ताजा अपडेट »

सेवा सुधार्दै तुल्सीपुर प्रादेशिक अस्पताल, आइसियु सञ्चालनको तयारीमा

विहीबार, १९ मंसिर २०७६

मंसिर १९,

सुमन के.सी/ ग्लोबल आवाज

तुलसीपुर । एक समय रेफर सेन्टरका रुपमा चिनिने तुल्सीपुरको राप्ती प्रादेशिक अस्पतालमा अहिले विरामीको संख्या तेब्बरले बृद्धि भएको छ । मुस्किलले दैनिक एक सयदेखि डेढसम्म विरामी आउने गरेको अस्पतालमा अहिले तिन सयदेखि चार सयसम्म विरामी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले यसैवर्षभित्र एनआइसियु र आइसियु सेवा सञ्चालनको तयारी समेत गरेको जनाएको छ ।

पछिल्लो एक वर्षको अवधीमा अस्पतालबाट सेवा लिनेको संख्या दिनहुँ तिन गुणा बृद्धि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर प्रताप पोख्रेलले जानकारी दिएका छन् । अस्पतालमा स्त्री रोग,हाडजोर्नी, दन्तरोग,एनेस्थेसिया, जनरल सर्जन, छाला रोग, फिजिसियनका सार्थ मेडिकल अफिसर सहित गरेर २१ जना विशेषज्ञ सहितका डाक्टर रहेको पनि डाक्टर पोख्रेलले वताए । उनका अनुसार अहिले अस्पतालबाट राम्रो सेवा प्रदान भईरहेकाले विरामी संख्या बढेको हो । तत्कालिन राप्ती अञ्चल अस्पताल रहेकोमा अहिले प्रदेश ५ सरकार मातहत चल्ने गरी प्रादेशिक अस्पताल बनेकोे छ । जसले गर्दा पनि जनताको विश्वास बढ्ने गरेको उनको भनाई छ । नाम फेरिएसंगै विरामीको चाप बढेपनि जनशक्ति थप नहुदा सम्पुर्ण सेवा दिन मुस्किल परेको उनले बताएका छन् ।

जनशक्ति अभावका बावजुद पनि अहिले अस्पतालबाट ओपिडि सेवा, ईमरजेन्सी सेवा , डाईलासीस सेवा, ल्याव सेवा, भिडियो एक्सरे, ईण्डोर,डेन्टल, चौविसै घण्टा प्रसुती सेवा, अप्रेसन जस्ता सेवा दिदै आएको डाक्टर पोख्रलले जानकारी दिएका छन् । यस्तैगरी विभिन्न प्रकृतिका क्षयरोग, दम, दीर्घरोग जस्ता विरामीहरुलाई निशुल्क औषधी उपलब्ध लगाएतका सेवा दिदै आएको उनको भनाई छ ।यस अघि पश्चिम दाङ,सल्यान,रुकुम र रोल्पा लगाएतका विरामीहरुले अस्पतालमा सेवा लिन आउने गरेका थिए ।दतर पछिल्लो समयमा घोराही क्षेत्रबाट समेत विरामी आउने गरेको उनले बताएका छन् । ‘प्रसुति सेवा लिन घोराहीबाट धेरै आउने गरेका छन् ’ डा. पोख्रेलले वताए ।

विगतमा थोरै विरामी आउँदा पनि अस्पतालमा भएको जनशक्ति वृद्धि नभएको डाक्टर पोख्रेलले वताए । ‘अहिले विरामीको संख्या दैनिक तेब्बरले बृद्धि हुदा पनि जनशक्ति उही छ अनि कसरी हामीले विरामीलाई आबश्यकता अनुसार भरपर्दो सेवा दिन सक्छौ ?’ उनले भने । डाक्टर विरामीलाई सेवा दिन खोजे पनि विरामीलाई सहयोग गर्ने नर्स र कर्मचारी नभएपछि डाक्टर आफैले सवै काम गर्नुपरेको पनि उनको भनाई छ । यद्यपी अस्पतालमा भएको श्रोत साधन र जनशक्तिलाई सहि सदुपयोग गरी जनताले विश्वास गर्ने गरी सेवा दिदै आएको उनको भनाई छ ।

कति जनशक्ति आवश्यक छ ?

