ताजा अपडेट »

दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा

शनिबार, ०४ भदौ २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उनको छ ।

एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरिनुपर्छ ।

शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताएका हुन् । राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटक पटक दिनु हुँदैन उनले भने, “राजनीतिलाई दुश्मनीको रुपमा लिनेगरी अभिव्यक्ति दिनु हुन्न, दलहरुले आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गर्नुपर्छ, गालीगलौज होइन ।”

एकअर्काप्रति दुश्मनी साँध्नेगरी नेताहरुको अभिव्यक्ति आउनु गलत भएको पनि उनले चर्चा गरे । उनले भने , ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरिनुपर्छ । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ ।’

महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको बताए । जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याएँ ।