ताजा अपडेट »

तराइमा भू–संरक्षणका अवरोधहरु

बुधबार, २५ साउन २०७९

सबै किसिमको जमिनको आ–आफ्नै महत्व रहेपनि उर्वरा जमिनलाई प्राकृतिक–आर्थिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । खेतीपाती, वन विकास, जलाधारको जगेर्ना तथा भू–सतहलाई जीवन्त राख्नको लागि उर्वरा जमिन अत्यावश्यक मानिन्छ । नेपालको कूल क्षेत्रफल मध्ये करिब २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन रहेको छ ।

खेतीयोग्य जमिनको अधिकांश भाग तराइमा रहेको छ भने केहि भाग पहाडका उपत्यका र नदि तटीय बेंसीमा रहेको छ । नेपालको २३ प्रतिशत भूभाग ओगटेको तरार्ई (भित्रि मधेश समेत ) लाई नेपालको अन्न भण्डार भनिन्छ । मुलुकको अन्न उत्पादनमा ६० प्रतिशत भन्दा बढीको योगदान भएको तथा नेपालको कुलखेती योग्य जमिन मध्ये ५५ प्रतिशत हिस्सा ओगटेको तराइलाई मलिला खेतहरु , घासे मैदान र घना जंगलले विशिष्टता प्रदान गरेको छ ।

नेपालको अन्न भण्डार भनिने र धेरै वन जंगल भएको तराइको भूमि अहिले असुरक्षित बन्दै गएको छ । प्राकृतिक र मानवीय कारणले निम्तिएका भूक्षयका घटनाहरुले तराइको भूमिलाई कमजोर बनाइरहेका छन र उत्पादनशील तरार्ईको भूभाग खुम्चदै गएको छ । राष्ट्रिय कृषि गणना २०६८ का अनुसार विगतमा खेतीपाती भैरहेको तराइको ३४ हजार ३९४ हेक्टर जमिन अहिले विभिन्न किसिमका विनासका चपेटामा परेर अनुत्पादक बनिसकेको छ ।

अहिले तरार्ईको उर्वर भूमिमा नदि कटान र निक्षेपण,चुरे विनास र अव्यवस्थीत शहरीकरण तथा औद्योगीकरण तीनवटा कारणबाट क्षति भैरहेको छ । हिमाल र पहाडबाट बगेर आएका ठूला नदिहरु तरार्ईमा आउदा निरन्तर धार परिवर्तन गर्ने र धार परिवर्तनसंगै छेउछाउको क्षेत्र कटान गरेर बगर बनाउने अनि टाढाटाढासम्म बालुवा थुपार्ने गर्नाले कोशी, कमला, बाग्मती, नारायणी, राप्ती, बबई, कर्णाली र महाकाली नदि छेउछाउको जमिन बढी जोखिममा परेको छ ।

हरेक वर्षायाममा ती नदि छेउछाउ बाढी आउने र डुबान तथा कटानमा परेर खेतीयोग्य जामिन विनाश भएको टुलुटुलु हेर्न थालेको धेरै भैसकेको छ । ठूला नदीहरुले जस्तै महाभारत र चुरे क्षेत्रबाट उत्पन्न भएका साना तथा मझौला खोलाहरुले तराइमा बढी विनाश गरेको पाइन्छ । मेचीदेखि महाकाली सम्म सरदर ५ किमी दुरीमा यस्ता खोलाहरु रहेका छन् । पछिल्लो समयमा तरार्ईमा यस्ता खोलाहरुलाई खुम्च्याईएको छ । नदि किनार अतिक्रमण गरेर वस्ती विस्तार गर्ने काम निकै फस्टाएको छ । खोलाहरु स्वतन्त्र रुपमा बग्न नपाउँदा सानो पानी पर्ने वित्तिकै पनि यस्ता खोलाले विनाशको रुप धारण गर्ने देखिएको छ ।

सम्पूर्ण तरार्ई क्षेत्रको उत्तरमा (केहि ठाउँको बीच–बीचमा पनि ) चुरे पर्वत शृंखला रहेको छ । यो क्षेत्र पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ जिल्लामा फैलिएको र नेपालको कुल भू–भागको १२.७८ प्रतिसत क्षेत्र ओगटेको छ । निकै कमजोर भूबनोट रहेको चुरे क्षेत्रमा पछिल्लो ५० वर्ष यता वन विनाश, खोरिया फंडानी , गिट्टी बालुवाको उत्खनन जस्ता कार्यमा निकै तिब्रता आएको छ । यस्ता कार्यले चुरे क्षेत्रमा भूक्षयका घटनामाा वृद्धि भएको छ । चुरे क्षेत्र उजाडिदै र नांगिदै जँदा त्यसको प्रत्यक्ष असर तरार्ईमा परेको छ । चुरेको भू–स्खलनले गर्दा खहरे खोलाहरु पुरिने क्रम बढेको मात्र छैन चुरे नजिकका तरार्ईका खेतबारी र वन क्षेत्र बलौटे जमिनमा परिवर्तन भैरहेका छन् ।

