ताजा अपडेट »

सैनामैना बोलबम धाममा एकमहिने निःशुल्क स्वास्थ्य शिविर सकियो, ६ हजार बढीले लिए सेवा

सोमबार, ३० साउन २०७९

बुटवल । सैनामैनामा सञ्चालित एकमहिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरबाट ६५४३ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।

रोट्रयाक्ट क्लब अफ कोटिहवा, युथ फर नेशन र जेसिआई सैनामैनाको संयुक्त आयोजनामा सो शिविर समपन्न भएको हो । स्वास्थ्य क्षेत्रमा देखिने समस्यालाई मध्यनजर गरि सो क्षेत्रका नागरिकका लागि सो शिविर सञ्चालन गरिएको रोट्रयाक्ट क्लब अफ कोटिहवाका अध्यक्ष अमन थापा मल्लले जानकारी दिए ।

सैनामैना नगरपालिकाको दुर्गम क्षेत्रमा रहेका र आर्थिक अवस्था कमजोर भएका नागरिकहरूले स्वास्थलाभ गरून् भन्ने उद्देश्यले सो क्षेत्रलाई रोजिएको युथ फर नेशनका अध्यक्ष निकोलश भुसालले बताए ।

सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा भएको सो शिविरमा विभिन्न रोगहरूको निःशुल्क परिक्षण गरिएको जेसिआई सैनामैनाका अध्यक्ष रामचन्द्र ढकालले जानकारी दिए । सो शिविरमा थाइराइड , मधुमेह , प्रेशर , छालासम्बन्धि रोगहरू , नाक कान , घोडा दुखाई , दन्त रोग लगायतका रोगहरूको निशुल्क परिक्षण गरि औषधि वितरण गरिएको थियो ।

साथै आज नै तिलोत्तमा १६ कोटिहवास्थित कोटहिमाई मिसुजु सेकेण्डरी स्कुलमा वृक्षारोपण गरिएको आयोजकले जानकारी दिएको छ ।