ताजा अपडेट »

रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण

विहीबार, २६ साउन २०७९

भैरहवा । के तपाईले तिव्र गतिमा सवारी कुदाउनु गर्ने भएको छ ? सवारी चलाउदा ६० किलोमिटर प्रतिघण्टाको गति भन्दा बढी गतिमा कुदाए तपाईलाई ज्यानको जोखिम हुन्छ नै यो भन्नै पर्दैन । तर ज्यान जान जोगिए पनि तिव्र गतिमा कुदाए तपाई जरिवानाबाट जोगिन सक्नु हुन्न । तिव्र गतिमा सवारी चलाउनेहरुका लागि अहिले जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले धराप नै थापेको छ । बिभिन्न बहाना गरेर जरिवानाबाट जोगिन खोज्नेहरुको लागि यो धरापले प्रमाण पनि दिने गरेको छ ।

ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन” ले तिव्रगतिमा हुईकिने सवारी साधनलाई ठाउँका ठाउँ कारवाही गर्न थालेको छ । करिब १ किलोमिटर परबाट नै तिव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ । राडार गनले तिव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेट सहितको फोटो खिचेर यसको गतिसहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागी सवारी धनिले लैजान सक्ने ब्यवस्था रहेको छ ।

सडक बिभागको मापदण्ड अनुसार राजमार्गमा अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवाी साधन चलाउन पाईन्छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई प्रहरीले कार्यवाही अभियान नै चलाएको छ । जिल्लामा हुने दुर्घटना मध्ये सबै भन्दा बढी तिव्र गतिको कारण हुने भएकोले तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख केशव केसीले जानकारी दिए । “जिल्लामा भएको दुर्घटनाको करिब ९० प्रतिशत दुर्घटना तिव्रगतिकै कारण भएको देखिएको छ ।” ट्राफिक प्रहरी निरिक्षक केसीले भने “तिव्रगतिका कारण हुने दुर्घटना कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर गरेको छलफल पछि प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट यो राडार गन माग गरिएको हो ।”

अभियान लागु गर्नु पूर्व स्थानिय सञ्चारमाध्यमहरु बाट यस बारे जानकारी गराईएको उनले बताए । अहिलेलाई सचेत गराउनका लागी ५ सय रुपैया मात्र जरिवाना काट्ने गरेको केसीले बताए । उनले यसलाई पनि अटेर गरि तिव्र गतिमा सवारी हाँके यो जरिवाना बढाउदै लैजाने बताए । साउन २४ गते देखी सुरु गरिएको अभियानको पहिलो दिन ३२ जना, दोश्रो दिन ३८ जना र तेश्रो दिन २६ गते ४९ जनालाई तिव्रगति चलाएको कारण कार्यवाही स्वरुप जरिवाना गरिएको केसीले जनाए । रुपन्देहीमा गत आर्थिक बर्षमा १ सय ७२ वटा दुर्घटना मध्ये १ सय ५२ वटा दुर्घटनाहरु तिव्र गतिकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यसले तिव्र गतिमा सवारी चालकलाई मात्र हैन अन्य चालक, पैदलयात्री लगायतलाई पनि जोखिम भएकोले तिव्रगतिमा सवारी नचलाउन प्रहरीले अपिल गरेको छ ।

प्रहरीको यो कार्यलाई चालकहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन् । तिव्र गतिकै कारण जरिवानामा परेका गुल्मीका दिपक पोखरेलले आफ्न जिउ ज्यानको सुरक्षाको लागी ट्राफिक खटिएको बताउदै यसको प्रंशसा गरे । “ट्राफिक प्रहरीले यतिको प्रयास गर्दा पनि हामी अझै सचेत हुन सकिरहेका छैनौं, गल्ति हाम्रै हो ।” पोखरेलले भने “अहिले प्रहरीको यो अभियान सकारात्मक छ, यसले हामै्र सुरक्षा हुने हो, तर यसलाई निरन्तरता भने दिनु आवश्यक छ ।”