काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चिन्ह लिएर उठ्ने भएका छन्।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीकाे स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्याैँ ।’
भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे थप छलफल गर्ने तथा आफ्नो पार्टी सत्ता गठबन्धनमा समेत भएकाले गठबन्धनभित्र पनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको उनले बताए । उनीहरूकाे उम्मेदवारीबारेमा पनि गठबन्धनमा छलफल हुने उनकाे भनाइ छ । माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्नेछ ।
प्रतिक्रिया