ताजा अपडेट »

पावर लिफ्टिङ्गकाे उपाधि बलराम र मन्जितालाई

आइतबार, १५ साउन २०७९


बुटवल । रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजनामा भएको रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगिता शनिबार बुटवलमा सम्पन्न भएको छ।

रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालकाे प्रमुख आतिथ्यता तथा रूपन्देही पावरलिफ्टिङ्ग संघको अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको थियो । उक्त प्रतियोगितामा पुरुष तर्फ ६५ केजी भन्दा कम वजन समुहबाट विजेता बनेका राेयल आईरन जिमका बलराम डुम्रे अलओभर च्याम्पियन बने भने महिला तर्फ ५७ केजी भन्दा कम बजन समुहबाट विजेता बनेकी निबाेध एराेबिक एण्ड जिमका मन्जिता राजभण्डारीले बलिष्ठ महिलाको उपाधि जित्न सफल भएकी थिइन् ।

शुक्रबार भएको छनाैट चरण पार गर्दै प्रतियोगितामा ३० जना खेलाडी फाइनलमा प्रवेश गरेका थिए । दुवै विजेताहरुले मेडल, ट्रफी, व्यानेटसँगै जनही दस हजार नगद समेत प्राप्त गरेका थिए। साे प्रतियोगिताका निर्णय निर्णायकहरु क्रमशः बुद्धिजंग कार्की, शिवध्वज राई, राजकुमार श्रेष्ठ, ज्ञान नारायण महर्जन, प्रकाश केशीले गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल पावर लिफ्टिङ्ग संघका महासचिव शुक्रराज प्याकुरेल, संस्थाका केन्द्रीय सदस्य उत्सव अधिकारी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा न १३ का वार्ड अध्यक्ष नारायण पुन समेतकाे उपस्थिति रहेको थियो । साे कार्यक्रमकाे संचालन रुपन्देही जिल्ला व्यायाम तथा फिटनेस व्यवसायी संघका अध्यक्ष विजेन्द्रमान श्रेष्ठले गरेका थिए