भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीमा विवाद सिर्जना भएको छ । पार्टी निर्णयका बारेमा आ-आफ्नो दाबी प्रस्तुत गर्दै नेताहरु दुई खेमामा विभाजित भएका हुन् । यसैबीच जसपा रुपन्देहीद्वारा गठित संगठन अभियान समितिको शनिबार भैरहवामा बसेको बैठकले पार्टीको संगठनलाई मजबुत बनाउनका लागि जिल्ला कार्यसमिति विघटन गरी पुनःगठन गर्ने निर्णय गरेको जनाएको छ ।
समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले जसपा रुपन्देहीको संयोजकमा ओमप्रकाश यादव (गुल्जारी) लाई चयन गरेको छ । त्यस्तै यथाशिघ्र जिल्लाको भेला गरी जिल्ला कार्यसमिति पुर्नगठन गर्ने निर्णय गरिएको संयोजक गुल्जारीले जानकारी दिए । त्यसै गरी पार्टीको भातृ संगठनहरुको जिल्लाभरीका प्रत्येक पालिकाको वडादेखि भेला तथा पालिका र जिल्लासम्म संगठन पुर्नगठन गर्ने निर्णय गरिएको उनले बताए ।
गएको स्थानीय तहको निर्वाचनमा जिल्ला कार्यसमितिका अध्यक्ष रामअवतार यादवको असमक्षताको कारणले पार्टीले जिल्लामा ठूलो क्षति व्यहोरेको हुनाले पार्टीको संगठनलाई मजबुत बनाउनको लागि जिल्ला कार्यसमिति विघटन गरी पुनर्गठन गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ ।
यता जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले भने जिल्ला कार्यसमिति विघटन नगरिएको दाबी गरे । उनले भने, ‘जिल्ला कार्यसमिति हुँदाहुँदै अर्को समिति गठन गर्ने कुरा कसरी आयो ? जिल्लामा केही दिनअघि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आउँदा मौखिक रुपमा केन्द्रीय सदस्यहरुले जिल्ला अध्यक्षसँग समन्वय गरेर कार्यक्रम गर्ने कुरा भएको थियो ।’ उनले जिल्ला कार्यसमिति विघटन भएको कुरामा कुनै आधिकारिकता नरहेको बताए । केन्द्र तथा प्रदेश समितिबाट जिल्ला कार्यसमिति विघटन गरिएको कुनै आधिकारिक पत्र प्राप्त नभएको उनको भनाइ छ । कुनै पनि वैधानिक र संस्थागत निर्णय नभएकाले जिल्ला समिति यथावत रहेको यादले बताए ।
जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले पार्टीका केन्द्रीय सदस्यहरुलाई पार्टीको संगठन विस्तारको जिम्मेवारी दिइएको बताए । तर यसरी सबैको सहमति बिना दुई चार जना केन्द्रीय सदस्य बसेर पार्टी खल्बल्याउने जिम्मेवारी नभएको उनले बताए ।
यस्तो छ गुल्जारी समूहको निर्णय पुस्तिका
प्रतिक्रिया