भैरहवा । केही वर्ष अघिसम्म झाडी थियो त्यहाँ, स्थानीयहरुले फोहोर फाल्ने ठाउँ । केही वर्ष पहिलासम्म ब्यक्तिगत हकभोगमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को जग्गा धेरै पछि स्थानीयले सार्वजनिक रहेको थाहा पाए । २०७१ सालदेखि संरक्षणमा लागेका उनिहरुले बिस्तारै त्यहा फोहोर फाल्न रोके, माटो पाट्न थाले । माटो पोटेपछि त्यसमा सरकारी निकायको साथै स्थानीय संघ संस्थाहरुको आँखा लाग्न थाल्यो । “खानेपानीले आफ्नो धारो गाड्यो, बिभिन्न संघ संस्थाहरुले निर्माणाधिन भवनस्थल भनेर बोर्ड झुण्ड्याए ।”
दुर्गा युवा क्लबका अध्यक्ष समेत रहेका स्थानीय दिनेश गुरुङले भने ४ कठ्ठा बढी क्षेत्रफल रहेको उक्त जग्गामा भूमाफियाहरुले नजर लगाए । तर स्थानीयहरुको प्रयासले कसैको जोडबल लागेन । उद्योग ब्यपार संगठन रुपन्देहीको बोर्ड स्थानीयहरुले उखालेर फालिदिए । उनिहरुले पत्रकार सम्मेलन नै गरेर संगठनको उक्त कदमको बिरोध गरेका थिए । पछि उद्योग ब्यपार संगठन रुपन्देही पनि पछि हट्दै जग्गा खरिद गरि आफ्नै लगानीमा भवन निर्माण गरे पछि विवाद साम्य भयो ।
स्थानीयहरुले दुनियाको आँखाबाट जोगाएको उक्त खाली जग्गामा अहिले सुन्दर “बुद्ध पार्क” निर्माण भएको छ । पार्क भरि हरियाली छाएको छ । बिभिन्न रुखहरु रोपिएका छन् । जनावरहरुको डमि राखिएको छ । प्रदेश सरकारको १० लाखको सहयोग र स्थानीयहरुको लागत सहभागीताले करिब १४ लाख लगानीमा उक्त पार्क अवलोकन योग्य बनेको छ । खेलकुद पार्क निर्माण उपभोक्ता समितिका सचिव समेत रहेका दुर्गा युवा क्लबका सचिव पवन थापाले अहिले पनि पार्क निर्माण सम्पन्न भई नसकेको बताए । “प्रदेश सरकारको लगानीमा केही काम भए पनि अहिले सम्म काम पूरा भएको छैन ।” थापाले भने “पूरा हुने बित्तिकै यसको उद्घाटन गराउने छौं ।” पार्कमा डाईनोसर, गैडा लगायतको डमी राखिएको छ । यसको साथै पिङ र हरियालीमा पनि ध्यान दिएको उनले बताए ।
बुद्ध पार्क भनिए पनि बुद्ध मूर्ति थिएन । यो समस्या थाहा पाएपछि लुम्बिनीको प्रवर्द्धनमा लागेका सञ्चारकर्मी चेतन पन्तले बुद्ध मूर्तिको ब्यवस्थापन गरि दिएको सचिव पवन थापाले बताए । पन्तले पार्क भएको क्षेत्रमा श्रीलंका, थाई लगायतका देशबाट आउने पर्यटकहरुको बास बस्ने स्थल रहेकोले यसले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । उनले थाई दाताको सहयोगमा पार्कको लागि मूर्ति ब्यवस्थापन गरेको बताए । उनले वडा नम्बर ३ का स्थानीयले गरेको प्रयासलाई भैरहवामा सबै वडाका जनताले लागू गर्नु पर्ने बताए ।
प्रतिक्रिया