राप्ती प्रादेशिक अस्पतालमा अझै चार दर्जन जनशक्तिको खाँचो रहेको छ । अस्पतालमा ३० जना नर्स र १५ जना कार्यालय सहयोगीको आबश्यक परेको डाक्टर पोख्रेलले बताएका छन् । प्रसुती सेवा कक्षमा कर्मचारीको अभाव हुदा सोचे जस्तो सरसफाई हुन सकेको छैन । त्यस्तैगरी अन्य सेवा र कक्षमा सरसफाईको अभाव रहेको छ । डाक्टरले सेवा दिन खोजे पनि सहयोग गर्ने नर्सको अभाव हुदाँ विरामीलाई उचित सेवा दिन नसकिएको उनको भनाई छ । विरामी धेरै आएपछि विरामीको लागि बेड हुदैन, प्राविधिकहरु बस्नको लागि छुट्टै कोठा नहुदा समस्या भएको उनले बताएका छन् । त्यस्तैगरी भवनको समेत अभाव भएको छ । विरामीको संख्या बढेसंगै विरामी बस्ने बेडको समेत अभाव भएको बताईएको छ ।

जनशक्ति भए आधारभुत आईसियु सेवा दिन्छौ

अस्पतालमा आईसियु सेवा नहुदा जटिल प्रकृतिका विरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनको भनाई छ । आधारभुत आईसियु सन्चालनको लागि खरिद गरिएको उपकरण जनशक्तिको अभावमा बषौदेखि त्यसै थन्किएको डाक्टर पोख्रेलले बताएका छन् । ‘उपकरण छ तर प्रयोग गर्दिने कर्मचारी नभएर प्रयोगविहिन बनेको छ’ उनले भने ‘जनशक्ति भएमा विरामी जिल्ला बाहिर जानु पदैनथ्यो । ’आधारभुत आईसियु सन्चालन हुन सकेमा अस्पतालबाटै सर्पदंंशको उपचार,विषादी सेवनको उपचार र सबै खाले अप्रेशनको सेवा उपलब्ध हुने उनको भनाई छ ।

चौविस घण्टा सम्म आईसियुमा राखेपछि धेरै जसो बिरामीको ज्यान बाँच्न सक्ने भएकाले आईसियु र एनआईसियुको अति आबश्यक रहेको उनले वताए । प्रदेश सरकारले. एनआईसियु कक्ष निर्माणका लागि वजेट विनियोजन गरेको र यो वर्ष नै भवन निर्माणको काम अगाडि वढ्ने उनले वताए । ‘हामीले तिन चार महिनामै निर्माण हुने खालको घर वनाउने योजना गरेका छौ’ डा. पोख्रेलको भनाई छ ।

जिल्लामै छैन आईसियु सेवा

दाङ्गमा अहिलेसम्म एउटा पनि आईसियु छैन । शिशुका लागि निजिस्तरमा एनआईसीयु सेवा भएपनि अन्य उमेर समुहका मानिसका लागि आईसियु सुविधा नहुदा जिल्लाका विरामी बाहिर जान बाध्य भएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आवश्यक कर्मचारीका लागि तुलसीपुर उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।

काज र करार डाक्टर मार्फत सेवा

अस्पतालमा डाक्टरको अभाव भएपछि अहिले प्रदेश र संघबाट काज र करारमा डाक्टर खटाएर काम भईरहेको अस्पताल प्रशासनले बताएको छ । जनशक्ति अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले केहि कर्मचारी अस्थायी रुपमा पठाएको बताईएको छ ।
यस्तै अस्पतालमा विगत लामो समयदेखी बालरोग विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरु अन्यत्र जान बाध्य भएका छन् । सामान्य प्रकारको बाल सेवा दिए पनि जटिल प्रकृतिको विरामीलाई सेवा दिन नसकिएको अस्पतालको भनाई छ ।

प्रादेशिक अस्पताललाई थप व्यवस्थित वनाउँछौ: नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रादेशिक अस्पतालमा रहेको जनशक्ति अभावको कुरालाई तत्काल पुरा गर्ने वताएका छन् । प्रदेश सरकारसँगको सहकार्यमा अस्पताललाई भौतिक संरचनाका साथै उपकरणले पूर्ण वनाएको वताउँछै डाक्टरको व्यवस्थापनका लागि उपमहानगरपालिकाका तर्फबाट पनि विशेषे सहयोग गर्ने वताए । ‘हामीकहाँ आउनुभएका नर्स र अहेवलाई तत्कालै त्यहाँ पठाउने तयारी गर्छाै’ उनले भने । जिल्लाको एकमात्र ठूलो सरकारी अस्पताल भएकाले पछिल्लो समय भिड वढ्दै गएको पनि उनको भनाई थियो ।