ताजा अपडेट »

गणतन्त्र आज बदनाम भयो तिम्रो

शुक्रबार, ०३ भदौ २०७९

हेल्लो गणतन्त्र,
तिमी कता छौ ?
बाजागाजा, जन्तीको लावा–लस्कर
अहो बढो तामझामका साथ आयौ
मैले महशुस नगरेको होकी खै
तिमीले मलाई कस्तो गुन लायौ ।।

गरिब दुःखी उदासीका
आश बनेर आउली भनेको
तिमी त उनै मुकुट फेरेका
राजाको खास भइछौं ।
टाटी बारेका झुपरीमा आउली भनेको
दरबार अनि महलमै बास भइछौ ।
साच्चै गणतन्त्र तिमी
विचौलियाले फेर्ने शास भइछौ ।।

प्रिय हुन नसकेको गणतन्त्र
भनेको थिएं नि तिमीलाई
भोका नाङ्गाको रोजी–रोटी भएर आऊ
तर तिमी त दलालहरुको
धोती भएर आइछौ ।
किन आयौ तिमी यसरी
अचेल मलाई लाग्छ फिक्री ।
आफूलाई बिर्सिएर किन तिमी
सस्तो मूल्यमा भयौ बिक्री ।।

तिमी आएपछि त
मेरो संसारै बदलिन्छ भन्थे
तिमीलाई चिनाउने बुझाउनेहरुले
आंखा चिम्लिएर
तिमीलाई हाय भनेकै हो ।
तिम्रा लागि मूल बाटो
खनेकै पनि हो ।
बाटो बदलियो तिम्रो
मन बदलियो तिम्रो
हेर्दा हेर्दै आज भित्री रुपको
सत्य छचल्कियो तिम्रो ।
तिमीले भेउ पाइनौ की संगतमा
गणतन्त्र आज बदनाम भयो तिम्रो ।।

तिमीलाई सिडी बनाएर
माथि उक्लिए उनै
दिन्नन् टिक्न यहाँ
भएका राम्रा खाले ।
भाउ बिगार्ने नै
बजारमा बिक्न थाले ।
जसरी नि जित्न जिताउन उनैलाई पर्छ
भएका नभएका
जे बोले नी हुने ।
आफू बाहेक देख्नै नसक्ने
कोही शिखर छुने ।
मनले छान्न नपाउने,
तिनको जात जान्न नपाउने
सही गलत नछुट्याउने अरे
उनकै भुमरीमा आजसम्म
म पनि त परें ।
तिमी भयौ गणतन्त्र
जेलिएको फेरो
जे गरे नि आफ्ना राम्रा
दोषी नजर मेरो ।।

रुख देख्दा शित्तल बुझ्थें,
सूर्य देख्दा राप
चिनारी नि आफ्नै हुन्थे,
हुन्थे आफ्नै छाप ।
छाप एउटै काम एउटै,
एउटै नाम भए हुनी
मन मिलेसी माया प्रेम,
सधंैलाई लाए हुनी ?
छोटो छ की गणतन्त्र
झुटो तिम्रो मायां ।
विसादी यि मन रहुन्जेल
उस्तै घाम र छायाँ ।।

उनै मिल्दा म नि मिल्छु
मेरा वरपर ।
कहिले टुट्छन पानी बार्छु
सर्छु परपर ।
हुन्न रैछ यसो गर्न
बुझें बल्ल आज ।
हामीमाथी बुर्कुस मार्दै
गर्या रैछन राज ।
उनका कर्म हेरिकन,
छान्न पाउनु पर्छ ।
आदेश होईन तिम्रा गुनलाई
मान्न पाउनु पर्छ ।
कसलाई आफ्नो भनु अनि
कसलाई भनु अर्को
भुल्यो कि त ज्यान फालेको
एक आपसमा बच्न
कस्तो गर्जो पर्यो तिमलाई,
ओड्यौ एउटै बर्को ।।

माफ गर गणतन्त्र
तिमीले लगाइदिएको
दोषी चश्मा फुकालेर
यसपल्ट म मेरै आखाँले हेर्न चाहान्छु
थम्थमाउंदै लगाइदिएको
आश्वासनको जडउरी फेर्न चाहान्छु ।
ओतको नाममा वर्षात् नछेक्ने
थोत्रो छाता फालेर
पातलो वर्षादी बेर्न चाहान्छु ।।
मलाई माफ गर ल गणतन्त्र
दरार आउला बरु सहुँला
तिम्रो मेरो सम्बन्धमा
तर दवावमा होइन मेरो भविष्य
आफ्नै अक्षरमा केर्न चाहान्छु ।।