पछिल्लो दशकमा तराइको भू-उपयोगमा अस्वभाविक परिवर्तन आएको छ । खेतीयोग्य जमिनहरु प्लटिङ भएर सकिदै छन् । पुराना कुलो र नहरहरू प्रदुषित भएकोले पुरिदै र साघुरिदै गएका छन, जसको प्रत्यक्ष असर यहाँको जमिनमा परेको छ । तराइका खेतहरुमा प्लास्टिक, काँच, धातुजन्य फोहरमैला र रासायनिक पदार्थको मात्र बढिरहेको छ ।

वन क्षेत्रमा बारम्बार डढेलो लगाउने र शहर नजिकका वनमा फोहर फाल्ने क्रम पनि निकै बढेको छ । खेतबारी र वन जंगल जताततै वनमारा जस्ता शत्रु वनस्पतिहरु बढेकोले जमिनको उर्वराशक्ति घट्दै गएको छ । पहिलेका कृषिभूमि मासिँदै गएकोले बचेका खेतबारीबाट बढी उत्पादन लिनको लागि खेतबारीमा धेरै रासायनिक मल र विषादीको प्रयोग बढिरहेको छ ।

प्राकृतिक र मानव सिर्जित भूक्षयका गतिविधिहरुको कारणले तरार्ईको जमिनको उर्वराशक्ति र भूस्वरुप दुबैमा परिवर्तन आएको छ । चुरे विनास , नदि कटान र बालुवा निक्षेपणको कारणले गर्दा तराइमा सुख्खा क्षेत्रहरुको क्षेत्रफल वर्सेनी बढिरहेको छ । तराइमा भूमिगत पानीको सतह गहिरिदै गएको छ । यहाका खोला र घोलाहरुमा पानीको मात्रा घटिरहेको मात्र छैन यहाका तालतलैयाहरु विस्तारै सुक्दै गएका छन ।

वन क्षेत्रमा बढिरहेको भूक्षय र निक्षेपण तथा प्रदुषणले गर्दा वनस्पतिको पुनरुत्थानमा प्रतिकुल असर परिरहेको छ । एकातर्फ चुरे र पहाडी क्षेत्रमा बढिरहेको भूस्खलनले तरार्ईलाई बलौटे मरुभूमि बनाउने संकेत देखिएको छ भने अर्का तर्फ दक्षिणी सिमा क्षेत्रमा भारतले बनाएका बाँधहरुको कारणले ठूलो क्षेत्र जलमग्न हुने गरेको छ । वर्षेनी दोहोरीइरहेका डुबानका यस्ता घटनाहरुले तराईको भूमिलाई अनुत्पादक बनाइरहेको छ ।

तरार्ई वातावरणीय र आर्थिक दृष्टिले निकै महत्वपूर्ण क्षेत्र हो । तराइको भूमि विनासबाट खाद्यान्नमा मात्र असर नपरी परिस्थितीक प्रणालीको सन्तुलन, सिंचाई, खानेपानी तथा जैविक विविधताको संरक्षण जस्ता क्षेत्रमा समेत असर पर्न थालेको छ । अहिले खाद्यान्न उत्पादनमा कमि र भूमिगत पानीको उपलब्धतामा कठिनाइ जस्ता प्रत्यक्ष समस्या मात्र हामीहरुले महसुस गरिरहेका छौं तर अब पनि तरार्ईको उर्वरा भूमिलाई जोगाउन प्रयास नगर्ने हो भने देशले ठूलो आर्थिक , सामाजिक र पर्यावरणीय नोक्सानी बेहोर्नुपर्ने निश्चित छ । तराइको भूमिको प्रत्यक्ष सम्बन्ध चुरे र पहाडी क्षेत्रसंग रहेकोले तराई जोगाउन यी क्षेत्रमा भैरहेको वन विनास र भूस्खलनलाई रोक्नु जरुरि छ ।

चुरे क्षेत्रको उचित संरक्षणको कार्यलाई परिष्कृत र परिणाममुखी बनाउन माथिल्लो र तल्लो तटीय समुदाय एवम् सरोकारवालाबीच अन्तर्सम्बन्ध हुने गरी नदी प्रणालीमा आधारित एकीकृत संरक्षणको कार्यलाई समन्वयात्मक रूपमा सञ्चालन गर्ने र तरार्ईमा बग्ने नदीनालाहरुलाई प्राकृतिक अवस्था मै बग्न दिने र खेतीयोग्य जमिनलाई प्रदुषण तथा डुबानमुक्त राख्न सकेमा तरार्ईको उर्वर भूमिलाई जोगाउन सकिन्छ । तराइमा भैरहेको जमिनको खण्डीकरण र अव्यवस्थित शहरीकरणले पनि भूसंरक्षणमा चूनौती थपेकोले राष्ट्रिय भूउपयोग नीतिलाई कडाइपूर्वक लागू गर्नुपर्छ । यस्ता कार्य गर्न सकेमा नेपालको अन्न भण्डारमा भैरहेको भूविनाशलाई अवस्य पनि रोक्न सकिन्छ । [email protected]