काठमाडौं । सरकारले सेनेटरी प्याडको कर नीतिमा गरेको बदमासीले व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेका छन् । विदेशबाट आयात हुने सेनेटरी प्याडमा ९० प्रतिशतसम्म छुट दिने तर, स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा कर वृद्धिले व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन् ।
अर्थविद चन्द्रमणि अधिकारीले चालु आर्थिक वर्षको बजेटले सेनेटरी प्याडमा नीतिगत भ्रष्टचार भएको बताए । उनकाअनुसार स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुको साटो आयातित वस्तुलाई प्रोत्साहन गरेको देखिन्छ । उक्त नीतिले गर्दा स्वदेशी उद्योग झनै संकटमा पुग्ने उनले उल्लेख गरे । कुनै एक व्यक्ति तथा समूहलाई फाइदा हुने गरी सरकारले ल्याएको भन्सार नीतिले स्वदेशी उद्योग तथा व्यवसायी बन्द हुने अवस्थामा पुगेको गुनासो आएको छ । नेपाल सेनेटरी प्याड उत्पादक संघको प्रथम अधिवेशनमा व्यवसायीहरूले सरकारको नीतिले उद्योग सञ्चालनमा समस्या भएको बताएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । तर, विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा ७.५ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्नै नसक्ने स्थिति आएको व्यवसायीहरूको भनाइ छ ।
संघका अध्यक्ष विश्व थापाले सरकारको नीतिले नै प्याड उद्योगमा आकर्षण भएको भए पनि अहिले सरकारकै नीतिले विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । प्याड उद्योगीहरूले रोजगारीसँगै विद्युतको उच्च खपत गर्दै आएको अवस्थामा उद्योग नै धारासायी हुने गरी बजेट ल्याएको बताए । सरकारले ल्याएको बजेटले अहिले ८ घण्टा पनि राम्रोसँग उद्योग नचलेको उनले दुखेसो पोखे ।
व्यवसायी मिरा लामिछानेले सरकारले ल्याएको बजटले स्वदेशी उद्योगीलाई निरूत्साहित गरेको बताइन् । सरकारले आयातित प्याडलाई भारी छुट दिँदा कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको व्यवसायीहरूले दिँदै आएको रोजगारीमा कटौती गरी उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् । ‘कुनै पनि उद्योगले विगतका दिनमा २० जनालाई रोजगारी दिँदै आएको छ भने अहिले ५ जनालाई पनि रोजगारी दिन नसक्ने अवस्थामा पुगेको छ,’ उनले भनिन् ।
त्यस्तै, रिजाल सेनेटरी प्याड उद्योगका अध्यक्ष विनेन्द्र रिजालले आयातित प्याडलाई प्रोत्साहन गर्दा स्वदेशी उद्योग समस्यामा परेको बताए । नेपालमा उत्पादन भएको प्याड गुणस्तरीय भएपनि बजारीकरणको समस्या छ । जसले गर्दा आयातित प्याडसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा प्याड आयातमा सरकारले प्रोत्साहन गर्दा स्वदेशी उद्योग झनै संकटतर्फ धकेलिएको छ । उद्योगी सज्जन कुमार श्रेष्ठले प्याड उत्पादन गर्न विभिन्न देशबाट महंगो तिरेर कच्चा पदार्थ आयात गर्नुपर्छ । उक्त आयातित कच्चा पदार्थबाट उत्पादित प्याडले विदेशी प्याडसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छ । तर, सरकारले स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने गरी भन्सार दर कायम गरेकाले समस्या निम्तिएको बताए । सरकारले चालु आर्थिक वर्षको बजेटले प्याड उद्योगलाई सहयोग नगरेको उनले जिकिर गरे ।
प्रतिक्रिया