिलाई सेटिङ गरौं भन्ने उहाँको सोच हुनसक्छ ।

उक्त संचार बिधेयकमा रजिस्ट्रारको योग्यता पैतिस वर्ष उमेर पुगेको नागरिक, उच्च अदालतको न्यायाधिश हुने योग्यता भएको वा मान्यताप्राप्त विश्वविद्यालयबाट पत्रकारिता वा आम संचार क्षेत्रमा स्नातकोत्तर तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको वा निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदबाट अवकाश प्राप्त गरेको व्यक्ति वा कुनै विषयमा स्नातक गरी संचार क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, नैतिक पतन देखिन फौजदारी कसूरमा सजाय नपाएको, नियुक्ति हुँदा बखत कुनै राजनैतिक दलको सदस्य नरहेको हुनुपर्ने भनेको छ । कुनै विषयमा स्नातक गरी संचार क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको नजिरलाई टेकेर उनले आफ्नो ज्वाइँलाई नियुक्ति गर्न खोजेको माओवादी केन्द्रका सांसदहरुकै आरोप छ ।

स्रोतका अनुसार प्रदेश मिडिया काउन्सीलको अध्यक्ष वा रजिष्टार सहित २ जना सदस्य नेपाली कांग्रेसले माग गरिरहेको बुझिएको छ । लुम्बिनी प्रदेशका बर्तमान पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङका पत्रकार सुदीप गौतमलाई अध्यक्ष वा रजिष्टारका लागि कुरा राखेको भएपनि मुख्यमन्त्री केसीले पछि कुरा गरांैला भन्दै टारिरहेको बुझिएको छ ।

माओवादी केन्द्रले संचार रजिस्ट्रार नियुक्तीका लागि मुख्यमन्त्रीले पहल गरेका केसी नेपाली कांग्रेस निकट प्रेस युनियनका सदस्य भएको र उनले पार्टीका लागि कुनैपनि योगदान नगरेको हुँदा उनलाई नियुक्ति गर्न नहुने अडान लिइरहेको छ । दिया केसीसँग विवाह हँुदैमा हाम्रो पाटीको सदस्य हुन सक्दैन माओवादीका एक कार्यकर्ताले बुटवल टुडेलाई भने । तर लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माले प्रदेश मिडिया काउन्सीलको गठनको बिषयमा काम नै अगाडि नबढेको बताए । कस्ले किन हल्ला गरिरहेको त्यो मैले बुझिन मन्त्री शर्माले बुटवल टुडेलाई भने, यसको प्रक्रिया अहिले अघि बढेको छैन । संचार क्षेत्रमा रहेका र बुझेका व्यक्ति आउँछन कि अर्कै भन्ने अर्को जिज्ञासामा मन्त्री शर्माले भने, हामी संचार क्षेत्रमै काम गरिरहेका व्यक्तिलाई ल्याउनेछौं ।

मुख्यमन्त्री केसीले केही दिन अघि लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्टारमा नाताभित्रकै रेक भण्डारीलाई नियुक्त गरिसकेका छन् । भण्डारी मुख्यमन्त्रीको ठूलीआमातर्फका नातेदार हुन् । उनलाई यस अघि मुख्यमन्त्री केसीले आइटि विज्ञको रुपमा नियुक्ति दिएका थिए । त्यसैगरी मुख्यमन्त्री केसीले आफ्नै छोरी मानवी केसीलाई दोभाषेको नियुक्ति दिएका थिए ।-बुटवल टुडे