ताजा अपडेट »

सर्वोच्चको आदेशमाथि बालेनको टिप्पणी : 'नक्सा पास गर्ने अधिकार अदालतलाई नै दिऊँ'

विहीबार, २६ साउन २०७९

बुटवल । नर्भिक अस्पताललाई काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटमपछि सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेशप्रति मेयर बालेन शाहले टिप्पणी जनाएका छन् ।  सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-'नक्सा पास गर्ने अधिकार अदालतलाई नै दिऊँ'

नर्भिकले 'नियमविपरीत' संरचना बनाएको भन्दै २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरले गत सोमबार निर्देशन दिएको थियो। त्यसविरूद्ध नर्भिकले मंगलबार दिएको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दियो।

सर्वोच्चको आदेश सार्वजनिक भएलगत्तै काठमाडौंका मेयर शाहले बुधाबार राति साढे ८ बजेतिर आफ्नो फेसबुक पेजमा टिप्पणी लेखेका हुन्। 'नक्सा पास नगरी बनाएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं,' मेयर शाहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्।

सर्वोच्च अदालतले यस विषयमा छलफल गर्न आउँदो सोमबार दुवै पक्षलाई बोलाएको छ। दुवै पक्षको बहस सुनेपछि यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने अर्को आदेश हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन्। कुनै पनि विषयमा रिट पर्दा इजलासले दुवै पक्षलाई बहसमा बोलाउनु र त्यतिञ्जेल निर्णय कार्यान्वयन नगर्नू भनी अल्पकालीन आदेश दिनु सामान्य कानुनी प्रक्रिया हो।

काठमाडौं महानगरको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफलको जग्गा नर्भिकले भाडामा लिएको थियो। उक्त जग्गामा नियमविपरीत संरचना बनाएको भन्दै महानगरले २४ घन्टाभित्र भत्काउन अल्टिमेटम दिएको हो।