बुटवल । रुपन्देहीको तिलोत्तमा–१ ड्राइभरटोलकी अन्जु थापा जिसीले विगत ४ वर्षदेखि वातावरण मैत्री (कपडाको) सेनेटरी प्याड उत्पादन गर्दै आएकी छन् । बैंकको जागिर छाडेर प्याड उत्पादनमा लागेकी अन्जुले आफूसँगै अन्य ४ महिला दिदीबैनीहरुलाई समेत रोजगारी प्रदान गरेकी छन् । उनले सञ्चालन गरेको प्याड उत्पादन झट्ट सुन्दा सामान्य लागेपनि यस उद्योगको विशेषता भने फरक छ ।
बजारमा आउने प्लाष्टिकका प्याडलाई विस्थापित गर्न सकिनेगरी उनले कपडाको प्याठ उत्पादन थालेकी हुन् । पुनः प्रयोग गर्न मिल्ने तथा प्रयोगपछि फाले पनि सजिलै माटोमा कुहीएर जानेहुँदा उनले उत्पादन गरेका प्याडहरु वातावरण मैत्री भएको उनले दाबी गर्छिन् । धोएर पुनः प्रयोग गर्न सकिने भएकाले पैसाको समेत बचत गर्न सकिने उनले बताउँछिन् । महिलाका लागि सेनेटरी प्याडसँगै बालबालिकाहरुका लागि विभिन्न साइजका प्याड तथा बच्चालाई जन्मेदेखि हुर्कीँदासम्म आवश्यक पर्ने कपडा (सुत्केरी सेट) उत्पादन गर्ने गरेकी छन् ।
बैंकमा जागिर गरेकी अन्जुलाई स्वरोजगार तथा उद्यमी बन्नका लागि उनका श्रीमानले सहयोग गरेका हुन् । ६ वर्षअघि वैदेशिक रोजगारमा रहेका श्रीमान प्रकाश जिसीले अन्जुलाई सुनाएको योजनाले हालसम्म सफलता प्राप्त भैरहेको उनले बताछिन् । अन्जुसँगै श्रीमान प्रकाशले समेत बजारीकरण तथा नयाँ–नयाँ व्यवसायीक योजनाका लागि सहयोग गर्दै आएका छन् । प्याड उत्पादन गरेर मासिक ३ देखि ४ लाखसम्मको आर्थिक कारोबर गर्ने यो जोडिले यसको फाइदाका बारेमा भेटेजतीलाई जानकारी गराउने गरेका छन् ।
बैंकको जागिर गर्दागर्दा पहिलो सन्तानलाई जन्म दिएकी अन्जुलाई बच्चाको स्यारका लागि २ वर्षसम्म घरमै बस्नु पर्ने भयो । उक्त सयममा बच्चा तथा उनले प्रयोग गर्ने प्याडले एलर्जी लगायतका समस्या देखापरेपछि उनीहरुले नयाँ युक्ति बारे सोचेका हुन् । प्यास्टिकका प्याडमा प्रयोग गरिने विभिन्न केमिकल लगायतका कारण आफू जस्तै कतिपय महिलाहरुको स्वास्थ्यमा देखिने समस्याको विकल्प सोच्ने क्रममा उनीहरुले ल्याएको नयाँ उपायले व्यवसायीक सफलता प्राप्त गर्दै गएको छ । बच्चाको स्याहार गर्न २ वर्ष घरमै बसेकी अन्जु पुनः बैंकमै जागिर गर्न फर्किने सोच त्यागेर प्याड उत्पादनमा लागेकी हुन् ।
भारत तथा चिनबाट समेत किटाणु रहित कपडा मगाएर नयाँ उद्यम सुरु गरेकी अन्जुलाई सफल नहुने डर उत्तिकै थियो । मुस्किलले गरेको लगानी बालुवामा पानी हुने डर हुँदाहुँदै पनि श्रीमानले दिएको हौसला र नयाँ–नयाँ योजनाले उनलाई थप प्रेरित गर्यो । श्रीमानकै सल्लाह अनुसार अन्जु प्याड डटकम वेब साइट खोलेर अनलाइन मार्केटिङ मसेत गर्दै आएकी अन्जुले हाल कणाली तथा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा पठाउने गरेकी छन् । दैनिक ५ सय प्याड उत्पादन गर्ने उनलाई हालसम्म बजारको कुनै समस्या परेको छैन । विभिन्न गैरसरकारी संस्थाहरुसँग समन्वय गरी उनले आफ्नो उत्पादन बजारमा पुर्याउने गरेकी छन् ।
वातावरण मैत्री हुनुका साथै पुनः प्रयोग गर्न मिल्ने भएकाले आर्थिक रुपले समेत सस्तो पर्नेहुँदा माग बढ्दै गएको अन्जुको दाबी छ । गाउँ तथा शहरलाई प्याष्टिक मुक्त बनाउने अभियानहरु चलिरहेका बेला उनले उत्पादन गर्ने कपडाको प्याड प्रयोगलाई सरकार, सामाजिक संघ–संस्था तथा आम नागरिकहरुले समेत जोड दिनु पर्ने उनले बताछिन् । एक पटक किनेको प्याडलाई राम्रोसँग निर्मलीकरण गरी ३ वर्षसम्म प्रयोग गर्न सकिने भएकाले आर्थिक रुपमा समेत बचत हुने उनको भनाई छ ।
सानो लगानीबाट उद्यम सुरु गरेकी अन्जुले महिला उद्यम कार्यक्रमबाट १५ लाख ऋण लिएर लगानी थप गरेकी छन् । करिब ४० लाख लागतमा उद्योग सञ्चालन गर्दै आएकी उनले अन्य महिलाहरुलाई समेत रोजगार दिन पाउनु आनन्द महशुस हुने बताइन् । विदेशमा रहेका नेपालीहरुले समेत उनको उत्पादनलाई मन पराएर माग बढ्दो रहेको उनले बताउछिन् । यसको महत्व र फाइदाका बारेमा सबैलाई जानकारी हुन सकेमा यस्ता खालका उद्योग तथा प्रयोगकर्ताहरुको वृद्धि हुन सकने उनले बताउछिन् । सयदेखि ५ सय रुपैयाँसम्म पर्ने विभिन्न स्तरका प्याड उत्पादन गर्दै आएकी अन्जुले अत्याधुनिक मेशिन जडान गर्न सक्ने हो भने उत्पादन लागत कम भएर मूल्य पनि सस्तो पर्न सक्ने बताउछिन् । विदेशी मुलुकहरुमा समेत कपडाको प्याड प्रयोग गर्ने प्रचलन रहेको बताउँदै उनले नेपालमा पनि यस्तो प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताउँछिन् ।
प्रतिक्रिया