ताजा अपडेट »

हाते ट्याक्टरतर्फ आकर्षित अर्घाखाँचीका कृषक

शुक्रबार, २० मंसिर २०७६

मंसिर २०,

सागर महत / ग्लोबल आवाज

अर्घाखाँची । खेत-बारी जोत्नको लागि गोरु पाल्दै आएका अर्घाखाँचीका कृषकहरु अहिले हाते ट्याक्टरतर्फ आकर्षित बनेका छन् । काममा छिटो छरितो हुने र गोरु पाल्ने खर्चले ट्याक्टरनै आउने भएपछि उनीहरु हाते ट्याक्टरतर्फ आकर्षित बनेका हुन् ।

गोरुमार्फत खेत जोत्दै आएका अर्घाखाँचीका कृषकहरु आजभोलि हाते ट्याक्टरको प्रयोग गरेर खेत-बारी खनजोत गरिरहेका छन् । जिल्लामा हाते ट्याक्टरको प्रयोग बढेपछि कृषहरुले गोरु पाल्नै छाडेका छन् । ठूला ट्याक्टर मोटर बाटो भएका खेत बारीमा पुग्ने र सानो हाते ट्याक्टर गुडाएर वा बोकेर जुनसुकै ठाउँमा लगेरे जोत्न सकिने सजिलो माध्यम बनेकाले सुविधातर्फ लागेको मालारानी गाउँपालिका ५ का कृषक नरबहादुर खड्का बताउँछन् ।

कृषि पेशालाई आधुनिकीकरण र व्यावसायिक बनाउन यो माध्यमको प्रयोगबाट सजिलो बनेको कृषकहरु बताउँछन् । कम खर्चिलो, समयको व्यवस्थापन, उत्पादनमा वृद्धि हुने भएकाले प्रदेश सरकारले करिव सय वटा हाते ट्याक्टर ८५ प्रतिशत अनुदान र कृषि जोन कार्यालय अर्घाखाँचीले ६८ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि जोन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्दी भट्टाईको भनाइ छ ।

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्न थालेपछि उनीहरुले हाते ट्याक्टरको प्रयोग बढाएका हुन् । गएको आर्थिक वर्षमा मालारानी गाउँपालिकाले ८० प्रतिशत अनुदानमा ४३ हाते ट्याक्टर वितरण गरेको थियो । यस्तै सन्धिखर्क नगरपालिकाले १२, पाणिनी गाँउपालिकाले २५ वटा हाते ट्याक्टर वितरण गरेको छ ।

जिल्लामा झण्डै खेत जोत्ने ठूला ट्याक्टर १५ तथा हाते ट्याक्टर तीन सयको हाराहारीमा रहेको जिल्ला कृषि विकास ज्ञान केन्द्रले जनाएको छ ।